विष्णु पौडेलले केपी ओलीलाई भने- केही दिनभित्रैका प्रधानमन्त्री, ओली मुसुमुसु हाँसे तर जवाफ दिएनन् – Nepal Press

विष्णु पौडेलले केपी ओलीलाई भने- केही दिनभित्रैका प्रधानमन्त्री, ओली मुसुमुसु हाँसे तर जवाफ दिएनन्

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलले गृहनगर बुटवलमा लगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेका छन् ।

अनेरास्ववियु रुपन्देहीले बिहीबार रुपन्देहीमा ए प्लसदेखि माथि अंक ल्याएर एसईई पास गरेका एक हजार ८८ विद्यार्थी सम्मान कार्यक्रममा बिहीबार नै काठमाण्डौबाट ओलीलाई लिएर नेता पौडेल बुटवलमा आएका थिए ।

बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको कार्यक्रममा ओलीभन्दा अगाडि नै सम्बोधन गरेका पौडेलले भावी प्रधानमन्त्री तपाईहरुको अगाडि आउनुभएको छ भनेपछि कार्यक्रममा सहभागी सबैले उनको पक्षमा हुटिङ गरेका थिए ।

‘अहिलेको नतिजामा केही कमजोरी देखिएको छ, शिक्षामा धेरै सुधार गर्नुपर्ने छ, यसअघिका सफल र केही दिनमै प्रधानमन्त्री बन्न लाग्नुभएका एमाले अध्यक्ष केपी ओली हाम्रो आँगनीमा हुनुहुन्छ, उहाँ आएपछि थप सुधार हुन्छ’ पौडेलले भने ।

‘भरोसा बढाउनुपर्ने छ, दक्ष जनशक्ति बनाउन र यहीँ रोक्न विशेष योजना चाहिएको छ, देशमा विकास गर्ने वातावरण बनाउन पनि उहाँको नेतृत्व जरुर थियो, यसअघिका कामले पनि त्यो रुपरेखा देखाएको थियो’ पौडेलले यसो भनिरहँदा खचाखच भरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुटिङले गुन्जिएको थियो ।

नेता पौडेलले प्रष्टरुपमा बोलेपनि ओलीले भने आफ्नो बोल्ने पालोमा कुनै राजनीतिक विषय नबोलि मन्तव्य सकाएका थिए । आजै एमाले अध्यक्ष ओलीसहित नेता पौडेल काडमाडाैं फर्केका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर