नेकपा एसमा रामकुमारीलाई उपाध्यक्ष बनाउने सहमति, वरिष्ठ उपाध्यक्षमा पाण्डेको सम्भावना – Nepal Press

नेकपा एसमा रामकुमारीलाई उपाध्यक्ष बनाउने सहमति, वरिष्ठ उपाध्यक्षमा पाण्डेको सम्भावना

पदाधिकारी र केन्द्रीय समिति चयनको अधिकार तीन नेतालाई

काठमाडौं । चर्चित युवा नेत्री रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष बन्ने लगभग तय भएको छ । पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टीम र केन्द्रीय समितिको भोलि घोषणा हुने छ ।

आज तीन जना प्रमुख नेताहरुको पुरानै पदलाई निरन्तरता दिने घोषणा गरियो । जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल दोहोरिएका छन् । अन्य पदाधिकारी चयन भएको छैन ।

पदाधिकारी सर्वसम्मत चयन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । आज घोषित अध्यक्ष, सम्मानित नेता र महासचिवको तीन सदस्यीय टीमलाई सचिवालय भनिएको हो । सचिवालयले भोलि सबै सूची तयार गरेर भोली बिहान १० बजे घोषणा गर्ने भनिएको छ । यससँगै महाधिवेशन प्रतिनिधले नेतृत्व चयनको अधिकार गुमाएका छन् ।

आज भएको आन्तरिक सहमति अनुसार झाँक्रीलाई उपाध्यक्ष बनाइने छ । उनी यसअघि सचिव थिइन् । अहिलेका अन्य सचिवहरुले सोही पदमा निरन्तरता पाउने छन् ।

एकीकृत समाजवादीले २१ जनाको पदाधिकारी टीम र २९९ सदस्यी केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ । पहिलोपटक विधानमा वरिष्ठ उपाध्यक्ष र वरिष्ठ नेताको पद थप गरिएको । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको सम्भावना छ ।

 


प्रतिक्रिया

One thought on “नेकपा एसमा रामकुमारीलाई उपाध्यक्ष बनाउने सहमति, वरिष्ठ उपाध्यक्षमा पाण्डेको सम्भावना

  1. झाक्रीलाई पार्टीमा टिकाईराख्न पनि पद दिनै पर्यो । एमालेमा जाने तिव्र सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर