आन्तरिक ऋणको सीमा निर्धारण गर्न सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहलाई परिपत्र – Nepal Press

आन्तरिक ऋणको सीमा निर्धारण गर्न सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहलाई परिपत्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्तरिक ऋणको सीमाका सम्बन्धमा देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

मन्त्रालयले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक ऋणको सीमा निर्धारण गरेअनुसार निर्णय कार्यान्वयनका लागि बिहीबार सबै स्थानीय तहलाई परिपत्र पठाइएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेका छन् । तीनै तहका सरकारका बीचमा राज्य शक्तिको बाँडफाँट गरिएको छ भने संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रही आर्थिक अधिकारसम्बन्धी विषयमा कानून बनाउने, नीति तथा योजना तयार गर्ने, वार्षिक बजेट तर्जुमा तथा कार्यक्रम कार्यान्वयन, लेखांकन तथा प्रतिवेदन गर्ने र लेखापरीक्षण गराउने कार्य गर्नुपर्ने व्यवस्था छ ।

जसअनुसार बजेट अनुमान गर्दा अनुमानित आयभन्दा व्यय बढी हुने अवस्थामा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले घाटा बजेट ल्याउन सक्ने र सोको व्यवस्थापन संघीय कानुन बमोजिम हुने व्यवस्था रहेको छ ।

घाटा बजेट पेश गर्दा तीनै तहका सरकारले घाटा पूर्ति गर्ने स्रोतको स्पष्ट आधार समेत खुलाउनु पर्ने व्यवस्था अन्तर र सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा रहेको छ । संविधानतः तीनै तहका सरकारले बजेट घाटा पूर्तिका लागि कानुनबमोजिम ऋण लिन्छन् ।

त्यसैका लागि आयोगले आन्तरिक ऋणको सीमा निर्धारण गरेको हो । स्थानीय सरकारहरूले आन्तरिक ऋण परिचालनको संरचना र प्रक्रियागत प्रबन्ध पूरा भएको अवस्थामा आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र स्थानीय सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सकिने आयोगले निर्णय गरेको छ ।

त्यसका लागि राष्ट्रिय, प्रादेशिक र स्थानीय नीति र योजनामा आधारित भई लागत लाभ विश्लेषणबाट आन्तरिक प्रतिफल दर वा खुद वर्तमान मूल्य उपयुक्त देखिएका देखिनुपर्ने सर्त भने राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *