मन्थलीको पर्यटन विकासका लागि काठमाडौंमा बृहत अन्तरक्रिया, कसले के भने ? – Nepal Press

मन्थलीको पर्यटन विकासका लागि काठमाडौंमा बृहत अन्तरक्रिया, कसले के भने ?

काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले नगरका पर्यटकीय गन्तव्यहरुको प्रचार तथा मन्थली विमानस्थलको नियमित सञ्चालनको पहलका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाले राजधानी काठमाडौंमा पहिलो पटक नगरको पर्यटन विकास र मन्थली विमानस्थलको स्थायित्वका लागि अन्तरक्रियात्मक छलफल आयोजना गरेको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन विकासका लागि चासो राखेर तीनै तहका सरकारका प्रतिनिधि तथा सरोकारवालासहित छलफल गर्नु राम्रो काम भएको बताए ।

उनले रामेछाप जिल्ला पर्यटनको लागि सम्भावना भएको जिल्लाका रुपमा रहेको बताउँदै पर्यटकीय पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहजीकरणको प्रतिवद्धता जनाए ।

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले रामेछापको पर्यटन विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै रामेछाप र मन्थलीको पर्यटन विकासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग हुने प्रतिवद्धता जनाए ।

बागमती प्रदेशको उद्योग तथा पर्यटन समितिका सभापति आनन्द कुमार श्रेष्ठले पर्यटन क्षेत्रलाई सरकारले आर्थिक उपार्जनको महत्वपूर्णका क्षेत्रका रुपमा राखेकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर मन्थलीसहित समग्र रामेछापको पर्यटन क्षेत्र विकास गर्न सकिने बताएका छन् ।

उनले रामेछापको मन्थली विमानस्थललाई बाह्रै महिना सञ्चालन गर्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने समेत प्रतिवद्धता जनाएका छन् । हाल पर्यटकीय सिजनमा मात्रै मन्थली विमानस्थलबाट लुक्लाको उडान भइरहेको र यसबाट पनि मन्थलीले अपेक्षित लाभ पाउन नसकिरहेको भन्दै उनले मन्थली विमानस्थलको स्थायित्वका लागि पहल गर्ने बताएका हुन् ।

सँगै, गर्मी भएको र आवश्यक होटल पूर्वाधारको अभाव रहेको कारण मन्थलीमा पर्यटक राख्न नसिकएको भन्ने पर्यटन व्यवसायीको भनाईमा पूर्ण सहमत हुन नसकिने बताउँदै रामेछापका स्थानीयसमेत रहेका सांसद श्रेष्ठले मन्थलीमा होटल पूर्वाधारसहित विमानस्थलमा समेत एसीको व्यवस्था भएको जानकारी गराए ।

उनले भने, ‘गर्मीबाट पर्यटक भगाउनुपर्ने अवस्था छैन, मन्थलीका होटलमा १५० बढी एसीसहितका कोठाहरु छन्, विमानस्थलमा पनि एसी राखिएको छ । होटलहरु केही अव्यवस्थित भएपनि पर्यटक राख्नै नसकिने भन्ने होइन ।’

यस्तै, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईँले एकैपटक सबै सम्भव नहुने भएपनि मन्थली नगरपालिकाले कम्तीमा छलफल र प्रचार सुरु गरेकाले आगामी दिनमा समग्र रामेछापकै पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् ।

उनले बी.पी. कोइरालाको जन्मस्थान सिन्धुलीको दुम्जा र पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भँगेरीलाई जोडेर ‘बी.पी.–पुष्पलाल पर्यटन करिडोर’ बनाउन सकिने बताए । साथै, १० वर्षे जनयुद्धका चर्चित स्थान दोरम्बा र बेथानलाई जोडेर पनि पर्यटन विकास गर्न सकिने उनको भनाइ छ ।

‘मान्छेहरु आज पनि कार्ल मार्स्कको घर अगाडी पुगेर फोटो खिचिरहेका हुन्छन्, माओ र लेलिनका जन्मस्थानमा पुगिरहेका छन्, हामीसँग पनि नेपाली लोकतान्त्रिक आन्दोलनका अगुवाहरु बी.पी. र पुष्पलालको जन्मस्थान नजिकै दूरीमा छन्, बेथान र दोरम्बा जनयुद्धका चर्चित ठाउँहरु प्नि छन्, यीनलाई अन्तर जिल्ला र अन्तर पालिका जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ’ सांसद चौलागाईँले भने, ‘सँगै, हामीले अब तामाकोशी, सुनकोशी र लिखुलाई सैलुङ र ताबेसँग जोडेर हेर्नुपर्छ । साथै, चिसापानी हिले जात्रा नेपालकै प्राचीन र मौलिक जात्रा हामीसँग छ, माझी र हायु समुदायका संस्कृति, सभ्यात र संस्कारलाई पनि पर्यटनसँग जोड्ने गरि योजना बनाएर अगाडी जानुपर्नेछ ।’

अर्का प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले पर्यटन विकासका लागि स्थानीय उत्पादनको ब्राण्डिङ गर्नुपर्ने र यसका लागि स्थानीय तहहरुले महत्वपूर्ण भूमीका खेल्नुपर्ने बताएका छन् ।

किवी, जुनार लगायतका फलफूलका लागि रामेछाप प्रशिद्ध रहेको भन्दै यस्ता फलफूल प्रशोधन गरेर फरक फरक उत्पादन दिन सकिने र यसो गर्दा पर्यटनसँगै समृद्धि हासिल हुने उनको भनाइ छ । सांसद श्रेष्ठले जहाज प्लेन मात्रै सबै कुरा नभएकाले मन्थली विमानस्थल नचल्दा पनि पर्यटक आउने वातवरण बनाउनुपर्ने बताए ।

अर्की सांसद माया कार्कीले मन्थलीमा केही पनि छैन भन्ने कुरा गलत भएको बताउँदै स्तरीयतामा केही कमजोरी हुन सक्ने भएपनि होटल तथा अन्य पूर्वाधारहरु तुलनात्मक रुपमा राम्रो भएको बताएकी छन् ।

मन्थली नगरपालिकाकी पूर्व उपमेयरसमेत रहेका उनले मन्थली बजार लगायतका आसपासका क्षेत्र विभन्न परियोजनाको डुबान क्षेत्रमा पर्ने हल्लाले पनि लगानीकर्ता निरुत्साहित भइरहेको बताउँदै यस्ता हल्लाहरुलाई चिरेर लगानीकर्तालाई आकर्षण गर्नुपर्ने बताएकी छन् ।

पूर्वमन्त्री कमल चौलागाईँले पर्यटन विका लागि पर्यटनमैत्री वातावरणको निर्माण र पर्यटकीय गन्तव्यहरुको पहिचान गरि तिनको प्रचार गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहले यसतर्फ ध्यान दिन सके आन्तरिक र बाह्य पर्यटकहरु बढ्न सक्ने बताएका छन् ।

सँगै, समग्र तामाकोशी जलाधार क्षेत्रको समृद्धिको बाहकका रुपमा लिइएको लामाबगर–बर्दिबास सडकमार्ग मन्थली हुँदै जाने भएकाले यसका लागि रामेछाप र दोलखाले संयुक्त रुपमा काम गर्न जरुरी रहेको पनि उनको भनाइ छ ।

पूर्वमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप र मन्थलीमा केही पनि छैन भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए । उनले मन्थलीसहित रामेछाप जिल्लामा नै धेरै कुरा भएको र धेरै सम्भावना पनि भएकाले केही व्यवस्थित हुन नसकेको भए त्यसलाई सधार गर्दै जान सकिने बताए । उनले पनि सिन्धुलीको दुम्जा र रामेछापको भँगेरीलाई जोडेर पर्यटन विकास गर्न सकिने सम्भावना रहेको बताएका छन् ।

रामेछापबाट २ पटक प्रतिनिधिसभा सदस्य बनेका श्रेष्ठले हाल जिल्लामा भौतिक पूर्वाधारको क्षेत्रमा विकास भइरहे पनि पर्याप्त नभएको र थप लगनशीलताका साथ राजनीतिक नेतृत्वहरुले काम गर्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठले मन्थली विमानस्थललाई नियमित सञ्चालनका लागि मन्त्रिपरिषद वा सम्बन्धित निकायबाट निर्णय गराउन पहल भइरहेको र यसका लागि साथ दिन सबै राजनीतिक दलका प्रतिनिधिसहित व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले मन्थली विमानस्थल बाह्रै महिना चल्छ भन्ने ग्यारेन्टी भएको अवस्थामा आन्तरिक लगानी बढाउँदै जिल्ला बाहिरका लगानीकर्तालाई समेत आकर्षण गर्न सकिने भएकाले नगरको पहिलो बटमलाइन नै मन्थली विमानस्थलको स्थायित्व भएको बताए ।

साथै, मेयर श्रेष्ठले नगरका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै, पूर्वाधारको विकास गर्दै र तिनको प्रचारप्रसार गर्दै जाने योजना बनाएको जानकारी गराउँदै स्थानीय तहले गर्न सक्ने जति सबै पहल गर्न नगरपालिका तयार रहेको बताएका छन् ।

सहभागीहरु प्र्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), टानका अध्यक्ष नीलहरि बाँस्तोला, पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा, पाटा नेपाल च्याप्टरकी सदस्यसमेत रहेकी पर्यटन व्यवसायी सरिता लामा, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल र वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक राधाकृष्ण थापा लगायतले मन्थली विमानस्थलको स्थायित्वका लागि पहल गर्न सबै राजनीतिक दल र सरोकारवालाई आग्रह गरेका छन् । राज्यले पूर्वाधार बनाएपछि निजी क्षेत्रले लगानी गर्ने भएकाले निजी क्षेत्रलाई लगानीको प्रतिफल प्राप्त हुन्छ भनेर आकर्षित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

उनीहरु सबैको भनाइको आशय छ, ‘पर्यटन क्षेत्रमा निजी क्षेत्रको मात्रै लगानी छ, मन्थलीमा पनि लगानी गर्न व्यवसायीहरु इच्छुक छन्, तर प्रतिफलको सुनिश्चितता नदेखी लगानी गर्ने कुरा आउँदैन । यसकारण मन्थली विमानस्थल नियमित सञ्चालनको नीतिगत निर्णय भएको खण्डमा निजी क्षेत्र लगानीका लागि तयार छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *