इट्स दि कमिटमेन्ट ब्रो
आज पहिलो पटक कुनै अध्ययनविना लेख्दैछु, कुनै ढाँचाको ख्याल नगरी लेख्दैछु । अनि मनमा लागेको कुरा मनबाटै पोख्दैछु । मनमा धेरै कुराहरू खेल्छन्, साथीभाइहरूसित बसे, धेरै कुरा गरिन्छ र अरुका गफबाट धेरै कुरा बुझिन्छ । आज हरेकमा एक किसिमको निराशा देखिन्छ । अझ युवा पंक्तिको त उद्देश्य नै देश छोड्ने छ । अनि देशमा केही भएन भन्ने भाष्यले उनीहरूको मनमा दरिलो डेरा गाडेर बसेको छ ।
आज विश्वव्यापीकरणको युगमा संसार नै सानो गाउँ जस्तो भइसकेको छ । तसर्थ, उचित अवसरका लागि आप्रवासन साधारण विषय हो । हामी सबैले आफ्नो पारिवारिक इतिहास हेर्ने हो भने हामी सबैका पुस्ताले एक भूगोलदेखि अर्को भूगोलमा बसाइसराइ गरेको पाउँछौं । अझ भनौं, विश्वले अहिलेको प्राविधिक फड्को मार्नुअघि पनि हाम्रै दुई पुस्ताअघिकाले पनि कम्तीमा दुई भूगोल परिवर्तन गरिसकेका छन् । तसर्थ, एक भूगोलदेखि अर्को भूगोलमा बसाइसराइ सर्नु सामान्य विषय हो ।
तर, यति भनिरहँदा के नेपालले अहिले भोगिरहेको आप्रवासन सामान्य हो ? के यसमा हामी संवेदनशील हुन जरुरी छैन ? त्यसो भने होइन । किनकि एउटा राज्यका लागि उसको भौगोलिक क्षेत्रभित्र रहने जनसंख्या उसको विकाससँग जोडिएको हुन्छ । तर, यति भनिरहँदा सम्पूर्ण आप्रवासनमा गएकाहरूलाई फर्काउने बहस आजको हुनुहुँदैन । जसरी व्यापारिक प्लान बनाउँदा हामी टार्गेट कस्टमर भन्छौं, त्यसरी नै हामीले हाम्रो मिसन, भिजन र टार्गेट कस्टमर चयन गर्नुपर्नेछ । आदर्शवादी चिन्तनमा होइन, व्यवहारिक सत्य आज आवश्यक छ । त्यसकारण आज सम्पूर्ण युवामात्र होइन, नयाँ राजनीतिको तिर्सना बोकेकाहरूलाई भन्न चाहन्छु- ‘इट्स दि कमिटमेन्ट ब्रो !’
एमबीएका लागि एक अमेरिकी विश्वविद्यालयको अन्तर्वार्ताको बेला मलाई सोधिएको थियो- ‘हवाट इज योर फेलियर स्टोरी ?’ अर्थात तपाईंको असफलताको कहानी भन्नुहोस् । मेरा लागि उबेला यो अनौठो प्रश्न थियो । किनकि जित्नु नै ठूलो कुरा हो, सधैं प्रथम हुनुपर्छ भन्ने वातावरणबाट म हुर्केको थिएँ । जेनतेन उत्तर दिएँ र भर्ना पाउन सफल पनि भएँ ।
हामीलाई नेपाल बनेको हेर्नुछ, तर नेपाल कसैलाई बनाउनु नै छैन । हामीलाई स्वर्ग जानु छ, तर मर्नु छैन । यस्तो दोग्लोपनले त नेपाल पक्कै बन्दैन । नेपाल आज जहाँ पुगेको छ, त्यो तिनै व्यक्तिहरुले बनाएका हुन्, जसलाई आज हामी परिवारसँग बसेर सुन्नै नसक्ने किसिमका गाली गर्छौं ।
मेरो उत्तरपछि ती डीनले भने- ‘यू नो आशिष, धेरै साउथ एसियनहरुसँग आफ्नो सफलताको कथा छ, तर असफलताको कथा छैन ।’ आफू असफल हुनुका पछाडि उसले सधैं अरुलाई दोष लगाइरहेको हुन्छ, तर सफल हुँदा भने उसले मात्र गरेको हो । त्यो रमाइलो गफ थियो, तर भर्ना प्राप्त गरेपश्चात पनि म सो विश्वविद्यालयमा पढ्न गइनँ । अन्त मलाई पूर्ण छात्रवृत्ति मिल्यो र नेपाल फर्किने चाहना बोकेका मेरा लागि छात्रवृत्ति बढी प्यारो भयो । मैले यो प्रसंग जोड्नुका पछाडि आजको हाम्रो मनोवृत्तिलाई चित्रण गर्नु हो ।
हामीलाई चाँडो सफल हुनु छ । यसको अर्थ के हो भने हामी जग नबनाइ या कमजोर जगको धरातलमा घर निर्माण गर्न चाहन्छौं । हामीलाई देखिने घर भए पुग्यो । अनि त्यस्तो घरको टिकाउ कति हुन्छ ? हाम्रौ सफलता पनि त्यस्तै भइरहेको छ । हामी टिकाउ हुने सफलताको बाटो नै कोरिरहेका छैनौं । अनि थोरै समस्या पर्दा पनि जब हाम्रो घर भत्किन्छ, तब हामी अरुलाई दोष दिन थाल्छौं । अझ नेपालमा त क्या सजिलो छ आरोप लाउन । आरोप खेपिदिने र सहिदिने नेताहरु पाएका छौं हामीले । हरेक असफलतालाई हामीले राजनीति र राजनीतिकर्मीका टाउकामाथि थोपरिदिएका मात्र छैनौं, हामी एक किसिमको अराजकतामा आनन्द खोज्ने एनार्किस्टहरूको जमातमा परिवर्तन हुँदैछौं । यसरी बलिरहेको आगोमा घीउ थप्ने काम भने राजनीतिमा नयाँ अवसर खोजिरहेका र पुरानो व्यवस्थातिर फर्किन चाहनेहरूले अझ बढी गरिरहेका छन् ।
हामीलाई नेपाल बनेको हेर्नुछ, तर नेपाल कसैलाई बनाउनु नै छैन । हामीलाई स्वर्ग जानु छ, तर मर्नु छैन । यस्तो दोग्लोपनले त नेपाल पक्कै बन्दैन । नेपाल आज जहाँ पुगेको छ, त्यो तिनै व्यक्तिहरुले बनाएका हुन्, जसलाई आज हामी परिवारसँग बसेर सुन्नै नसक्ने किसिमका गाली गर्छौं । जब तपाईं हाम्रो परिवारले आफ्नो भविष्य निर्माण गर्दै थियौं, तब यी गाली खानुपर्ने राजनीतिकर्मीहरू घरबार छोडेर देशको लागि ज्यानै सुम्पन लागिपरेका थिए । हिजो त्यस्तो निरंकुशता र सामन्ती समाजबाट आज यहाँसम्म त यिनैले ल्याइपुर्याएका हुन् नि ! हामी देशमा केही भएको छैन भन्छौं, तर के राणाकालमा आज जत्तिकै स्वतन्त्रता हामीले पाएका थियौं त ? कि एक वंशीय पञ्चायतमा पायौं ? के हाम्रो प्रतिव्यक्ति आय आज जति छ, त्यति नै थियो त ? के हाम्रो कुल गार्हस्थ उत्पादन बढेको छैन ?
भारत र चीन जस्ता विशाल देशहरूको बीचमा अवस्थित अनि अमेरिका र पश्चिमाहरूको भू-राजनीतिक स्वार्थ रहने ठाउँ हुँदा पनि यो देशलाई यही राजनीतिले अफगानिस्तान, सिरिया, प्यालेस्टाइन जस्तो बन्न दिएन । माओवादी जनयुद्धको निवारण पनि धेरै सरल तरिकाले भयो । प्रतिकूल अवस्थामा पनि धेरै त्याग र तपस्याले जोगाइएको मुलुक हो यो ।
आज जुन पुस्तालाई हामी गाली गरिरहेका छौं, उनीहरूको लोकतन्त्र प्राप्तिप्रतिको कमिटमेन्टले हामी आजको सुवर्ण व्यवस्थामा जिउन पाइरहेका छौं । तर, अवस्था परिवर्तनको जुन हाम्रो प्यास छ, त्यसको लागि हाम्रो पुस्ताले कमिटमेन्ट देखाउन पर्ने हो नि ! धेरैलाई लाग्छ, युवा र नयाँ भएकै भरमा अरुले प्रतिस्पर्धामा भाग नलिएर किस्तीमा सबथोक सुम्पिदिनुपर्छ ।
तर, यति भनिरहँदा के हामीले गर्नुपर्ने केही छैन त ? त्यसो होइन गर्नुपर्ने धेरै छ, तर त्यसको उत्तर अराजकता, असंवेदनशीलता, स्टन्टबाज र पपुलिजम होइन । अराजकता आज आफूलाई नपर्दा रमाइलो लाग्न सक्छ, तर के त्यसले समाजलाई सही दिशामा लग्छ त ? केही महिनाअघि सिंहदरबार जलाइदिन्छु जस्ता अराजक अभिव्यक्तिलाई वाहवाही गरेका कारण महानगरकै बैठकमा महानगर दरबार जलाउने विषयले प्रवेश पायो । यसको अर्थ के हो भने लोकतन्त्रमा हाम्रा बहस सही भएनन् भने त्यसले राष्ट्रलाई यस्तो दलदलमा फसाउँछ, जहाँबाट जति उम्किन खोज्यो त्यसमा त्यति भासिँदै गइन्छ ।
आज जुन पुस्तालाई हामी गाली गरिरहेका छौं, उनीहरूको लोकतन्त्र प्राप्तिप्रतिको कमिटमेन्टले हामी आजको सुवर्ण व्यवस्थामा जिउन पाइरहेका छौं । तर, अवस्था परिवर्तनको जुन हाम्रो प्यास छ, त्यसको लागि हाम्रो पुस्ताले कमिटमेन्ट देखाउन पर्ने हो नि ! धेरैलाई लाग्छ, युवा र नयाँ भएकै भरमा अरुले प्रतिस्पर्धामा भाग नलिएर किस्तीमा सबथोक सुम्पिदिनुपर्छ । तर, हामीले चाहेको युवा र नयाँ त्यस्तो कदापि होइन । हामीले चाहेको नयाँ भनेको त विचारमा नयाँपन हो । वर्तमानको आवश्यकतालाई बुझेर गतिशील हुनसक्ने नयाँपन पो हो ! संसारभरमै हुने त्यही हो । यदि त्यसो हुँदैन थियो त, संसारमै हरेक दशकमा नयाँ नयाँ दलको उदय हुन्थ्यो होला । नयाँ दललाई निषेध गरिनुपर्छ भन्ने मेरो आशय होइन । तर, हामीले चाहेको नयाँपन गतिशील हुनुपर्ने हो र वर्तमानलाई आत्मसात गर्न सक्ने विचार र नेतृत्व हो ।
हामी युवाको परिभाषा पनि उमेरसँग जोडेर हेरिरहेका छौं । तर, युवा हुनु भनेको त जोस, जाँगर र ऊर्जाले भरिपूर्ण हुनु पो हो । ४० वर्षमुनिका राजनीतिमा चाहियो भन्ने हो भने त दैनिक १५ घण्टा खटिन सक्ने ४० माथिका भन्दा दैनिक दुई चार घण्टा पनि काम गर्न अप्ठेरो मान्ने ४० मुनिका ठीक भने बराबर भयो । हामीलाई खासमा चाहिएको युवामा हुने जोस र जाँगरयुक्त नेतृत्व हो, जसले परिपक्व तवरले आजको समाजलाई सुन्दर भविष्यतर्फ डोर्याउन सकोस् ।
हाम्रो पुस्ताको राजनीति अराजकता र पपुलिजममा आधारित हुनुहुँदैन । म युवा पुस्तालाई के अनुरोध गर्न चाहन्छु भने न दलका न त व्यक्तिका, कसैको पनि दास नभइकन सकारात्मक हस्तक्षेप गर्न आवश्यक छ । राजनीतिमै यो हस्तक्षेप गर्नुपर्छ भन्ने छैन । सडक बनाउँदा अलकत्रा नखाइदिए पुग्छ, नागरिकता बनाउँदा देशको सार्वभौमिकता नबेचिदिए पुग्छ, मत हाल्दा विवेक प्रयोग गरिदिए पुग्छ । अनि सामाजिक सञ्जालको अराजकताभन्दा मैदानमा सकारात्मक कमिटमेन्ट देखाइदिए पुग्छ । ‘गाइज’ यदि अवस्था परिवर्तनको चाहना छ भने जुन कमिटमेन्टका साथ हाम्रो अघिल्लो पुस्ताले काम गरे, त्यही कमिटमेन्टका साथ युद्धस्तरमा हामीले काम गर्नुपर्नेछ । सामाजिक सञ्जालको रोमान्टिसिजमले परिवर्तन ल्याउन असम्भव छ ।
nice
लेखकले युवा उमेर होइन कि युवामन र युवापन भएका सबै उमेर समुहका नागरिकलाई समाज निर्माणमा आवहान गरेका छन l नेताको कुरा काटेर मात्र देश बनिन्न, बरु मिहिनेत गर्यो भने कसैलाई गालि नगरी कनै हामीले उन्नत समाज बनाउन सक्छौ l साँच्चै राम्रो लेख l इट्स कमिटमेन्ट ब्रो !