संसदमा केपी शर्मा ओली: एक ऐतिहासिक दस्तावेज – Nepal Press
पुस्तक चर्चा

संसदमा केपी शर्मा ओली: एक ऐतिहासिक दस्तावेज

देशका लागि बोलिएका, जनताका आवाज समेटिएका, इतिहास, वर्तमान र भविष्यका अनेक भोगाइ, यथार्थ र सम्भावनाका गम्भीर विषयमा उठान भएका सन्दर्भ सधैं जनता अर्थात् सर्वसाधारणसम्म पुग्छन् भन्ने छैन । कति यस्ता महत्त्वपूर्ण सन्दर्भ जनताको जानकारीमा नपुगिकनै हराएर जान्छन् त कति थन्किएको थन्किएकै गरेर अर्थहीन हुने अवस्थामा पुग्न सक्छन् ।

देश र जनताका दुःख अन्त्य गर्ने, देश र जनतालाई समृद्ध एवं सुखी बनाउन सक्ने, नयाँ युगको ढोका खोल्न सक्ने, भविष्यलाई सही मार्गदर्शन गर्न सक्ने विचार कहिलेकाहीँ सरोकार राख्ने वर्गसम्म नपुगी थन्किएर रहन सक्छन् र अभिलेखमा रहे पनि वस्तुतः उपयोगहीन हुन सक्छन् । संसदमा प्रधानमन्त्री, मन्त्रीहरू एवं सांसदहरूले व्यक्त गरेका विचारहरूको यस्तो अवस्था आउनसक्छ । ती आवाजमा सुनिने र पत्रिकामा छापिने समाचारमा सीमित भएर हराउन पनि सक्छन् ।

संसदमा बोलिएका सबैका धारणा र सबै विचार महत्त्वपूर्ण हुनुपर्छ, तर सबैका धारणा र सबै विचारले त्यस्तो महत्त्वपूर्ण उचाइ प्राप्त गरेका हुन्छन् भन्ने हुँदैन । कसैकसैका विचार भने कालजयी हुने गर्छन् । संसदमा त्यस्ता व्यक्तिहरू पनि हुने गर्छन्, जसलाई युगले विरलै प्राप्त गर्नसक्छ । संसदमा त्यस्ता व्यक्तिहरू पनि हुने गर्छन्, जसले आफ्ना दृष्टिकोणले आफ्नो देशलाई मात्र हैन, अन्तर्राष्ट्रिय जगतलाई पनि प्रभाव पार्न सक्छन् । त्यस्ता व्यक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतका लागि महत्वपूर्ण योगदान पुग्ने विचार र योजना दिन सक्छन् । त्यस्ता व्यक्तिका विचार र योजना सुरक्षित हुनुपर्छ, संरक्षित हुनुपर्छ र सँगसँगै सरल र सहज रूपमा सबैका लागि उपलब्ध हुने दस्तावेज बन्न सक्नुपर्छ ।

‘संसदमा केपी शर्मा ओली’ यस्तै एउटा पुस्तक हो, यस्तै एउटा जनतासम्म पुग्ने दस्तावेज हो । यसमा नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले विसं २०४८ देखि २०७४ सम्म आफू विभिन्न संसदीय भूमिकामा रहँदा व्यक्त गरेका सम्पूर्ण विचार संकलन गरिएका छन् । केपी शर्मा ओलीद्वारा विभिन्न कालखण्डमा संसद एवं संविधानसभामा यो मुलुकसँग जोडिएका राजनीतिक, सामाजिक, कूटनीतिक, आर्थिक, सांस्कृतिक, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय सार्वभौमिकता, अखण्डता र स्वाभीमान, जनजीविका एवं विकास निर्माणका सवालमा के के र कस्ता कस्ता विचार व्यक्त भए सोको संकलन हो यो पुस्तक । संसदमा केपी शर्मा ओलीले व्यक्त गरेका महत्त्वपूर्ण विषय र सन्दर्भहरू यस पुस्तकमा जस्ताको तस्तै समेटिएका छन्, जसले तत्कालीन समयको आवश्यकतालाई आवाज दिएका छन् ।

केपी शर्मा ओलीद्वारा विभिन्न कालखण्डमा संसद एवं संविधानसभामा यो मुलुकसँग जोडिएका राजनीतिक, सामाजिक, कूटनीतिक, आर्थिक, सांस्कृतिक, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय सार्वभौमिकता, अखण्डता र स्वाभीमान, जनजीविका एवं विकास निर्माणका सवालमा के के र कस्ता कस्ता विचार व्यक्त भए सोको संकलन हो यो पुस्तक ।

संसदमा विभिन्न सवालमा केपी शर्मा ओलीद्वारा व्यक्त विचारमध्ये केहीलाई यहाँ प्रस्तुत गर्न सकिन्छ ।

मानव अधिकारको सन्दर्भ

  • किताबका पानामा, कागजका पानामा मसीले लेखेरमात्र मानव अधिकार सुरक्षित हुने होइन । यसकारण मानव अधिकार मान्छेको जीवनमा र जीवन पद्धतिमा मात्र पाउने अधिकारमा सुरक्षित हुनुपर्दछ । (२७ असार २०४८, प्रतिनिधिसभाको पहिलो अधिवेशन)

प्रजातन्त्र कानुन र सरकारको सन्दर्भ

  • प्रजातन्त्रमा सरकार कानूनमा बाँधिन्छ । कानून यस्तो हुन्छ, जसले सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्छ । अनि सरकारलाई नियन्त्रण गर्दछ र सरकारले कानूनको परिपालना गर्दछ । त्यही प्रजातान्त्रिक अभ्यास हुन्छ । (२१ फागुन २०४८ प्रतिनिधिसभाको दोस्रो अधिवेशन)

निरङ्कुशताको अन्त्य, प्रजातन्त्र र जनजीविकाका सन्दर्भमा

  • आन्दोलनको उद्देश्य स्वाभाविक रूपमा प्रजातन्त्रको स्थापना गर्ने, जनताको सोझो प्रतिनिधिमूलक बहुदलीय व्यवस्थाको स्थापना गर्ने, त्यस व्यवस्थामार्फत जनताको जीवनस्तर उकास्ने परिपाटी विकास गर्न, देशको गरिबी उन्मूलन गर्ने र जनतालाई सुख सुविधा दिने, तदनुसार हामीले जनताबाट ठूलो सहयोग र समर्थन प्राप्त गरेर निर्दलीय व्यवस्थालाई हटाएका थियौं । त्यसबेला हाम्रो उद्देश्य पनि थियो, जनताको आकांक्षा पनि थियो र हाम्रो कबुल पनि थियो जनताका अगाडि । निर्दलीय तानाशाही व्यवस्था फालिसकेपछि यो देशमा एउटा पनि चेलीबेटीको सिन्दूर पुछिनुपर्ने छैन, चुरा फुटाउनुपर्ने छैन, हाम्रा नानीहरूले आइन्दा टुहुरो हुनुपर्ने छैन । (२२ असार २०५०, प्रतिनिधिसभाको पाँचौं अधिवेशनमा)
  • देश कस्तो हुनुपर्छ भन्ने स्पष्ट दृष्टिकोण यसरी व्यक्त भएको छ, ‘देश स्वाभीमानी हुँदैन भने, देश स्वाभीमानी रहँदैन भने, देशका जनतामा इमान रहँदैनन् भने, इमानको फूलबारी र स्वाभीमान रहन सक्दैन भने त्यस्तो देशले उन्नति गर्दैन । त्यस्तो देशले राष्ट्रियताको पनि रक्षा गर्दैन । त्यस्तो देशले प्रजातन्त्रको पनि रक्षा गर्दैन । त्यस्तो देशले आर्थिक उन्नति पनि गर्न सक्दैन । (१३ भाद्र २०५०, प्रतिनिधिसभा पाँचौं अधिवेशन)

प्रजातन्त्रमा जनता र संसदलाई बुझ्ने दृष्टिकोणबारे

  • सार्वभौम सत्ता जनताले संसदमार्फत व्यवहार गर्दछन् । संसद सर्वोच्च संस्था हो । यो संस्था जनताको सार्वभौमसत्ता निहित रहेको संस्था हो । यस संस्थाको सरकारमाथि पनि नियन्त्रण गराउनु आवश्यक हुन्छ । त्यसैकारण नै प्रजातन्त्रको त्यसमा मात्रै अर्थ रहन्छ, संसद स्वाभाविक रुपमा प्रतिपक्ष र सांसदहरूबाट नै निर्माण भएको हुन्छ । (१३ भाद्र २०५०, प्रतिनिधिसभा पाँचौं अधिवेशन)

नागरिकता वितरणको सन्दर्भ

  • दक्षिणबाट पनि नागरिकतामा कडाइ गरिनुपर्छ, विदेशीहरूलाई दिनुहुँदैन । उत्तरबाट पनि नागरिकतामा कडाइ गरिनुपर्छ । रङ जस्तोसुकै होस्, नाक जस्तोसुकै होस्, भूगोल जस्तोसुकै, नागरिकताका प्रश्नमा हामी संवेदनशील हुनुपर्छ ।

धार्मिक सहिष्णुता, साम्प्रदायिक सद्भावका सन्दर्भमा

  • धार्मिक साम्प्रदायिक सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय वैशिष्ठ्य रहिआएको सर्वविदित्तै छ । सहज जीवन नै हाम्रो राष्ट्रिय संस्कृति हो । त्यही नै राष्ट्रिय धरोहर पनि हो । साम्प्रदायिक विद्वेष, विखण्डन, कलह र विग्रहलाई हाम्रो समाजले सहन गर्न कदापि सक्दैन । समाजमा साम्प्रदायिक तथा धार्मिक सहिष्णुताको भावनाको संरक्षण र जगेर्ना हुनुपर्दछ । (१८ पुस २०५१, प्रतिनिधिसभाको छैटौं अधिवेशन)

केपी ओलीका भनाइहरूले शिक्षा, स्वास्थ्य, जनजीविकाका विभिन्न क्षेत्र, प्राकृतिक प्रकोप, कालाबजारी, भ्रष्टाचार, ढिलासुस्ती, राज्य आतंक, माओवादी आतंक, सुकुमबासी, कमैया, शरणार्थी आदि समस्याहरू र प्राकृतिक सम्पदा आदि विषयहरूलाई उच्च महत्त्वका साथ समेटेका छन् । त्यस्तै देशको विकास र जनताको सुख एवं समृद्धिका लागि उठान भएका विषयहरूले महत्त्वपूर्ण स्थान पाएका छन् ।

भारतीय अतिक्रमणमा परेको कालापानी क्षेत्रको महाकाली नदीको मुहान र भारतीय अतिक्रमणका सन्दर्भमा

  • लिम्पियाधुरा नै उद्गम हो भन्ने स्पष्ट छ । महाकाली नदी बगिरहेको छ, तल अहिले जहाँबाट सीमा भनिएको छ, जहाँ एउटा तिरतिरे खोल्सीलाई भनिएको छ । त्यो तिरतिरे खोल्सी वास्तवमा महाकाली एउटा विशाल नदीमा गएर मिसिने एउटा सानो खोल्सीमात्रै हो, जसलाई बगिरहेको नदीको शीर भनेर त्यो नदीमा मिसिने परतिरको कान्लाबाट आएको तिरतिरे खोल्सीलाई त्यत्रो नदीको उद्गम भन्न सकिँदैन । यो कहीँको प्रचलनले पनि त्यस्तो उद्गम भन्न मान्दैन ।
  • भारतीय फौजको कत्रो टुकडी छ भन्ने हैन । हाम्रो सार्वभौम राष्ट्र हाम्रो जमिनमा भारतीय फौजको उपस्थिति अनुचित छ । त्यो फिर्ता गराउनुपर्छ । यो धेरै गम्भीर कुरा हो । यो राष्ट्रियताका मामिलामा, एउटा सार्वभौमिकताको मामिलामा धेरै गम्भीर कुरा हो । (२१ साउन २०५६, प्रतिनिधिसभाको सोह्रौं अधिवेशन)

केपी शर्मा ओलीद्वारा संसदमा व्यक्त विचारहरू प्रस्तुत गर्ने सन्दर्भमा देश र जनतासँग सरोकार रहने अधिकांश विषय समेटिएका छन् । विचारहरू चाहे तत्कालीन वा दीर्घकालीन जुनसुकै महत्त्वका हुन्, विषयहरू व्यवहारिक हुन् या सैद्धान्तिक, जुनसुकै किसिमका हुन्, प्रस्तुत भएका छन् ।

संसद सञ्चालनका विधि, परम्परा, सत्ता र प्रतिपक्षको भूमिका, सत्ता र प्रतिपक्षको सम्बन्ध, कानूनी राज्यको अवधारणा, संविधानको प्रयोग र पालना, राजनीतिक स्थिरता र शान्ति, राष्ट्रिय सुरक्षा र कूटनीतिक दक्षता, विभिन्न सन्धि सम्झौता, महिला अधिकार र लैङ्गिक समानता, भाषा साहित्य, संस्कृति-कला एवं परम्पराको महत्त्व, विकास र संरक्षण आदि विषय गम्भीर चासो र प्रतिबद्धताका साथ उठान भएका छन् । त्यसैगरी केपी ओलीका भनाइहरूले शिक्षा, स्वास्थ्य, जनजीविकाका विभिन्न क्षेत्र, प्राकृतिक प्रकोप, कालाबजारी, भ्रष्टाचार, ढिलासुस्ती, राज्य आतंक, माओवादी आतंक, सुकुमबासी, कमैया, शरणार्थी आदि समस्याहरू र प्राकृतिक सम्पदा आदि विषयहरूलाई उच्च महत्त्वका साथ समेटेका छन् । त्यस्तै देशको विकास र जनताको सुख एवं समृद्धिका लागि उठान भएका विषयहरूले महत्त्वपूर्ण स्थान पाएका छन् ।

वि.सं २०८० सालको उत्तरार्द्धमा प्रकाशित यस पुस्तकले देश र जनताप्रतिको नेकपा एमालेको नीति, सिद्धान्त, विचार, प्रतिबद्धता एवं व्यवहारलाई छर्लङ्ग पारिदिनुका साथै केपी शर्मा ओलीको राजनीतिक, बौद्धिक, तार्किक, विश्लेषणात्मक क्षमतालाई समेत पाठकहरूसमक्ष प्रस्तुत गरिदिएको छ ।

केपी शर्मा ओलीले संसदमा विभिन्न हैसियतमा पार्टी, सरकार, प्रतिपक्ष र आफ्नातर्फबाट व्यक्त गरेका विचारहरुले पटक पटक राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमै तरङ्ग उठाएका छन् । जनता र देशका पक्षमा सतिसाल झैं उभिएर व्यक्त भएका विचारहरूले समयको मार्ग नै फेरिदिएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालका कतिपय मुद्दालाई फरक पारिदिएका छन् । ती विचारहरूले कतिपय सवालमा मुलुक जनता र राजनीतिक पार्टीहरूलाई मार्गनिर्देश गरेका छन् । यसरी देश र जनताका पक्षमा आफ्नो भूमिकाअनुसार तत्कालीन एवं दीर्घकालीन कालजयी विचार व्यक्त गर्ने केपी शर्मा ओली सिंगो राष्ट्र र नेपाली जनताका धन्यवादका पात्र हुनुहुन्छ ।

वि.सं २०८० सालको उत्तरार्द्धमा प्रकाशित यस पुस्तकले देश र जनताप्रतिको नेकपा एमालेको नीति, सिद्धान्त, विचार, प्रतिबद्धता एवं व्यवहारलाई छर्लङ्ग पारिदिनुका साथै केपी शर्मा ओलीको राजनीतिक, बौद्धिक, तार्किक, विश्लेषणात्मक क्षमतालाई समेत पाठकहरूसमक्ष प्रस्तुत गरिदिएको छ । राजनीतिकमात्र नभएर राष्ट्र र जनतासँग सरोकार रहने सबै पक्ष समेटिएका विचारहरूको ८३६ पृष्ठको यो पुस्तक प्रकाशित हुनु आफैंमा गौरवको विषय हो । कठिन मेहनतका साथ सम्पूर्ण सामग्री संकलन गरेर त्यसको सम्पादन एवं प्रकाशनसमेत गर्ने जुन महत्त्वपूर्ण कार्य गर्नुभएको छ, त्यसका लागि सानुमैंया खड्का (सविता)लाई धन्यवाद नभनिरहँदा अन्याय हुनेछ ।

प्रस्तुत पुस्तकमा वक्ताको बोलीको भाषा प्रयोग भएको छ । विषयहरू कतिपय ठाउँमा दोहोरिएका छन् । वाक्यहरू लामा लामा भएका छन् । बोल्ने क्रममा ठाउँ ठाउँमा सन्दर्भहरू यताउता भएका छन् । यी सबै कुरा हुनु स्वाभाविक लाग्छ । किनकि यो पुस्तकमा संसदमा बोलिएका कुराहरू जस्ताको तस्तै उतारिएका हुन् । यस्तो असल काम गर्ने सानुमैंया खड्का (सविता)लाई यो पुस्तकको दोस्रो भागको तयारीको लागि जागरुक बनिरहन हार्दिक शुभकामना छ ।


प्रतिक्रिया

One thought on “संसदमा केपी शर्मा ओली: एक ऐतिहासिक दस्तावेज

  1. राष्ट्रियता , जनजिविका र मानव अधिकारकाे पहरेदार कमरेड केपी अाेली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *