रारा तालमा डुबेर युवकको मृत्यु – Nepal Press

रारा तालमा डुबेर युवकको मृत्यु

मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीसँग घर फर्कने क्रममा उनीसहित अरु साथीहरुसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो ।

घटनाको मुचुल्का पछि शव परीक्षणका लागी जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर