रोहितको संन्यासपछि भारतको टी–२०आई कप्तान को ? – Nepal Press

रोहितको संन्यासपछि भारतको टी–२०आई कप्तान को ?

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी–२० विश्वकप क्रिकेटको ट्रफी जिताएका भारतीय कप्तान रोहित शर्माले जितेकै दिन संन्यासको घोषणा गरे ।

२००७ मा टी–२०आइमा डेब्यु गरेका रोहितले २०२४ मा विश्वकपको ट्रफि जितेसँगै टी–२०आइबाट बिदा लिए । रोहित टी–२०आई क्रिकेटमा भारतका सबैभन्दा सफल कप्तान हुन् ।

उनको नेतृत्वमा ६२ मध्ये ४९ खेलमा भारतले जित निकालेको छ । सन् २००७ सालदेखि हालसम्म रोहितले १ सय ५९ टी–२०आई खेलमा ४ हजार २ सय ३१ रन बनाए ।टी–२०आइमा सर्वाधिक रन बनाउने, सर्वाधिक छक्का र सर्वाधिक खेलको कीर्तिमान रोहितको नाममा छन् ।

रोहितसँगै पूर्व कप्तान विराट कोहली र अलराउन्डर रवीन्द्र जडेजाले पनि टी–२०आई क्रिकेटबाट सन्यास लिए । रोहितले सन्यास लिएसँगै टी–२०आई क्रिकेटमा भारतको कप्तानी कसले गर्ने भन्नेबारे चर्चा सुरु भएको छ । टी–२०आइमा भारतको कप्तान बन्न सक्ने सम्भावित ४ खेलाडीलाई प्रस्तुत गरिएको छ ।

१.हार्दिक पान्ड्या

भारतको कप्तान बन्ने सूचीको अग्रस्थानमा छन्, हार्दिक पान्ड्या । रोहितको कप्तानीमा भारतले विश्वकपको उपाधि जित्दा हार्दिक उपकप्तानको जिम्मेवारी सम्हालेका थिए ।

रोहितको अनुपस्थितिमा भारतको कप्तानी गर्ने हार्दिकले विश्वकपमा राम्रो प्रदर्शन गरेको छन् । उनले ब्याटिङतर्फ २ अर्धसतकसहित १४४ रन र बलिङतर्फ ११ विकेट लिए ।

उनी आइसिसीको नयाँ टी–२०आई वरियतामा अलराउन्डरतर्फ शीर्ष स्थानमा उग्लिएका छन् । एक सय टी–२०आई खेलमा हार्दिकले १ सय ४९२ रन र ८४ विकेट लिएका छन् । हार्दिकले १६ खेलमा भारतको कप्तानी गरेका छन् । जसमा १० खेलमा जित र ५ खेलमा हार बेहोरेका छन् । एउटा खेल नतिजाविहीन छ ।

उनले इन्डियन प्रिमियम लिग आइपिएलमा सन् २०२२ र २०२३ मा गुजरात टाइम्सको कप्तानी गरेका थिए । हार्दिकको कप्तानीमा पहिलो सहभागितामै गुजरातले उपाधि जितेको थियो । दोस्रो पटकमा भने गुजरात फाइनलमा रोकिएको थियो । गत संस्करणमा भने हार्दिकले मुम्बई इन्डियन्सको कप्तानी गरेका थिए । यसपालि भने मुम्बईले राम्रो प्रदर्शन गर्न सकेन ।

२. ऋषभ पन्त

भारतीय भरपर्दा विकेटकिपर ब्याटर ऋषभ पन्त पनि कप्तानको दाबेदार हुन् । सन् २०२२ मा भएको कार दुर्घटनामा परेका ऋषभ १८ महिनापछि पुनरागमन गरेका हुन् । गत आइपिएलबाट पुनरागमन गरेका ऋषभले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दिल्ली क्यापिटल कप्तानसमेत रहेका उनले १३ खेलमा ४४६ रन जोडेका थिए । सन् २०१७ मा टी–२० आइमा डेब्यु गरेका ऋषभले ७४ खेल खेलेर १ हजार १५८ रन बनाएका छन् ।

भारतका पूर्व कप्तान रहेका विकेटकिपर ब्याटर महेन्द्रसिंह धोनीले कप्तानको रूपमा उत्कृष्ट प्रदर्शन गरे । त्यस कारण केही क्रिकेट समर्थनहरू ऋषभलाई कप्तान बनाउनु पक्षमा देखिन्छन् । ऋषभ यसअघि ५ टी–२० आई खेलमा भारतको कप्तानी गरेका छन् । जसमा २ खेलमा जित र २ खेलमा हार बेहोरेका छन् ।

३. सूर्यकुमार यादव

टी–२०आई क्रिकेटका उत्कृष्ट ब्याटर हुन् ३३ वर्षीय सूर्यकुमार यादव । सन् २०२१ मा टी–२०आइमा डेब्यु गरेका सूर्यकुमारले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी गत विश्वकपमा रोहितपछि सर्वाधिक धेरै रन बनाउने भारतीय खेलाडी हुन् । उनले ८ खेलमा १ सय ९९ रन जोडेका थिए ।

उनले गत वर्ष एक दिवसीय विश्वकपपछि भएको अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा पाँच खेलको शृङ्खला र गत डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा भारतको कप्तानी गरेका थिए । उनले उच्च स्ट्राइक रेटमा ब्याटिङ गर्छन् । ६८ खेल खेलेका सूर्यकुमारले ४ शतकसहित २ हजार ३४० रन बनाएका छन् । यसअघि भारतको कप्तानी गरेका विराट कोहली र रोहित शर्मा दुवै ब्याटिङतर्फका भएकाले सूर्यकुमार पनि कप्तान बन्ने लाइनमा छन् । ७ टी–२०आइमा भारतको कप्तानी गरेका सूर्यकुमारले ५ खेलमा जित निकालेका छन् ।

४. जसप्रति बुमराह

भारतका जसप्रति बुमराह एक विशेष क्षमता भएका खेलाडी हुन् । विपक्षी टोलीलाई दबाबमा राख्न र चाहिएको बेला विकेट लिन माहिर छन् उनी । भारतले जितेको टी–२० विश्वकपमा बुमराह सर्वोत्कृत खेलाडी बनेका थिए । उनले ८ खेलमा ४।१७ इकोनोमीका साथ १५ विकेट लिएका थिए ।
सन् २०१६ बाट टी–२०आई डेब्यु गरेका बुमराहले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ७० टी–२०आई खेलमा ८९ विकेट लिएका छन् । अधिकांश खेलमा भारतका लागि बुमराहको बलिङ महत्त्वपूर्ण हुँदै आएको छ । सबै प्रकारका ढाँचामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बलिङमा उत्कृष्ट प्रदर्शन गरेका बुमराहलाई कतिपयले कप्तानको रूपमा पनि देख्न चाहन्छन् ।

उनले २ टी–२०आई खेलमा भारतको कप्तानी गरेका थिए । गत वर्ष भएको आयरल्यान्डविरुद्धको दुई खेलमा उनले कप्तानी गरेका थिए । दुवै खेलमा भारतले जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर