पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा – Nepal Press

पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं ।साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हाे।

शुक्रबार बिहान भएको क्वाटरफाइनलमा अर्जेन्टिनाले टाइब्रेकरमा इक्वेडरलाई ४-२ गोलले हरायो।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो।

लियोनल मेस्सी पहिलो पेनाल्टीमा चुकेपनि त्यसपछि अर्जेन्टिनाले लगातार चार प्रहारमा गोल गरेको थियो। इक्वेडरले सुरुका दुई प्रहारमा गोल गर्न सकेको थिएन।

टाइब्रेकरमा अर्जेन्टिनाका एलक्सिस म्याक एलिस्टर, गोन्जालो मन्टियल, निकोलस ओटामेन्डी र जुलियान अल्भारेजले गोल गरे। मेस्सीको प्रहार क्रस बारमा लागेको थियो।

यता अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए। त्यसपछिका दुई प्रहारमा गोल गरेपनि अर्जेन्टिनाले पाचौँ प्रहारमा गोल गरेकाले इक्वेडरले आफ्नो अन्तिम पेनाल्टी प्रहार गरिरहन परेन।

त्यसअघि खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो। ३५ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गरेका थिए।

६२ औँ मिनेटमा इक्वेडरले पेनाल्टी सदुपयोग गर्न सकेन। तर इन्जुरी समयको दोस्रो मिनेटमा केभिन रोड्रिगुएजले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर