रास्वपा महामन्त्रीको प्रतिवेदनमा सुझाव- सभापतिले बोलीमा लगाम लगाउनुपर्छ – Nepal Press

रास्वपा महामन्त्रीको प्रतिवेदनमा सुझाव- सभापतिले बोलीमा लगाम लगाउनुपर्छ

‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीका सभापति किन धेरै चलेको ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफ्नो चर्चित सम‍ीक्षा प्रतिवेदनको पूर्णपाठ हिजो आफैंले सार्वजनिक गरेका छन् । ३२ पेज लामो प्रतिवेदन पार्टीको आन्तरिक राजनीतिमा केन्द्रित छ ।

प्रतिवेदनमा डा. ढकालले पार्टीभित्रका थुप्रै कमीकमजोरीहरू औंल्याएका छन् । यही तरिकाले पार्टी उँभो नलाग्ने प्रतिवेदनको निष्कर्ष छ । साथै, प्रतिवेदनमा सभापति रवि लामिछानेमाथि समेत प्रश्नहरू उठाइएका छन् । ढकालले आफूले भेटेका कार्यकर्ताहरूको हवाला दिएर यी प्रश्नहरू गरेका छन् ।

सभापतिमाथि उठाइएका १० सवाल

-चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैं गृहमन्त्री भएर किन गएको ? सीके राउत जस्तो ब्याकमा किन नबसेको ?

-जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षमा हुँदा किन म्याद नै तोकेर बोलेको ?

-सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ ।

-सभापतिको सचिवालयमा मृदुभाषी भएनन । यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीतिक सम्भव छैन ।

-किन ग्यालेक्सीको टिम (पार्टीमा) धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ?

-सरकारमा गएपछि सोचे अनुरुप फाइल किन खोलिएन ?

-निर्मलता पन्तलाई न्याय कहिले मिल्छ ?

-ब्लु बस र रोजगारको कुरा कता पुग्यो ?

-सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ

-सीधाकुरा जनतासँग कार्यक्रममा बोलेको कुरा जनताले सम्झिराखेका छन् । तर, सभापतिले बिर्सिएजस्तो छ । पार्टीको मेरुदण्ड नै त्यही कार्यक्रम थियो । पार्टीमा सीधा कुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीयस्तरमै आए, सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिएर अरु राजनीति गर्न थाले ।

यतिमात्र नभएर मुकुलले सभापतिमाथि धेरै बोलेको आरोप पनि लगाएका छन् ।

‘पार्टीका केन्द्रीय नेताहरू, विशेषतः सभापतिले बोलीमा लगाम लगाउनुपर्ने र काम भइसकेपछि मात्र बोल्ने बानी विकास गर्नुपर्ने सुझावहरू प्राप्त भएका छन् । जीबी राईका सन्दर्भमा बोलिएका बोली, आज पार्टीका लागि सबैभन्दा ठूलो चुनौती भएको छ । तयारी र गुदीविना आश्वासनका पुलिन्दामात्र बाँड्दा ताली त पाइयो होला, तर यसले पार्टीलाई क्षति मात्र गर्‍यो । आउने चुनावसम्म पार्टीका नेताको बोलीका क्लीप्सहरू जताततै बजाइरहे हुँदा त्यसले पार्ने असरको बारेमा अहिलेबाट सजग हुनुपर्छ । बोल्नका लागि मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानीबाहेक केही गरेन । जवाफ दिने ठाउँमा पुग्दा हिजोका आफ्नै प्रश्नहरू आज पार्टीलाई भारी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर