मुख्यमन्त्री जोखबहादुर महराकाे गुनासाे- केन्द्रमा पानी पर्दा प्रदेशमा छाता ओढेपछि कसरी संघीयता आयो ? – Nepal Press

मुख्यमन्त्री जोखबहादुर महराकाे गुनासाे- केन्द्रमा पानी पर्दा प्रदेशमा छाता ओढेपछि कसरी संघीयता आयो ?

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले संघीय सरकारमा देखिएको राजनीति हलचलले प्रदेशहरूलाई पनि असर पुर्‍याएपछि संघीयताको महसुस कसरी गर्न सकिन्छ भनेर प्रश्न गरेका छन् ।

हामीले परिकल्पना गरेको संघीयतालाई संस्थागत गर्न पार्टीहरूले नसकेको उनले धारणा छ ।

संघीय सरकारमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरूले बिहीबार राती नै मुख्यमन्त्री महरालाई राजीनामा बुझाएपछि उनले यस्तो धारणा राखेका हुन् ।

मुख्यमन्त्री महराले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि नेपालका ठूला पार्टीहरूमा संघीयता लागू हुन नसक्दा केन्द्रमा देखिने समस्याहरूले प्रदेशलाई पनि असर पुराएको बताए ।

संघीयतालाई संस्थागत गर्नका लागि पार्टीहरूमा पनि प्रदेश र स्थानीय तहसम्म स्वविवेक अधिकार र सरकार गठनलाई प्रदेशलाई नै जिम्मेवारी बनाउनुपर्ने उनको भनाइ थियो ।

’केन्द्रीय राजनीतिमा देखिने हलचलले प्रदेशलाई पनि असर पुर्याउनु गलत हो, हामीले संघीयता ल्याए पनि आफ्ना पार्टीहरूमा संघीयता ल्याउन असमर्थ देखिएको छौँ । प्रदेशलाई संस्थागत गर्नका लागि पार्टीहरूले सोच्नुपर्ने अवस्था आएको छ’ उनले भने ।

समृद्ध प्रदेशको निर्माण गर्नका लागि प्रदेशको राजनीति नेतृत्वले नै पहलकदमी गर्नु पर्दछ । संघीय सरकारमा देखिएका समस्या संघले र प्रदेशमा देखिने समस्या प्रदेशले समाधान गर्ने परिपाटीको विकास गर्न लाग्नुपर्ने मुख्यमन्त्री महराले राजीनामा बुझाउन आएका मन्त्रीहरूलाई सुनाए ।

यसका लागि पार्टीहरू भित्र नै संघर्ष गर्नुपर्ने बेला आएको मुख्यमन्त्री महराको भनाइ थियो । सशस्त्र युद्ध तथा जनआन्दोलनले संस्थागत गरेको संघीयताले तीन तहको सरकार निर्माण गरी समृद्ध हुने परिकल्पना गरिए पनि विभिन्न समस्याहरूले अल्झाइरहेको विचार मुख्यमन्त्रीले राखेका थिए ।

प्रदेश सरकारको स्थापनासँगै यस्ता परिघटनाहरू देखापरेकाले प्रदेश संरचनाको औचित्य छैन भन्ने आवाजहरूले स्थान पाएको भन्दै मुख्यमन्त्री महराले यस्ता समस्याहरूलाई ब्रेक गर्नका लागि सबै मिलेर तयार हुनुपर्ने विचार राखेका थिए ।

उनले छोटो समयमा जन पक्षीय कामहरू गर्न सफल भएका दाबी गर्दै शुरु गरेका कामहरू चालु आर्थिक वर्षको अन्त्यसम्म पूरा गर्ने दायित्व रहे पनि राजनीतिमा देखिएको फेरबदलले पूरा गर्न नसकेको बताए ।

’हामी सरकारमा आएसँगै धेरै अफ्ठ्यारा कामहरुलाई बिस्तारै सहज बनाउँदै लगेको थियौँ । समितिका सभापतिहरू चयन गरायौँ । समितिका बैठकहरुलाई निरन्तरता दिएका छौँ । सदनलाई यथेष्ट बिजनेस दिएको छौँ । निकै राम्रो वातावरणमा सरकार सञ्चालन भइरहेको अवस्थामा आएको यो हलचलले लुम्बिनी प्रदेश सरकारलाई असहजतर्फ धकलेको छ । यो हाम्रो दोष नभएर बाध्यता हो । आशा छ फेरि पनि हामी एक ठाउँ हुनेछौ’ मुख्यमन्त्री महराले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर