लुम्बिनीमा सहमतिको सरकार बनाउने भन्दै एमालेले प्रदेश प्रमुखलाई दियो औपचारिक पत्र – Nepal Press

लुम्बिनीमा सहमतिको सरकार बनाउने भन्दै एमालेले प्रदेश प्रमुखलाई दियो औपचारिक पत्र

रुपन्देही । नेकपा एमालेले लुम्बिनीमा सहमतिको सरकार बनाउने विषय प्रदेश प्रमुखलाई जानकारी गराएको छ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएपछि त्यसको औपचारिक जानकारी गराउँदै नेकपा एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बुटवलस्थित लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा औपचारिक जानकारी गराएको हो ।

चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई जानकारी पत्र बुझाएको बताए ।

प्रमुख सचेतक माननीय चौधरीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरिएको बताउनुभयो ।

प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरूप आवश्यक कागजात तयार पारिने बताइन् ।

प्रदेश प्रमुख शेरचन औषधोपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेको उनका स्वकीय सचिव वसन्त भट्टचनले जानकारी दिए।

एमालेले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो । सोही अनुरूप मन्त्रीहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्नबहादुर खत्री, अर्जुन केसीले असार २० गते बेलुका राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर