बुटवलको सामुदायिक मुटु अस्पतालमा १ हजार जनाले लिए एन्जियोप्लाष्टी सेवा – Nepal Press

बुटवलको सामुदायिक मुटु अस्पतालमा १ हजार जनाले लिए एन्जियोप्लाष्टी सेवा

रुपन्देही । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले १ हजार जना मुटुका बिरामीलाई सफलतापूवक एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि) सेवा प्रदान गरेको छ।

क्याथ ल्याब सञ्चालनमा आएको ७ वर्षको अवधिमा यो सेवा लिएर उपचार सफल भएका बिरामीहरुको संख्या १ हजार पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार ०७३ चैत २३ गते क्याथ ल्याबको अनुमति पाएको अस्पतालले २०७४ बैशाखबाट एन्जियोप्लाष्टि र एन्जियोग्राम सुरु गरेको थियो।

अस्पतालले ०७४ बैशाख १३ गते सुनवलका रामबहादुर नगरकोटीको पहिलो पटक एन्जियोप्लाष्टी गरेर सेवा सुरु गरेकोमा ०८० असार २० गते समरीमाई गाउंपालिकाका तोरी तेलीको एन्जियोप्लाष्टी गरेसंगै अस्पतालबाट १ हजार जनाले एन्जियोप्लाष्टी सेवा लिएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा.समिर गौतमले मुटुको भल्व खुलाउने, मुटुको प्वाल बन्द गर्नेजस्ता सेवाहरु थप गर्ने योजनामा अस्पताल रहेको बताए। अस्पतालको आफ्नै भवन भएपछि उक्त सेवाहरु थप हुने उनको भनाइ छ। साथै उनले रोग लाग्नबाट बचाउन अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायस्तरमा चेकजाँच गर्ने गरेको बताए।

डा.गौतमले हृदयघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्चरक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपर्ने बताए।

अस्पतालका अध्यक्ष आलमले राजधानी बाहिरका बिरामीहरुले उपचारका लागि लागि काठमाडौं जानुपर्ने बाध्यता रहेको र कतिपय अवस्थामा विरामीको बाटोमै मृत्यु हुने गरेको भन्दै मुटु अस्पतालले सुरु गरेको एन्जियोप्लाष्टी सेवाका कारण धेरैको अकाल मृत्युबाट जोगाउन सकिएको बताए।

एन्जियोप्लाष्टी गर्नुपर्ने विरामीको संख्या बढ्नु दुःखद् भएपनि विरामी भएपछि दिने सेवामा मुटु अस्पतालको विश्वास बढ्दै गएको उनको भनाइ छ।

उनले सीमित श्रोत र साधनको प्रयोगबाट सांघुरो क्षेत्रबाट सेवा प्रदान गर्नुपरेको बताउँदै अस्पतालको जग्गा प्राप्ति प्रक्रियामै रहेको र जग्गा प्राप्तपछि विशिष्टकृत सेवा थप गर्दै लैजाने प्रतिबद्धतासमेत जनाए।

अध्यक्ष एजाज आलमले विरामीको विश्वास र अस्पतालका चिकित्सकहरुको कार्यक्षमता र दक्षताकै कारण अस्पतालमा सवैको विश्वास बढ्दै गएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर