मेस्सीले गोल गर्न नसक्दा चम्किएका मार्टिनेजहरू – Nepal Press

मेस्सीले गोल गर्न नसक्दा चम्किएका मार्टिनेजहरू

काठमाडौं । अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजले शुक्रबार कोपा अमेरिका र विश्वकपका अघिल्ला संस्करणहरू सम्झना दिलाउने प्रदर्शन गरे । कोपा अमेरिकाकै क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई टाइब्रेकरमा पराजित गर्दा गोलकिपर मार्टिनेजले दुइटा पेनाल्टी रोकेका थिए, सुरुकै ।

त्यो पनि, कप्तान लियोनल मेस्सीले पहिलो पेनाल्टी नै सदुपयोग गर्न नसकेपछि मार्टिनेजमाथि बेग्लै दबाबमा थियो । तर उनले गोलपोस्टका दुवै साइड बारतर्फ डाइभ गर्दै ती दुई प्रहार रोकेका थिए। मेस्सीपछिका लगातार चार प्रहार गोल गर्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

झन्डै २ वर्षअघि अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराएर ३६ वर्षपछि विश्वकप जित्दा गोलकिपर मार्टिनेजले नै पटक पटक जोगाएका थिए। त्यति बेला क्वाटर फाइनलमा नेदरल्यान्ड्सविरुद्ध भएको टाइब्रेकरमा उनले सुरुका दुई विपक्षी प्रहार रोकेका थिए।

अर्जेन्टिनाको एक मात्र प्रहार मिस भएको थियो। फाइनलको निर्णय पनि टाइब्रेकरबाट निस्कँदा मार्टिनेज नै निर्णायक बने। उनले दोस्रो प्रहार रोकेका थिए भने तेस्रो प्रहार फ्रान्सका खेलाडीले फ्रेममा प्रहार गर्न सकेनन्। अर्जेन्टिनाले सुरुका चार प्रहारमा गोल गर्दै उपाधि पक्का गरेको थियो। त्यसअघि अतिरिक्त समयको इन्जुरी समय सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा वन भर्सेस वनमा फ्रान्सलाई निराश बनाएका थिए।

अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिका पनि जितेको थियो, झन्डै २८ वर्षपछि। यही उपाधिले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीको उपाधि खडेरी तोडिएको थियो। त्यति बेला पनि गोलकिपर मार्टिनेज निर्णायक बनेका थिए। उनले सेमिफाइनलमा कोलम्बियाविरुद्ध अर्जेन्टिनालाई टाइब्रेकरबाट जोगाएका थिए। पेनाल्टी सुटआउटमा मार्टिनले विपक्षीका तीनवटा प्रहार रोके।

कोलम्बियाको पहिलो र चौथो प्रहार मात्र गोल भएको थियो। अर्जेन्टिनाका डि पल दोस्रो प्रहारमा चुकेका थिए । मार्टिनेजले पाँचौं प्रहार रोकेपछि अर्जेन्टिना आफ्ना एक खेलाडीको पालो बाँकी रहँदै फाइनल पुगेको थियो। फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले हराउँदा गोलकिपर मार्टिनेजको प्रदर्शन उल्लेख्य थियो। मार्टिनेजले सन् २०२१ मा मात्र सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्। ३१ वर्षीय उनी हाल एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्छन्।

अन्य दुई मार्टिनेज

जारी कोपा अमेरिकामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्न सकेका छैनन् । उनी अघिल्ला विश्वकप र कोपा अमेरिकाका सर्वोत्कृष्ट खेलाडी हुन् ।

अहिले भइरहेको प्रतियोगिताको समूहगत चरणमा उनले सुरुका दुई खेल खेलेका थिए भने तेस्रो खेलमा उनले खेलेका थिएनन्।

इक्वेडरविरुद्ध पूरा समय खेले पनि उनले गोल गर्न सकेनन्। खेलमा सुरुवाती अग्रता अर्जेन्टिनाले लिएको थियो। ३५औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गरेका थिए। डिफेन्डर मार्टिनेजले हेडमार्फत गोल गरेका थिए।

उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। म्यानचेस्टर युनाइटेडका लागि व्यावसायिक फुटबल खेलिरहेका लिसान्द्रो मार्टिनेज सन् २०१९ देखि सिनियर राष्ट्रिय टोलीमा छन्।

यसअघि समूहगत चरणका तीनवटै खेलमा स्ट्राइकर लौतारो मार्टिनेजले गोल गरेका थिए। उनले सुरुका दुई खेलमा एक एक गोल गरेका थिए भने पेरुविरुद्ध भएको अन्तिम खेलमा २ गोल गरेका थिए। २६ वर्षीय लौतारो मार्टिनेज सन् २०१८ देखि सिनियर राष्ट्रिय टोलीमा छन्।

इन्टर मिलानका लागि व्यवसायिक फुटबल खेलिरहेका उनले अर्जेन्टिनाका लागि ६१ खेल खेल्दै २८ गोल गरेका छन् । अर्जेन्टिनाले जारी प्रतियोगिताको पहिलो चरणमा क्यानडालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलले हराएको थियो।

अन्तिम समयमा सम्हालिन नसक्दा

अर्जेन्टिनाले खेलेका पछिल्ला तीन टाइब्रेकरको समानता भनेको उसले अन्तिम समयमा अग्रता जोगाउन सकेको देखिँदैन।

शुक्रवार इक्वेडरले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेको थियो। यही गोलले खेल टाइब्रेकरमा धकेलिएको थियो।

गत विश्वकपको क्वाटर फाइनलमा पनि अर्जेन्टिनाले अन्तिम समयमा अग्रता गुमाएको थियो। ८२ मिनेटसम्म २-० गोलले अगाडि रहेको अर्जेन्टिनाले ८३औं मिनेट र दोस्रो हाफको इन्जुरी समयको अन्त्यतिर गोल ब्यहोरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको थियो।

फाइनलमा पनि अर्जेन्टिना ७९ औं मिनेटसम्म २-० गोलले अगाडि थियो। तर केलियन एमबाप्पेल ८० र ८१ औँ मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरी भएर अतिरिक्त समयमा पुगेको थियो।

त्यसपछि अर्जेन्टिनाका लागि मेस्सीले १०८औं मिनेटमा गोल गरेका थिए। फेरि पनि अर्जेन्टिना सम्हालिन सकेन। एक सय १८औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर