बेलायतका केइर स्टार्मर: सांसद र दलको नेता हुँदै प्रधानमन्त्रीमा तीव्र छलाङ – Nepal Press

बेलायतका केइर स्टार्मर: सांसद र दलको नेता हुँदै प्रधानमन्त्रीमा तीव्र छलाङ

काठमाडौं । शुक्रबार बिहानै बेलायती नागरिकलाई सम्बोधन गर्दै सर केइर स्टार्मरले भनेका थिए, ‘देशभरका जनता आज ठूलो भारात्तोलन गरेको समाचार सुनेर व्युँझनेछन् । यो देशको काँधबाट एक विशाल भारी बल्ल हटाइएको छ ।’

सत्ताधारी दलमाथि संकेत गरिएको यो भनाइले प्रस्ट पारेको छ कि बेलायती चुनावमा आएको जनमतले ठूलै हलचल ल्याएको छ । १४ वर्ष निरन्तर सत्तामा भएको दल कन्जरभेटिभ अर्थात् टोरिज सत्ताच्युत भएको छ । १४ वर्ष सत्ताहीन भएको दल लेबर पार्टी सत्तासीन भएको छ । लेबरले एकल बहुमत ल्याएर ६५० सिटे बेलायती सदनमा टोनी ब्लेयर र गोर्डन ब्राउनपछि अझ सानदार प्रवेश गरेको छ । बेलायती प्रमुख प्रतिपक्षी दल भएर सत्तामा पुग्न लेबर पार्टीलाई १४ वर्ष लाग्यो, तर लेबरका अहिलेका प्रधानमन्त्री बन्ने सुरसारमा रहेका ६१ वर्षे नेता केइर स्मार्टरलाई सांसद, दलको नेता हुँदै प्रधानमन्त्री बन्न १० वर्ष पनि लागेन ।

५५ वर्षबाट दलमा जोडिएका पाका नेतालाई पाखा लगाएका स्टार्मर

सन् २०१५ मा ५२ वर्षको उमेरमा लेबर पार्टीबाट सांसद भएका थिए केइर स्टार्मर । त्यसको पाँच वर्ष नपुग्दै उनी लेबर दलको नेता भए । ५५ वर्षबाट लेबर दलमा जोडिएका जेरिमी कोर्बिनलाई लेबरले ‘यहुदीविरोधी’ अभिव्यक्ति दिएको भन्दै निष्कासन गर्‍यो । सन् २०२० अक्टोबरमा निष्कासन हुनुअगाडि सन् २०१९ को चुनावमा राम्रो नगरेको भनेर पदबाट राजीनामा दिएका थिए कोर्बिनले । उनको राजीनामासँगै पाँच वर्षबाट लेबरबाट सांसद भएका केइर स्टार्मर दलको नेता भएर आए । कोर्बिन निष्कासनमा परेपछि उनलाई झन हाइसन्चो भयो ।

लेबरको राष्ट्रिय कार्यकारी समितिले सन् २०२३ मार्चमा मतदान गरेर कोर्बिनलाई लेबरले कुनै चुनावी सहयोग नगर्ने निर्णय गर्‍यो । कोर्बिनको पक्षमा १२ मत आउँदा स्टार्मरले गरेको प्रस्तावका पक्षमा २२ मत आएर कोर्बिनलाई चुनावी साथ दिने बाटो बन्द भएको थियो । दश पटक सांसद बनेको र ५५ वर्ष जोडिएको दलबाट निकालिए पनि कोर्बिनले चुनाव भने यो पटक पनि जितेका छन् । उनले आफ्नो चुनाव क्षेत्र इस्लिङ्टनबाट आठ हजार मतान्तरले लेबर उम्मेदवारलाई हराएर स्वतन्त्र सांसदको रुपमा चुनाव जितेका छन् ।

‘मतदान योग्य’ दल बनाउने उद्घोष गरेका स्टार्मरले दिलाए एकल बहुमत

सन २०१९ को संसदीय चुनावमा लेबरले २८३ सीट जित्यो । यो लेबरको ८५ वर्ष लामो इतिहासमा सबैभन्दा खराब प्रस्तुति थियो । दलका नेता जेरिमि कोर्बिनले यही कारण राजीनामा दिनुपर्‍यो । चुनावी पराजयको बिजोग अवस्थामा आएका स्टार्मरले त्यो बेला आफ्नो दललाई ‘इलेक्टेबल’ अर्थात् ‘मतदान योग्य’ दल बनाउँछु भनेका थिए ।

नभन्दै उनको पालामा लेबरले झण्डै डेढ दशकको सत्ताको खडेरी अन्त्य गरे, एकल बहुमत ल्याए । अब प्रधानमन्त्री बन्दैछन् । बेलायती सत्तामा लेबर प्रधानमन्त्री भएर पहिलो पटक पुगेको ठीक एक शताब्दी पुगेको समयमा उनी प्रधानमन्त्री बन्ने भएका छन् । बेलायती लेबर पार्टीका प्रथम प्रधानमन्त्री रामसे म्याकडोनाल्ड सन् १९२४ मा नौ महिना प्रधानमन्त्री भएका थिए । चार सय पारको सीट ल्याएर बेलायती जनताको विशाल जनमतसहित प्रधानमन्त्री बन्न लागेका छन् स्टार्मर ।

यो पनि पढ्नुहोस्- बेलायतको बिजयउन्मुख दलको घोषणापत्र- १६ वर्षमा मताधिकार, गोर्खा ‘भेट्रान’ लाई भिसा शुल्क मिनाहा

लेबर सत्ताको घोषित कार्यक्रम के छन् ?

बेलायतमा टोरिजलाई परम्परावादी दल मानिन्छ । लेबरलाई उदार र देब्रे ढल्कुवा दल मानिन्छ । लेबरका मुद्दा श्रमजीवीको पक्षमा हुने बताइन्छ ।

उनले दलको घोषणापत्रमा भनेका छन्, ‘म राजनीतिमा आउनुको मुख्य लक्ष्य नै जनताको सेवा हो ।’ १४२ पेजको घोषणापत्रमा सीमा सुरक्षा, सडक सुरक्षादेखि राज्य तथा प्रकृतिबाट प्रताडितहरुको सुरक्षा गर्नेदेखि आतंकवादबाट सुरक्षा गर्नेसम्मका बुँदाहरु लेबरले आफ्नो चुनाव २०२४ को लागि बुँदागत चर्चा गरेको छ । देशमा परिवर्तन ल्याउने दाबी गरेको लेबरले घोषणापत्रको नामै ‘चेन्ज’ अर्थात् ‘परिवर्तन’ राखेको छ ।

लेबरको कार्यक्रममा बेलायतमा शिक्षकको दरबन्दी बढाउने, स्वास्थ्य सेवा सहज बनाउने, हरित ऊर्जामा विकास गर्ने, हरित ऊर्जामा सन् २०३० मा आत्मनिर्भर बनेर विश्व महाशक्ति बन्नेतर्फ लाग्नेदेखि विद्यालयमा मानसिक स्वाथ्य परामर्शदेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्नेलगायतका छन् । चीनको अवसर र जोखिम दुवैको प्रयोग गर्ने, युक्रेनमा राजनीतिक, कूटनीतिक, आर्थिक तथा सैन्य सहयोग गर्ने मुद्दा लेबरका छन् ।

बेलायती सेनामा चार वर्ष कम्तीमा काम गरेका गोर्खा सैनिकलगायका गैरबेलायतीहरुको भिसा शुल्क मिनाहा गर्ने पनि चुनावी प्रतिवद्धतापत्रमा लेखिएको छ । प्यालेस्टाइन र इजरायल दुवै राज्यको पक्षधरमा छ लेबर ।

यस्तो छ स्टार्मरको गैरराजनीतिक जीवन: अधिवक्तादेखि समाजवादी अखबार सम्पादकसम्म

केइर स्टार्मरको हुर्काइ लण्डनको बाहिरी भागमा रहेको सर्रेको शहर अक्सटेमा भएको हो । लेबर पार्टीको आधिकारिक जानकारीअनुसार स्टार्मरकी आमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा नर्स भएर काम गर्थिन् । उनका बुबा मिस्त्री थिए । आफू बाबु ‘टुलमेकर’ भएको उनले पटक पटक भन्दै आएका थिए । बेलायती चुनावमा यसको बारेमा व्यङ्ग्यको पात्र पनि बनेका थिए । उनी सांसद भएको तीन वर्षपछि उनका बुबाको मृत्यु भएको थियो । बुबालाई आफूले जीवनभर ‘म तपाईंलाई प्रेम गर्छु । म तपाईंलाई सम्मान गर्छु’ नभन्नु आफ्नो जीवनको खेदजनक भोगाइ भएको स्टार्मरले भन्दै आएका छन् ।

स्टार्मरको परिवार देब्रे ढल्कुवा थियो । उनको न्वारन स्टकल्याण्डका ट्रेड युनियन नेता तथा लेबरका नेता केइर हार्डीबाट साभार गरेर केइर राखिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

१८ वर्षको उमेरमा लिड्स विश्वविद्यालयमा पुगेका स्टार्मर विश्वविद्यालय पुग्ने परिवारकै प्रथम अनुहार थिए । २४ वर्षको उमेरमा सन् १९८६ मा सोसिअलिस्टअल्टरनेटिभ्स नामक समाजवादी म्यागजिनका सम्पादक भएका उनी सन १९८७ मा अधिवक्ता बने । त्यसयता उनी मानव अधिकार अधिवक्ताको रुपमा ज्यादा परिचित छन् । सन् २००७ मा विवाह गरेका उनका दुई सन्तान छन् । उनकी श्रीमती भिक्टोरिया पनि एनएचएसमै काम गर्छिन्, जहाँ उनकी आमा पहिले काम गर्थिन् ।

बेलायतको स्काई न्यूजका अनुसार भिक्टोरिया स्टार्मरले बेलायतकी प्रथम महिला भएपछि पनि काममा निरन्तरता दिने उल्लेख गरेकी छन् । मिडियामा बोल्न नरुचाउने उनी यस अगाडिकी प्रथम तथा ऋषि सुनाककी श्रीमती अक्षता मूर्ति जस्तो मुखर छैनन् । उनले आफ्ना दुई सन्तानको नामसमेत सार्वजनिक गरेकी छैनन् ।

राजनीतिमा आउनुभन्दा अगाडि नै केइर स्टार्मरले राजकीय नियुक्ति लिएका थिए । सन् २००२ मा उनी बेलायती महारानीका सल्लाहकार थिए ।

स्टार्मरका आलोचना: अवसरवादी भएकोदेखि बंगलादेशको बद्नामसम्म

केइर स्टार्मर आलोचनाभन्दा पर छैनन् । उनका धेरै आलोचना उनको दलबाटै आएका छन् । उनलाई अवसरवादी भन्नेहरु धेरै भएको विभिन्न मिडियाहरुले लेखेका छन् । आमजनतामा लेबर भनेको यहुदीविरोधी दल हो भन्ने कमजोर भाष्यलाई बलियो पार्ने काम उनैले गरेको बताइन्छ । यस्तै उनको आलोचना बंगलादेशमा पनि व्यापक भएको छ ।

उनले द सनलाई दिएको एक अन्तर्वार्ताको क्रममा बंगलादेशको नाम लिएपछि उनी आलोचित भएका हुन् । उनले द सनका राजनीतिक सम्पादक ह्यारी कोलसँग भनेका थिए, ‘अहिले बंगलादेशलगायतका देशहरुबाट आइरहेका मान्छेहरु फिर्ता गरिएका छैनन् किनभने त्यसको कुनै प्रक्रिया नै सुरु भएको छैन ।’

अंग्रेज नहर पार गरेर बेलायतमा आउने गैरकानुनी आप्रवासीको बारेमा बोल्दा उनले यस्तो भनेका थिए । यसबारे बंगलादेशमा व्यापक आलोचना भएको थियो । बंगलादेशको अंग्रेजी भाषाको अखबार डेली स्टारमा यसको खबर आलोचनात्मक कोणमा आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर