‘ईट्स माई शो’ का विवादित संवादहरू कान्तिपुर टिभीले दुई हप्तापछि हटायो – Nepal Press

‘ईट्स माई शो’ का विवादित संवादहरू कान्तिपुर टिभीले दुई हप्तापछि हटायो

जसिताले भनिन्- अब यस्तो कसैमाथि नगरियोस्

काठमाडौं । कान्तिपुर टेलिभिजनले ‘ईट्स माई शो’ को विवादित एपिसोडमा कैँची चलाएको छ । टेलिभिजनमा प्रशारण भएको १३ दिनपछि केही आलोचित दृश्य र संवादहरू हटाइएको हो ।

ओसिन सिटौलाले चलाएको कार्यक्रमलाई लिएर नायिका जसिता गुरुङले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । त्यसभन्दा अगाडि नै काउन्सिलले टेलिभिजनलाई पुर्जी काटिसकेको थियो ।

सिटौलालाई बोलाएर बयान पनि लिइएको छ । कान्तिपुरको लिखित जवाफ र बयानपछि काउन्सिलले केही दृश्यहरू हटाउनका लागि निर्देशन दिएको थियो ।

कान्तिपुरले नायिका जसिता गुरुङको व्यक्तिगत जीवनबारे बोलिएका संवादहरू हटाएको छ । नायक अनमोल केसीका विषयमा गरिएको सवाल जवाफलाई पनि सम्पादन गरिएको छ । कान्तिपुरले भिडिओ सम्पादन गरेपछि जसिताले आफूलाई साथ दिने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।

उनले ईन्स्टाग्रामको स्टोरीमा लेखेकी छिन्, ‘अन्ततः ईट्स माई शोबाट मेरोबारे बोलिएको क्लिप सम्पादन गरी हटाइएको छ । यस्तो कसैलाई नहोस् भन्ने मेरो आशा छ । यो समयभरि, मलाई साथ दिनुहुने र माया गर्नुहुने सबैप्रति म आभारी छु ।’

प्रेस काउन्सिलले लिखित निर्देशन पठाउनुअघि जसिताले कान्तिपुरको व्यवस्थापन टिमलाई नै उक्त क्लिप हटाउन आग्रह गरेकी थिइन् । तर कान्तिपुरले नहटाएपछि उनले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् ।

केही दिनअघि बयान दिन ओसिन सिटौला प्रेस काउन्सिल पुगेकी थिइन। उनले आफूबाट गल्ती भएको स्वीकारोक्ति व्यक्त गरे पनि भिडिओ हटाउनेबारे केही बोलेकी थिइनन् । सिटौलासँगको छलफल सकिएपश्चात् बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले ईट्स माई शोका केही अंशहरु तत्काल हटाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

स्वस्तिमाले बोलेको ‘खानासँगै सेक्स गर्न मन पर्छ’ भन्ने संवाद र जवाफ दिन नसके लुगा फुकाल्नुपर्ने सर्तसहितका प्रश्नोत्तर भने हटाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *