अर्थमन्त्रीको दाबी- सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीति परिवर्तन हुँदैन – Nepal Press

अर्थमन्त्रीको दाबी- सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीति परिवर्तन हुँदैन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री पुनले विकासका लागि नीतिगत स्थायित्व आश्वयक रहेकामा जोड दिए ।

वर्तमान प्रचण्ड नेतृत्वको सरकारले विगत सरकारका सकारात्मक नीतिलाई निरन्तरता दिएको स्मरण गर्दै उनले नयाँ बन्ने सरकारले पनि त्यसलाई ध्यान दिने विश्वास व्यक्त गरे ।

उनले लगानी वृद्धि र बजार व्यवस्थापनजस्ता विषयमा राजनीतिक र प्रशासनिक नेतृत्वको साथै नीति निर्माताहरुले ध्यान दिनुपर्नेमा जोड दिए । विकास नीति बनाउँदा भौगोलिक अवस्थिति र मुलुकको वास्तविकतामा आधारित हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि क्षेत्रलाई संरक्षण गरी प्रतिस्पर्धी र व्यवसायिक बनाउने नीति अख्तियार गरिएको बताए । त्यसका लागि आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुमा चालु आर्थिक वर्षमा लगाइएको कर हटाइएको उनको भनाइ थियो ।

यस्तै, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत बाहिरबाट आयत हुने वस्तुमा अग्रिम कर लगाइएको प्रष्टीकरण मन्त्री पुनले दिए ।

‘अर्थतन्त्रमा संकुचन हुँदाहुँदै पनि चालु आर्थिक वर्षमा पर्यटनमा २० प्रतिशत र जलविद्युतमा १९ प्रतिशतको वृद्धि देखियो’, उनले भने, ‘चिया, कफी, अलैंची, अदुवा र जटिबुटीसहित १९ वटा कृषि उत्पादन र आईटीमा हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर