युरोकपको क्वाटरफाइनलमा स्पेन र जर्मनी भिड्दै, आजै राति फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुने – Nepal Press

युरोकपको क्वाटरफाइनलमा स्पेन र जर्मनी भिड्दै, आजै राति फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुने

काठमाडौं। युरोकप फुटबलको क्वाटर फाइनलमा शुक्रवार राति दुई हेभिवेट भिडन्त हुँदैछन्। नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने खेलमा स्पेनले जर्मनीसँग खेल्ने छ। राति पौने १ बजे सुरु हुने अर्को खेलमा पोर्चुगलले फ्रान्सको सामना गर्ने छ।

स्पेनले अन्तिम पटक सन् २०१२, फ्रान्सले सन् २०००, जर्मनीले सन् १९९६ र पोर्चुगलले सन् २०१६ मा युरो कप जितेका थिए। फ्रान्स सन् २०१६ मा फाइनल खेल्नुका साथै सन् २०१८ मा विश्वकपको उपाधि जितेको टोली हो।

सन् २०२२ मा आयोजित विश्वकपमा पनि फ्रान्स फाइनल पुगेको थियो तर अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो। जर्मनी सन् २००८ यता युरोकपको फाइनल पुग्न सकेको छैन।

स्पेनले जर्मनीलाई नै फाइनलमा हराएर सन् २००८ मा पहिलो पटक युरो कप जितेको थियो। उसले सन् २०१० मा विश्वकप र २०१२ मा युरो कप जितेर ऐतिहासिक सफलता प्राप्त गरेको थियो। पोर्चुगल अन्तिम पटक सन् २०१६ मा फाइनल पुगेर उपाधि भिडन्तमा फ्रान्सलाई पराजित गरेर युरोपियन च्याम्पियन बनेको थियो।

जारी संस्करणको प्रिक्वाटरफाइनलमा स्पेनले जर्जियालाई ४-१ गोलले, जर्मनीले डेनमार्कलाई २-० गोलले, पोर्चुगलले स्लोभानियालाई १-० गोलले र फ्रान्सले बेल्जियमलाई १-० गोलले हराएको थियो। स्पेन र जर्मनी अन्तिम पटक गत विश्वकपमा भिडेका थिए।

त्यतिबेला यी दुई टोलीबीच १-१ गोलको बराबरी भएको थियो। सन् २०२० को नोभेम्बरमा स्पेनले जर्मनीलाई ६-० गोलले हराएको थियो। यता पोर्चुगल र फ्रान्स अन्तिम पटक सन् २०२१ को युरोकपमा भिडेका थिए। त्यतिबेला २-२ गोलको बराबरी भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर