एआईजीमा सिफारिस पाेखरेल सरकारले निर्णय नगर्दा डीआईजीमै अवकाश – Nepal Press

एआईजीमा सिफारिस पाेखरेल सरकारले निर्णय नगर्दा डीआईजीमै अवकाश

काठमाडौं । राजनीतिक उथलपुथलका कारण प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा नभएरै अनिवार्य अवकाशमा गएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका पोखरेल एआईजीपीमा बढुवाका लागि असार १० गते बढुवा समितिबाट सिफारिस भएको भए पनि सरकारले निर्णय नगरेका कारण उनी बढुवा नभएरै अनिवार्य अवकाशमा गएका हुन् ।

पोखरेल डीआईजीको ५६ वर्षे उमेर हदका कारण बिहीबार अनिवार्य अवकाशमा गएका हुन् । सरकारले बेलैमा निर्णय गरेको भए उनी एआईजीको दर्ज्यानी चिन्ह लगाएर अनिवार्य अवकाशमा जाने थिए । १० गते उनी बढुवा सिफारिस भएकाले त्यसको ७ दिन हिसाब गर्दा १८ गतेसम्म बढुवामा चित्त नबुझेको अवस्थामा उजुरी गर्न सकिने व्यवस्था प्रहरी नियमावलमा रहेको छ ।

तोकिएको ७ दिन भित्र कोही कसेको उजुरी नपरेका कारण १९ गतेदेखि २० गतेसम्म मन्त्रिपरिषद् बैठक बसेर बढुवा गर्न सक्ने थियो । २० गते बिहीबार पोखरेलले अनिवार्य अवकाश पाउने दिनमा नै मन्त्रिपरिषद् बैठक बसेको भए पनि एआईजी बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा नगएका कारण बढुवा नभएर अनिवार्य अवकाशमा गएका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार अहिले नेकपा (एमाले)ले सरकारबाट समर्थन फिर्ता लिएको र सत्ता समिकरण परिवर्तनको उथलपुथलका कारण गृह मन्त्रालयले पोखरेलको एआईजी बढुवा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा अघि बढाउन सकेन ।

उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको पार्टीको आन्तरिक विवादका कारण निरन्तर बैठकमा व्यस्त भएका कारण पनि उक्त प्रस्तावबारे लामिछानेले खासै ध्यान दिएनन् । उनले मात्रै उक्त प्रस्ताव अघि बढाएको भए पोखरेल घर जाने बेलामा भए पनि एआईजीपी बढुवा भएर घर जाने सम्भावना थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयबाटै मन्त्रिपरिष्द बैठकमा प्रस्ताव नगएका कारण बढुवा प्रक्रिया अघि बढ्न नसकेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *