गण्डकी बोर्डिङको प्रिन्सिपल नियुक्तिमा चलखेलको आशंका- सेटिङको मान्छेअनुसार मापदण्ड तय – Nepal Press

गण्डकी बोर्डिङको प्रिन्सिपल नियुक्तिमा चलखेलको आशंका- सेटिङको मान्छेअनुसार मापदण्ड तय

काठमाडौं । पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको प्रिन्सिपल नियुक्ति मापदण्डमा चलखेलको आशंका गरिएको छ । प्रिन्सिपल छनोट उपसमितिले आवेदकमध्ये ८ जनाको नाम सर्टलिष्टिङ गरेको हो । स्रोतका अनुसार मापदण्ड बनाउँदा चाहेकै मान्छेलाई नियुक्त गर्ने गरी सेटिङ गरिएको हो ।

छनोट समितिले सार्वजनिक गरेको सर्टलिष्टमा योग्यता नपुगेका व्यक्तिलाई पनि समावेश गरेको बताइएको छ । पहिलो चरणमा सबैभन्दा धेरै ३७ अंक प्राप्त गरेको भनिएका राजकुमार ढकालको योग्यता नपुग्ने भन्दै टिप्पणी हुन थालेको छ ।

सर्टलिष्टमा ढकालसहित सावित्रीकुमार शर्मा, विश्वयुधिर पौडेल घर्ती, विष्णु लम्साल, नविन पौडेल, दयाराम गुमान्जु, गोकुल घिमिरे शर्मा र स्थीरबाबु सुवेदीको नाम समोवश गरिएको छ । उनीहरूको अन्तरवार्ता असार २६ गतेका लागि तोकिएको प्रिन्सिपल छनोट उपसमितिले जनाएको छ ।

ढकाललाई कक्षा १२ सम्म हुने माध्यमिक विद्यालयको प्रिन्सिपलको रूपमा काम गरेको भन्दै ५ अंक दिइएको छ । तर, उनले हालसम्म कक्षा १२ सम्मको विद्यालयमा प्रिन्सिपल भएर काम नगरेको पाइएको छ । उनले काम गरेको समयमा स्याङ्जाको वालिङमा अर्मादी अंग्रेजी विद्यालयमा कक्षा १० सम्ममात्र पढाइ हुन्थ्यो ।

 

यस्तै राजकुमारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेख भनी पेस गरी २ अंक पाएका छन् । तर, उनले एक भारतीय पत्रिकामा सन् २०२२ मा टिप्पणी गरेकालाई अन्तर्राष्ट्रिय जर्नलमा छापिएको लेख भनी पेस गरेको देखिन्छ ।

गण्डकी बोर्डिङले सर्टलिष्टमा प्रकाशित नाम सार्वजनिक गरेपनि वेबसाइट भने बन्द गरेको छ । शुक्रबार बिहानसम्म खुलेको वेबसाइट अहिले बन्द गरिएको छ । पिन्सिपल छनोटसम्बन्धी कार्यविधिमा सर्ट लिष्ट शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको वेवसाइटमा प्रकाशित गर्ने उल्लेख छ । तर, शुक्रबार दिउँसो ३ बजेतिसम्म सार्वजनिक गरिएको थिएन । नेपाल प्रेसले यस विषयमा चासो राखेपछि अहिले वेबसाइटमा राखिएको छ । बोर्डिङकै वेबसाइटमा प्रकाशित गर्ने कुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका इकाई प्रमुख लोकनाथ आचार्यले बताए ।

छनोट उपसमितिले गत जेठ २० गते २१ दिनको म्याद राखेर प्रिन्सिपलका लागि आवेदन दिन आह्वान गरेको थियो ।

सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गण्डकी आवासीय माध्यमिक विद्यालय तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (गण्डकी बोर्डिङ स्कुल) मा शिक्षा मन्त्रालयका सहसचिवको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन हुन्छ । त्यसमा कास्कीका प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, महानगर शिक्षा महाशाखा प्रमुख, सदस्य रहन्छन् ।

यसैबीच ढकालले प्रचार्य छनौटको विषयलाई लिएर आफूलाई व्यक्तिगत लान्छना लगाएको भन्दै समाचारको खण्डन गरेका छन् । उनको भनाइ जस्ताको तस्तै यहाँ राखिएको छ-

मेरो फोटो समेत राखेर प्रकाशित भएको समाचारप्रति ध्यान आकर्षण गराउन चाहन्छु  | उक्त छनौट प्रकिया नियम अनुसार अगाडि बढिरहेको र हाल १४ जना प्रतिस्पर्धीहरु मध्ये ८ जनाको नाम छोटो सुचिमा प्रकाशित भएको छ| जस मध्ये ४ जना यहि बिद्यालयमा कार्यरत शिक्षकहरु छौ भने बाँकी ४ जना बाहिर कतै कार्यरत हुनुहुन्छ | यिनीहरु मध्ये बिद्यालयमा कार्यरत ७ जना आबेदकहरुको मात्र अंक स्वनिर्धारण गरि आफै योग्यता सुची बनाइ मलाइ पहिलो नम्बरमा राख्दै अंक तालिका र मेरो तस्विर समेत प्रकाशित गरि प्रचार प्रसार गरि मेरो चरित्र हत्या गर्ने, छनौट प्रक्रियालाई प्रभाव पार्ने कोशिश गर्ने तथा अन्य आवेदकहरुको मान मर्दन गर्ने समेत हुन पुगेको र यो बिषयले मलाइ मानसिक यातना समेत दिएको जानकारी गराउँछु । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *