सहकारीका कर्मचारीले ग्राहकको घर गएर गरे बालिकामाथि यौन दुर्व्यवहार – Nepal Press

सहकारीका कर्मचारीले ग्राहकको घर गएर गरे बालिकामाथि यौन दुर्व्यवहार

चितवन । भरतपुरको एक सहकारी संस्थाका कर्मचारीले ग्राहकको घर गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका छन् ।

भरतपुरमा रहेको गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी विष्णुप्रसाद कँडेलले कार्यालयबाट पैसा उठाउन जाँदा ग्राहकको घरमा गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४६ वर्षका कँडेलले कार्यालयको सेवा क्षेत्रमा पर्ने एक ग्राहकको घरमा ऋणको किस्ता उठाउन जाँदा ऋणीको घरमा नगई उनको दिदीको घरमा गएर दिदीको छोरीमाथि यौनजन्य दुर्व्यवहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा १७ वर्षीया किशोरीकी आमाले दर्ता गरेको जाहेरी अनुसार असार १८ गते मङ्गलवार दिउँसो करिब साढे २ बजेतिर कँडेल किशोरी एक्लै हुँदा उनको घर पुगेका थिए ।

उनको घर पुगेर ऋण लिने सानीआमाको घर देखाइदेऊ भनेर किशोरीलाई मोटरसाइकलमा राखेर करिब डेढ किलोमिटर दुरीमा रहेको घर लगेका थिए ।

सोही क्रममा संवेदनशील अंग सुम्सुम्याउने, तिमी मलाई मन पर्छ भन्ने लगायतका यौनजन्य दुर्व्यवहार गरेका निवेदनमा उल्लेख छ । भने, घर फर्किएपछि पनि एक्लै भएको मौका छोपी किशोरीलाई बलात्कारको प्रयास गर्न खोज्दा उनले प्रतिकार गरेपछि त्यहाँबाट हिँडेको जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता गरिएको निवेदनमा उल्लेख गरिएको छ ।

चितवनका प्रहरीका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार यौनजन्य दुर्व्यवहारबारे आफ्नो अभिभावकलाई किशोरीले जानकारी गराएकी थिइन् ।

त्यस लगत्तै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी हुन् । यौन दुर्व्यवहार गर्ने सहकारीका कर्मचारी कँडेललाई निवेदन दर्ता भएपछि प्रहरीले हिरासतमा लिइसकेको छ । जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरी बाल यौन दुर्व्यवहारमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *