अल्पमतमा परेका प्रधानमन्त्रीको सत्ता जोगाउने कसरत, समर्थक दलका नेतासँग सामूहिक छलफल – Nepal Press

अल्पमतमा परेका प्रधानमन्त्रीको सत्ता जोगाउने कसरत, समर्थक दलका नेतासँग सामूहिक छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो समर्थनमा रहेका नेताहरूसँग छलफल गरेका छन् । कांग्रेस-एमाले मिलेर सरकार बनाउने गृहकार्य अघि बढेसँगै अल्पमतमा परेका प्रचण्डले केही नेतालाई सिंहदरबार बोलाएर छलफल गरेका हुन् ।

आफूले सदनमा विश्वासको मत लिन लागेको जानकारी गराउँदै उनले सदनमा आफूमाथि अविश्वास आए त्यही अनुसार दृढतापूर्वक सामना गर्ने बताएको नेताहरुूले बताएका छन् । उक्त छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, रास्वपा सभापति रवि लामिछाने, जनमतका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ सहभागी थिए ।

छलफलपछि नेकपा एसका अध्यक्ष माधव नेपालले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा भएको बताए ।

उनले भने, ‘नयाँ गठबन्धनमा हामी जाँदैनौं । यसको कुनै पवित्र उद्देश्य छैन । देखाउने दाँत एउटा चपाउने अर्को भएकोजस्तो देखिएको छ । त्यसैले हामी यो सरकारले विश्वासको मत लिँदा साथ दिन्छौं ।’

यस्तै कांग्रेस र एमालेको गठबन्धनले मुलुकलाई पश्चमनतिर लाने खतरा देखिएको अर्का नेता खनालले बताए ।

प्रचण्डसँग भेटेपछि बाहिरिने क्रममा उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्छु भन्नुभएको छ । हामीले हाम्रो साथ छ भनेका छौं ।’

कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसदका दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने भन्दै असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत पत्र पठाइसकेका छन् ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेस एमाले मिल्दा १६७ सीट पुग्छ । बैठकमा सहभागी सबै दल मिल्दा पनि प्रचण्डले विश्वासको मत पाउने आधार छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर