तीन वर्षभित्र प्रदेश संरचनालाई जनता आकर्षित गर्न सक्ने बनाउँछौं : मुख्यमन्त्री कार्की – Nepal Press

तीन वर्षभित्र प्रदेश संरचनालाई जनता आकर्षित गर्न सक्ने बनाउँछौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको तीन वर्ष भित्रमा प्रदेश संरचनालाई जनता आकर्षित गर्न सक्ने खालको बनाउने बताएका छन् ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा शुक्रबार विराटनगरमा सम्पन्न महिला उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी तिन वर्षभित्रमा जनताले अनुभुति गर्ने खालको प्रदेश संरचना बनाउने बताएका हुन् ।

‘प्रदेश संरचना चाहिन्छ की चाहिदैन भनेर अहिले कतै सोध्यो वा बोल्यो भने ८० देखि ९० प्रतिशत जनताले चाहिदैन भनेर हात उठाउँछन्’, उनले भने, ‘प्रदेश सरकारकापनि केहि कमजोरीहरु छन् त्यसलाई सच्याएर अबको दुइ देखि तिन वर्षभित्रमा प्रदेश संरचना चाहिन्छ भन्ने बनाउनु मुख्यमन्त्री, मन्त्री, सांसदहरु र कर्मचारी सबैको दायित्व र चुनौती हो ।’

विभिन्न व्यक्तिहरुले अहिलेपनि संविधान संसोधन गर्नुपर्छ र प्रदेश हटाउनुपर्छ संघ र स्थानिय दुइ तह मात्रै राख्दा हुन्छ भनेर पैरवी गरिरहेको बताउँदै उनले अबका केही वर्षपछि प्रदेश सरकार चाहिन्छ कि चाहिदैन भनेर सोध्दा केन्द्र र स्थानीय जान्दैनौ प्रदेश चाहिन्छ भन्ने बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘अहिले स्थानिय तहले पनि प्रदेश चाहिन्छ भनिहाल्दैन र संघले पनि चाहिन्छ भनिहाल्दैन । संविधान कानुन अनुसार यसो बोली मिलाउने मात्रै हो’, उनले भने, ‘तर म दाबाका साथ भन्न सक्छु प्रदेश सरकारले जतिको भौतिक संरचनाको विकास न त स्थानिय तहले गरेको छ न त संघीय सरकारले नै ।’

साथै उनले प्रदेशमा संचालित उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न कानून तर्जुमा तथा नितिगत व्यवस्था गर्नुका साथै सरकारका तर्फबाट आवश्यक बजेटको समेत व्यवस्था गरी यी क्षेत्रहरुलाई अगाडी बढाउने बताए । स्थानीय कृषि उत्पादनमा आधारित लघु उद्योगहरुलाई प्रवर्द्धन गर्दै विश्वबजारीकरण गर्ने र यसको माध्यमबाट रोजगारको सिर्जना साथै विदेशी मुद्रा आर्जन गर्दै आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ प्रदेश सरकारले काम गरिरहेको उहाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले आगामी आर्थिक वर्ष देखि महिला उद्यमीहरुकालागि प्रविधि हस्तान्तरण कार्यक्रम राखिएको जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालयको मार्फतबाट महिलाहरुलाई प्रविधि हस्तान्तरणमा सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा कोशी प्रदेशमा रहेर उद्यम र उद्यमशिलताको क्षेत्रमा निरन्तर रुपमा योगदान गर्ने १४ जना महिला उद्यमीहरुलाई सम्मानित गरिएको थियो । १४ वटै जिल्लाबाट छनौट गरिएका उहाहरुलाई प्रदेश सरकारले प्रदान गर्ने प्रदेश उत्कृष्ट महिला उद्यमी तथा महिला लघु उद्यमी पुरस्कार २०८० बाट पुरस्कृत गरिएको हो ।

जसमा सोलुखुम्बुकी पासाङ ल्हामु तामाङ, मोरङकी स्वरसोती सुब्बा, सुनसरीकी निर्मला खतिवडा, उदयपुरकी हेमकुमारी सार्की, संखुवासभाकी मनकला राई, तेह्रथुमकी विमला केरुङ, ओखलढुंगाकी रामकुमारी बस्नेत, भोजपुरकी निर्मला श्रेष्ठ, पाँचथरकी लक्की सुजी, ताप्लुजुङकी सानु माया लिम्बु, धनकुटाकी डोर श्वरी राई, खोटाङकी उषा खत्री, इलामकी रमिला राई र झापाकी भुमिका देवी दाहाललाई पुरस्कृत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *