कुवेत पठाइदिने भन्दै भारत पुर्‍याइएका ६ महिलाको प्रहरीद्वारा उद्धार, पीडितले जाहेरी दिन मानेनन् – Nepal Press

कुवेत पठाइदिने भन्दै भारत पुर्‍याइएका ६ महिलाको प्रहरीद्वारा उद्धार, पीडितले जाहेरी दिन मानेनन्

रुपन्देही । कुवेत पठाइदिने प्रलोभनमा पारी भारत पुर्याइएका ६ जना नेपाली महिलाको उद्धार गरी शुक्रबार परिवारको जिम्मा लगाइएको छ ।

नेपाल-भारत सीमा नजिकै भारतको एक पसलमा ती महिलाहरुलाई राखिरहेको समयमा भारतीय प्रहरी एसएसबीको समन्वयमा सशस्त्र सीमा सुरक्षा कार्यालय भैरहवा रुपन्देहीको टोलीले विशेष सूचनाका आधारमा उद्दार गरेको हो ।

असार १८ गते उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएका उनीहरुलाई परामर्शपछि शुक्रबार आफन्तको जिम्मा लगाइएको छ ।

तर पीडित महिलाले नै समयमा जाहेरी दिन नमानेपछि यस्तो काम गर्ने दलालहरु पक्राउ गर्न समस्या भएको प्रशासनको भनाइ छ ।

‘पीडित महिलाले किटानी जाहेरी दिन मानेनन्, उनीहरुको नाम ठेगानाका आधारमा खोज्ने काम भएको छ, प्रहरीले यसबारेमा अनुसन्धान थालेको छ, आज परिवारको जिम्मेवारी लगाएर बुझाएका हौं’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने ।

अर्यालले उनीहरुलाई परिवारको जिम्मा लगाउँदै वैदेशिक रोजगारीमा जानुअघिका सबै प्रक्रियाका बारेमा जानकारी दिनुपर्ने, आफू कुन देश जाँदैछु, के कामका लागि जाँदैछु भन्ने कुरा बुझेर मात्र निर्णय लिनुपर्ने सुझाव दिएका थिए ।

खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाको जीवन जोखिममा पर्न सक्नेतर्फ प्रजिअ अर्यालले परामर्श दिँदै मानव वेचविखनका घटना न्युनीकरण र दोषीलाई कानुनी दायरामा ल्याउन पीडितहरुको प्रतिवद्धता अनिवार्य जनाएका छन् ।

खाडी मुलुकमा भिजिट भिसामा महिलालाई लैजाने र घरेलु कामदारका रुपमा उनीहरुलाई बेचिदिने जोखिम बढेपछि नेपाल सरकारले यसमा रोक लगाएको छ तर यसैको फाइदा उठाउँदै वैदेशिक रोजगारका दलालहरुले भारतको बाटो हुँदै अवैध रुपमा खाडी मुलुकसम्म पुराउने गरेका छन् ।

उद्धार गरिएका उनीहरुलाई पनि कुवेतमा मासिक ४० हजार तलब दिलाइदिने आशा देखाएर घरको काम लगाइदिने भन्दै दलालले काठमाडौका होटलमा एक महिनादेखि राखेर नवलपरासी हुँदै भारत पुर्‍याएका थिए ।

यसरी सीमाबाट नेपाली चेलीलाई अवैध बाटो हुँदै लैजाने यो पहिलो घटना भने होइन। नेपाली महिला तथा बालबालिका यसको उच्च जोजिममा छन् भन्ने जसलाई प्रहरीको तथ्यांकले पनि पुष्टि गर्छ ।

महिला सेलको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०।०८१ मा मात्र नेपाल भारत सीमा नाकाबाट ११९ जनाको यसअघि नै उद्धार गरिएको छ भने भारतका विभिन्न स्थानबाट ३० जनाको उद्धार गरिएको छ । जसमा महिला तथा बालबालिकाको संख्या बढी छ ।

रुपन्देही, रोल्पा, कपिलवस्तु, पर्वतलगायतका जिल्लाका ६ जना महिलाहरुलाई दलालले काठमाडौका होटलमा केही समय राखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुराएर फर्काएको उद्धार गरिएका ती महिलाले बताएका छन् । तर उनीहरुले त्रासका कारण दलालहरुका विषयमा थप बोल्न चाहेका छैनन् ।

‘काठमाडौं एयरपोर्टबाट फर्काएपछि तिमीहरुको भिसा भारतमा आउँछ उतैबाट जाने भन्दै भुमही नवलपरासी हुँदै भारत पुर्‍याइयो’, उद्धार गरिएकी रुपन्देहीकी विनिता (नाम परिवर्तन)ले भनिन् ।

वैदेशिक रोजगारीको नाममा भारतीय अवैध बाटो हुँदै नेपाली चेलीहरुलाई खाडीका विभिन्न मुलुकमा पुराउने प्रचलनलाई तोड्न रुपन्देही प्रहरी सक्रिय रुपमा लागेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौरले बताए ।

यस घटनाका विषयमा थप अनुसन्धान भइरहेकोले घटनामा सम्लग्न व्यतिm छिटै पक्राउ पर्ने एसपी राठौरले भने । घटना मानव वेचविखन व्यूरो काठमाडौंमा जानकारी गराउने र दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता उनले जनाए ।

क्रसबोर्डर सुरक्षा मिटिङ्गहरुमा मानव तस्करी न्यूनीकरणका विषयमा शुक्ष्म तरिकाले छलफल हुने सशस्त्र सीमा सुरक्षा बल २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले जानकारी दिए ।

‘आर्म पुलिस फोर्स सीमामा हुनसक्के मानव तस्करीका घटनामा धेरै संवेदनशील छ, शंका लागेको खण्डमा जहाँ जतिवेला पनि हामी सोधपुछ गर्छौं’, सशस्त्र प्रहरी उपरीक्षक थापाले भने ।

उद्धार गरिएका उनीहरु वैदेशिक रोजगारीका विषयमा अनविज्ञ रहेकोले उचित परामर्श र संरक्षण प्रदान गरिएको माइती नेपाल भैरहवा कार्यालयका प्रमुख माया केसीले बताइन् ।

उद्धार गरिएकी रुपन्देहीकी विनिता (नाम परिवर्तन)लाई महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था आशिष सामाजिक सेवा नेपालले निःशुल्क ६ महिने सिलाईकटाई तालिम दिने र आत्मनिर्भरका लागि जागिरसमेत मिलाइदिने जनाएको छ ।

संस्थाका लुम्बिनी प्रदेश संयोजक विजया खत्रीले यस्तो प्रतिवद्धता जनाएकी हुन् । यस्तै, अन्यलाई रुपन्देहीका संघसंस्थाले आत्मनिर्भरको लागि रोजगारीको पहल गरिदिने आश्वसन दिएका छन् । सीमा क्षेत्रबाट बालिका तथा महिलाहरु यसरी गलत धन्दामा पटक पटक लगिँदा पनि पीडितहरु भेटिनु तर यसको योजनाकार उम्कनुले थप आशंका बढाएको छ ।

रुपन्देहीका प्रजिअ अर्यालले यो विषयले थप चिन्ता थपेको बताउँदै पीडित महिलाहरुले नै सूचना लुकाउँदा समस्या भएको र यो विषयमा केही दिनमै थप प्रष्ट हुने बताउँदै गलत काम गर्नेलाई कानुनी कारबाहीमा ल्याएर सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर