बाढीपछि आएको पहिरोले लुम्बिनीका मुख्य सडक तथा सहायक सडक अवरुद्ध – Nepal Press

बाढीपछि आएको पहिरोले लुम्बिनीका मुख्य सडक तथा सहायक सडक अवरुद्ध

रुपन्देही । शुक्रबारदेखि परेका अविरल वर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याउनुका साथै अधिकांश मुख्य तथा सहायक सडकहरु अवरुद्ध भएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लुम्बिनीका मुख्य सडकहरु आंशिक अवरोध भएका छन् ।

सिद्धार्थ राजमार्गमा शनिबार बिहानैदेखि अवरुद्ध बुटवल पाल्पा सडक एकतर्फी सञ्चालनमा आएपनि धेरै स्थानमा गएको पहिरोले कतिबेला रोकिने टुंगो छैन । सिद्धबाबा क्षेत्रमा झरेको पहिरो पन्छाएपछि एकतर्फी बाटो सुचारु भएको छ भने पूर्ण रुपमा सञ्चालनका लागि पहिरो हटाउने काम भैरहेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी छ । उक्त सडकमा हाल आवागमन सुचारु रहेको छ ।
अविरल वर्षाका कारण आएको बाढीले सेवार खोलाको डाइभर्सन बगाएको छ । डाइभर्सन बगाए सँगै घोराही तुलसीपुर सडक अवरुद्ध भएको छ ।

अविरलरुपमा पानी परेको र खोलामा पानीको बहाब बढिरहेका कारण तत्काल मर्मत गर्न नसकिने जिल्ला प्रशानक कार्यलय दाङले जनाएको छ । डाईभर्सन नबन्दासम्म वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध गरेको छ ।लुम्बिनीका पहाडी जिल्लाहरुका विभिन्न भित्री सडकहरु पहिरोका कारण अवरुद्ध भएको ट्राफिक व्यवस्था कार्यालय बुटवलले जनाएको छ ।

निरन्तरको वर्षाले बाढी पहिरो आउने क्रम भइरहेका यात्रा गर्दा सुरक्षा र सचेतना अपनाउन आग्रह गरिएको छ । बिहानैदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक भने हाल सुचारु रहेको छ । यसैगरी गुल्मीको रिडी तम्घास सडक पहिरोले अवरुद्ध भई खुलाउने कार्य भैरहेको छ । पूर्वी रुकुमको मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ । रुकुमकोटदेखि बाग्लुङ, पोखरा हुँदै काठमाडौं जाने बाटो पहिरोले अवरुद्ध भएको हो ।

यसैगरी रुककोट र रुकम जोड्ने सडक पनि पहिरोले अवरुद्ध छ । सिस्ने गाउँपालिका ६ र भुमे गाउँपालिका १ मा गएको पहिरोले उक्त सडक दुई ठाउँमा अवरुद्ध भएको हो ।

दाङमा गएरातिदेखि परेको भिषण बर्षापछि आएको बाढी बस्तीमा पसेको छ । लगातार परिरहेको भिषण बर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका हुन् ।

राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरूवा र कालापानी र लमही नगरपालिका वडा नम्बर ८ धनपुरूवा गाउँमा राप्ती नदीको बाढी पसेको छ । गतवर्ष जस्तैः धनपुरूवा गाउँ डुबानमा परेको छ । लमही नगरपालिका, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको टोली धनपुरूवा गाउँमा उद्दारको लागि परिचालन हुन लागेको लमही नगरपालिका विपद् शाखा प्रमुख गायत्री थापाले जानकारी दिइन् । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ । सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।

लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेको छ । यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँको भवन पनि डुबानमा परेको छ । कार्यालयको सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएको छ । नदी तटीय क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ । बर्षाका कारण केही सडक अबरुद्ध बनेका छन् ।

लमही नगरपालिका९७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेका मध्य दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
राजपुर गाउँपालिका९२ का किसान दूध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए ।

नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए। राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादवलाई बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । यादवको खोजी कार्य जारी राखिएको छ ।

बाढीपछि तिनाउ, राप्ती, वाणगंगा नदी तथा अन्य सहायक खोलामा आएको बाढीले सर्तकता पार गरेकाले उच्च सर्तकता अपनाउन जल तथा मौसम विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर