खाली गाउँ खाली घर- के होला देशको अर्थतन्त्रमा असर ?
नेपालका पहाडी गाउँहरु रित्तिँदै गएको कुरा पछिल्ला समाचारहरु, गाउँको बीचमा बढ्दै गएका बाक्ला रुखहरु र पातलिँदै गएका घरहरु, अनि अझ पातलिँदै गएका मानिसको उपस्थितिले थाहा पाउन सकिन्छ । केही समाचारलाई विश्वास गर्ने हो भने पछिल्लो ५-६ वर्षमा नेपालका गाउँहरुबाट ५ लाखभन्दा बढी घर पूर्णतया खाली भैसकेका छन् । नेपालको परिवारको औसत संख्याले गुणन गर्ने हो भने २५ लाखभन्दा बढी मानिसले पछिल्लो समय गाउँ छोडेको देखिन्छ, तर त्यसमा भूकम्पमा सरकारको ३ लाख लिन चुलो छुट्याएर दशौं लाख ऋणको भार थपेर बनेका लगभग १ लाख घरलाई घटाउने हो भने पनि ४ लाख घर पछिल्लो समयमा रित्तिएको अनुमान गर्न सकिन्छ । यसरी घरहरु किन रित्तिए होलान् ?
गाउँ खाली हुनुका कारण
मानिस स्वभावैले असन्तोषी छ । त्यसैले ऊ जीवनमा परिवर्तन र सुख खोज्दै हिंड्छ, तर जसलाई हाम्रो समाजले भनौं वा राज्यले भनौं वा राजनीतिले भनौं, रोजगारी र गाँसबास नै दिन सकेन, यो ठाउँमा बाँच्नै मुस्किल छ भने त्यसले यो ठाउँ नछोडेर किन आत्महत्या गरोस् र ? मानव इतिहासलाई साक्षी राखेर भन्ने हो भने मानिसमात्र यस्तो एउटा प्राणी होला, जसले जीवन संघर्ष वा प्रगतिको लागि सबैभन्दा धेरै बसाइ सरेको होस् । हामी कहाँदेखि कहाँ गएनौं ? अफ्रिका-देखि अस्ट्रेलिया, अमेरिका, इन्डोनेसिया, एशिया । हामी कसरी विनाकुनै आधुनिक यातायातका साधन त्यति धेरै टाढा पुग्यौं होला ? खासमा मानिसको विकासको अन्तर्य नै बसाइसराइमा लुकेको छ । मानिस खाना र बासको खोजीमा अफ्रिकाबाट युरोप पुग्यो, अस्ट्रेलिया पुग्यो, अलास्का हुँदै अमेरिका पुग्यो, कहाँ कहाँ पुग्यो ? यसैले बसाइ र जीवन संघर्षको लागि विश्व चहार्ने हाम्रो ऐतिहासिक विशेषता हो, जुन हाम्रो जीनमा नै हजारौं वर्षदेखि छापिएर रहेको छ । यसैले यो बसाइसराइको क्रमलाई सामान्य नै मानौं ।
फेरि अनौठो त यो छ कि हाम्रो देशको बैंकिङ प्रणालीले हाम्रा युवालाई कि चिन्दैन कि त चिने पनि उनीहरुलाई पैसा दिन सक्दैन । भनिन्छ, बैंकले त्यसैलाई पैसा दिन्छ, जोसँग पहिल्यै पैसा छ । अथवा बैंक लेखासमा तिनीहरुलाई पैसा दिन सक्दैन, जसलाई पैसाको वास्तवमै जरुरत छ । गरिब युवासँग धितो राख्ने सम्पत्ति हुँदैन, पहाडको जग्गाको मूल्य छैन, शहरमा जग्गा हुने कुरै भएन गाउँका युवासँग ।
बैंकलाई डुब्न दिनुभएन नि भन्ने धेरै छन् यहाँ । बैंक डुब्यो भने देश नै डुब्छ अरे ! कसको देश डुब्ने हो, त्यो कुरा भने बुझ्न लायक छ । सायद नेताहरुको देश डुब्ने होला, सायद धनाढ्य, व्यापारी, पूँजीपतिहरुको देश डुब्ने होला, तर गरिब किसान र गरिब युवाको त देश पहिले नै डुबिसक्यो, उनीहरुको गुजारा चल्दैन यो देशमा । त्यसैले लागेका हुन् तातो भट्टीमा बाफिन खाडीतिर, तातो गोली खान रसियातिर, नाम्ले र बहादुर हुन् भारततिर, गुर्खा हुन् बेलायततिर आदि आदि ।
मानिस स्वभावैले असन्तोषी छ । त्यसैले ऊ जीवनमा परिवर्तन र सुख खोज्दै हिंड्छ, तर जसलाई हाम्रो समाजले भनौं वा राज्यले भनौं वा राजनीतिले भनौं, रोजगारी र गाँसबास नै दिन सकेन, यो ठाउँमा बाँच्नै मुस्किल छ भने त्यसले यो ठाउँ नछोडेर किन आत्महत्या गरोस् र ?
नेपालको आर्थिक क्षेत्रमा एउटा ठूलो जार्गन छ, ‘बैंकिङ डुब्यो भने अर्थतन्त्र डुब्छ, देश डुब्छ ।’ हो, बैंक डुब्यो भने देशको अर्थतन्त्र डुब्छ, सही नै हो, तर लगभग ८० प्रतिशतभन्दा बढी गरिब जनता भएको देशमा धनी र जमिनदारले मात्रै ऋण पाउने अवस्था भएको यो बैंकिङ प्रणालीमा बैंक डुबेर आमजनतालाई तात्विक फरक पर्ला र ? यदि विश्वभक्त दुलाल ‘आहुति’को कुरालाई राम्रोसँग विचार गर्ने हो भने नेपालमा राम्रो आइडिया भएको, कर्मठ युवाले व्यवसाय गर्न ऋण पाउनै सक्दैन, किसानले कृषि कर्म गर्न सजिलै ऋण पाउन सक्दैन, यहाँका आदिवासी, जनजाति महिला वा दलितले कुनै पनि काम गर्नुपर्यो भने ऋण प्राप्त गर्न सक्दैनन् । किनकि यो बैंकिङ प्रणालीले दलाल पूँजीपति वा अभिजात कुलीन वर्गलाई मात्र ऋण दिन्छ । किनकि बैंक आफैं दलाल पूँजीवादको हातमा छ ।
बैंक जनताको हो र राम्रो धितो पाइएन भने जनताको पैसा डुब्छ भनिन्छ । यहाँनेर जनताको पैसाको निकै पिर लिए जस्तो देखिन्छ । हो, जनताको पैसाको पिर बैंकलाई र उसका मतियारलाई पक्कै छ । किनकि आमजनताले बैंकमा पैसा राखेनन् भने दलाल पूँजीवादको घाँटी कसिन्छ । दलाल पूँजीवादमा पैसाका कारोबारहरू हुन्छन्, तर उत्पादनशील क्षेत्रमा पूँजीको प्रवाह हुन नसकी त्यसले रोजगारी वा वस्तु तथा सेवाको उत्पादन हुन दिँदैन । पूँजीको प्रयोग घरजग्गाको किनबेच, सुनचाँदीको ओसारपसार, शेयर कारोबार, हुण्डी जस्ता अनुत्पादक क्षेत्रमा मात्र हुन्छ, तर पैसा उठ्ने ग्यारन्टी धनी वर्गबाट हुन्छ भनिनु वा घरजग्गा हुनेले मात्र ग्यारेन्टी दिन सक्छन भन्नु एउटा हौवामात्रै हो । किनकि आजको दिनमा बैंकमा ऋण नतिर्नेहरुमा गरिबहरु १५ प्रतिशत पनि छैनन होला ।
अझ खराब ऋणको प्रतिशत हेर्ने हो भने ९० प्रतिशतको हाराहारीमा धनी र ठूलो धितो हुनेले चलाएको ऋण डुबेको छ भने त्यसमा धितोले ऋण खाम्ने अवस्था वा धितो बिक्री हुने अवस्था नभएको ऋण असाध्यै धेरै छ (कुनै बैंकको कर्मचारीसँग भएको अनौपचारिक कुराकानीमा आधारित) । यसमा राज्यका नियमनकारी निकायले आफ्ना मौद्रिक औजार र विभिन्न नीतिनियमबाट केहीमात्र पुँजी भए पनि तल्लो तहमा पुर्याउन खोजे जस्तो देखिन्छ, तर नीति जति राम्रो आए पनि राजनीतिक हस्तक्षेपको कारणले गर्दा ‘युवा स्वरोजगार कार्यक्रम’ जस्तैगरी धेरै जस्तो योजनाहरुले खास नतिजा निकाल्न सकेका छैनन् ।
बैंक डुब्यो भने देश नै डुब्छ अरे ! कसको देश डुब्ने हो, त्यो कुरा भने बुझ्न लायक छ । सायद नेताहरुको देश डुब्ने होला, सायद धनाढ्य, व्यापारी, पूँजीपतिहरुको देश डुब्ने होला, तर गरिब किसान र गरिब युवाको त देश पहिले नै डुबिसक्यो, उनीहरुको गुजारा चल्दैन यो देशमा ।
यति हुँदाहुँदै पनि कुनै युवा जोसँग काम गर्ने जोस छ र थोरै लगानी गर्न केही आर्थिक क्षमता पनि छ, उसले व्यवसाय गर्न मन बनायो भने कम्पनी रजिस्ट्रार, आन्तरिक राजस्व (प्यानको लागि), घरेलु कार्यालय, वडा कार्यालयलगायत सबै कार्यालयमा गरिन्छ उसको तेजोवध । दलालमार्फत नआए वा पैसा खर्च नगरी सबैसरकारी औपचारिकताका काम सकेर व्यवसाय शुरु गर्न मुस्किलमात्र होइन कि असम्भवप्रायः नै छ । एउटा व्यवसायी मन लिएर हिँडेको युवाको आधाआधी ऊर्जा त कम्पनी दर्ता नहुँदै मरिसक्छ । जबकि विदेशका सरकारी कार्यालयमा स्वागत र सहयोग गरेर, आर्थिक जोरजाम र व्यवस्थापकीय प्रशिक्षण दिएर, मेन्टरिङ गरेर युवालाई उद्यम गर्न उत्प्रेरित गरिन्छ । निश्चित समयसम्म कर तिर्न पनि छुट हुनसक्छ ।
चीनमा हरेक वर्ष २० वर्षको उमेर नटेक्दै लगभग १ लाख युवा उद्यम शुरु गर्छन् र ५ वर्षभित्रमा धेरैजसो करोडपति बन्छन्, अन्तर्राष्ट्रिय बजारमा पनि उनीहरुका वस्तुले सजिलै प्रवेश पाउँछन्, तर नेपालमा भने हरेक वर्ष बीस नटेक्दै लाखौं युवा खाडी मुलुक पुग्छन्, आफ्नो र परिवारको गुजारा चलाउने महत्वाकांक्षा लिएर । व्यवसाय गर्न नदिने, रोजगारी छैन, अनि देश नछोडेर भोकै मर्ने त ? जब युवाहरुको सपना खोसिन्छ, आशा मर्छ, तब देश उँधो लाग्न थाल्छ । अहिले बैंकिङ क्षेत्रको एउटा ठूलो ठाउको दुखाइ नै बैंकमा पैसा थुप्रनु, तर ऋण लिने मानिस फेला नपर्नु हो । पहिले नै जनतामा कुनै काम गर्ने पनि वातावरण नबनाइदिने र ऋणमा सक्दो कडाइ गर्ने, अब मुठ्ठीभरका मान्छेले मात्र पैसा चलाएर समग्र बैंकिङ नचल्ने रहेछ भन्ने महाज्ञान प्राप्त हुँदैमा जनताको गुमेको विश्वास कहाँबाट फर्किहाल्ला र ?
फेरि अनौठो त के भने हामी गरिब नेपालीलाई पनि गाउँगाउँसम्म, पहाड र हिमालका कुना-कन्दरासम्म पनि विदेश जान त उसै जुटिहाल्छ पैसा । पाखो-भित्तोले पनि ऋणको साक्षी बस्न पाउँछ, चाहे त्यो सहकारीकै किन नहोस । गाउँतिर भनाइ छ, ‘भिसा हातमा हुनेलाई भूतले पनि ऋण दिन्छ ।’ तर त्यही व्यक्तिले गाउँमै बसेर केही गर्न खोज्यो भने कहींकतै, कसैको कुनै खाले सहयोग नपाउनेमात्र होइन कि लाछी र निकम्मा समेतको पगरी गुथ्न पाउँछ, त्यहाँ बसेर सफल जीवन देख्न त सपनामा मात्रै । न स्थानीय सरकारले सहयोग गर्छ, न समाजले न त परिवारले नै । मन अमिलो बनाएर खाडी हानिनुभन्दा विकल्प के छ हाम्रा युवासँग ?
नेपाली गाउँहरुले जनशक्ति गुमाउँदै गएर कृषि कर्म गर्न नसक्दा र रुख-विरुवाको प्रकोप तीव्र बढ्दै जाँदा बाँदरबाट पनि निकै प्रताडना व्यहोर्नु परिराखेको छ । एक जना गाउँका भुक्तभोगी बासिन्दा भन्दै थिए, गाउँका चार शत्रु- बाँदर, भूइचालो, सहकारी र सरकार । सरकारले चाहिँ के गर्यो नि भन्दा सीधा उत्तर थियो- सरकारमा हुनेले भ्रष्टाचार नगरी काम गरिदिएको भए नेपालीले विदेशी मुलुकमा पुगेर मुटु फुट्ने गरी काम गरेर गुजारा गर्ने अवस्था नै आउँदैन थियो नि !
व्यवसाय गर्न नदिने, रोजगारी छैन, अनि देश नछोडेर भोकै मर्ने त ? जब युवाहरुको सपना खोसिन्छ, आशा मर्छ, तब देश उँधो लाग्न थाल्छ । अहिले बैंकिङ क्षेत्रको एउटा ठूलो ठाउको दुखाइ नै बैंकमा पैसा थुप्रनु, तर ऋण लिने मानिस फेला नपर्नु हो ।
रेमिट्यान्सले परिवारमा के कस्तो असर परेको छ ?
धेरै विद्वानहरुको चिन्ता छ, विप्रेषणले विकृति ल्यायो । पारिवारिक बिखण्डन ल्यायो, बच्चाहरुले अभिभावक गुमाउनुपर्यो । वास्तवमा त्यस्तै भएको छ त ? त्यसरी विकृति कति परिवारमा आएको होला र जीवन सहज भएको परिवार कति होलान् ? रेमिट्यान्सलेकति घर उजाडिए ? कतिले दुःख पाए ? कतिले सुख पाए ?
रेमिट्यान्सले सुख बढी दियो कि दुःख ? यस विषयमा कुनै ठोस अनुसन्धान भए झैँ त लाग्दैन, तर सरसर्ती गाउँका अवस्था हेर्ने हो भने खासमा धेरै घरपरिवारलाई त यो कुराले खुशी नै दिएको देखिन्छ । पहिला धनीले मात्र पढाउन सक्ने सदरमुकामका तुलनात्मक स्तरीय विद्यालयमा गरिबहरुले पनि आफ्ना बच्चालाई पढाउन पाएका छन्, परिवारले राम्रै लाउन-खान पाएका छन्, बुढाबुढी, बाउ-आमाले उपचार गर्न पाएका छन् । बीरअस्पताल वा शिक्षण अस्पतालमा गएर यसो बुझ्ने हो भने थाहा पाउन सकिन्छ कि कति धेरै आमा बाबाहरुले छोराले अरबबाट पठाएको पैसाले उपचार गरिराख्नु भएको भन्ने कुरा । होला कुनै कुनै परिवारमा केही हदसम्म विखण्डन वा विकृति पनि आएको होला, तर त्यस्ता घटना त नेपालमै बसेका परिवारमा पनि घटी राखेका हुन्छन नि !
यसैले युवा काम गर्न खाडी वा कुनै मुलुक जानुमा खराबीमात्र देख्नु मनासिब देखिँदैन, बरु काम नगरी नेपालमा बस्नुभन्दा धेरै राम्रो हो परिश्रम गरेर देशमा पूँजी भित्र्याउनु । अनि वास्तविक खराबी कतै छ भने मात्र एउटा कुरामा छ, त्यो हो युवाले आफ्नै मातृभूमिमा आफ्नै मानिसहरुको बीचमा बसेर काम गर्ने वातावरण वा अवसर कहिल्यै नबन्नु । कसरी सरकारमा भएका र राजनीतिमा भएका परिवारका सन्तानले यही देशमै आकर्षक अवसर र असामान्य कमाइ गर्न सक्छन्, तर कसरी जनताको दिन कहिल्यै बदलिँदैन भन्ने कुरा ठूलो अध्ययनको विषय बनाइनु पर्छ । नत्र डंकीमार्फत रुकुममा जस्तो गरी पूरै गाउँ नै खाली हुँदै जानलाग्यो भने त्यो निर्जीव भैसकेको गाउँलाई त कति घाटा पर्छ भन्न नसकिएला, तर नेतालाई भोट हालेर नेता बनाएर पठाउने जनताको भने पक्कै खाँचो पर्नेछ ।
युवा काम गर्न खाडी वा कुनै मुलुक जानुमा खराबीमात्र देख्नु मनासिब देखिँदैन, बरु काम नगरी नेपालमा बस्नुभन्दा धेरै राम्रो हो परिश्रम गरेर देशमा पूँजी भित्र्याउनु । अनि वास्तविक खराबी कतै छ भने मात्र एउटा कुरामा छ, त्यो हो युवाले आफ्नै मातृभूमिमा आफ्नै मानिसहरुको बीचमा बसेर काम गर्ने वातावरण वा अवसर कहिल्यै नबन्नु ।
समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?
अल्पकालीन असर पक्कै पनि राम्रो हुनेछैन किनकि कृषि प्रधान देश भनेर चिनिएको देश जहाँ अझै पनि बहुसंख्यक मानिसहरु कृषिकर्मबाट जीवन निर्वाह गर्छन्, त्यहाँ युवा जनशक्तिले गाउँ छोड्दै गएर जग्गा जमिन खाली वा बाँझो रहने अवस्था आउनु भनेको निकै दुःखलाग्दो कुरा हो, तर पूरै परिवारले नै गाउँ छोडेर शहरतिर वा तराईतिर वा विदेशतिर लागे भने त खाना खाने मुख पनि घट्छन् । यसले गर्दा ठूलो मात्रामा जग्गा खाली रहन गइ आधुनिक कृषि प्रणालीको ढोका पनि खुल्नसक्छ । जग्गाको खण्डीकरणलाई कृषि उपज कम हुनुमा र आधुनिक कृषि तकनिकी प्रयोग हुन नपाउनुमा मुख्य कारण मानिएको छ, तर भविष्यमा गएर धेरै जग्गा खाली रहन गएमा राज्यले हस्तक्षेप गरी जग्गा एकीकरण र आधुनिक कृषि प्रणाली र फार्मिङ शुरु गर्न सक्छ । त्यस्तै व्यवस्थित बसोबास गराइ मलिला जग्गाहरुमा आधुनिकीकरणसहितको खेती गर्न बाटो खुल्नसक्छ । वनजंगल वृद्धि र बायो-डाइभर्सिटीमा र वातावरणीय अवस्थामा अझ सुधार भइ पर्यटन विकास र जैविक अध्ययनको विश्व केन्द्र बन्नसक्छ नेपाल ।
पहिलेबाट नै गाउँ छाडेर शहर र विदेशको स्थायी बसोबास गरिरहेका विद्वानहरुले पो यसमा भयङ्कर दुर्घटना देखे कि ? जबकि आफू गाउँ छोडेर हिँडेकालाई तिमीहरुले चाहिँ गाउँमै बसिदिएर हाम्रो देशको (नभएको) इज्जत धानेर बसिदिनु पर्छ भन्ने कुनै अधिकार हुँदैन । त्यसैगरी निर्वाचन क्षेत्र खुम्चिँदै जाँदा र भोट खसाउने मानिस घट्दा नेतृत्व वर्गलाई पो यस कुराले टाउको दुःखाइ भयो कि ? हाम्रो परम्परागत पत्रकारिताले विषयवस्तुलाई आयामिक ढंगले केलाउन पो सकेन कि ? जे होस्, बस्नेको बारेमा सक्दो चिन्ता गरौं, जीवनस्तर सुधार गर्न प्रयास गरौं, तर हिंडेकालाई (अझ हिँडिसकेकाले) सम्झेर पिर नगरेकै राम्रो !
राज्यको समसामयिक, यथार्थ तर सम्बन्धित सरोकारवाला निकायले निकायको बहाना गरिरहेका हुँदा सम्बधितसम्म पुगोस्। आगामि दिनहरूमा पनि राज्यमा भइरहेका तर ब्यबहारमा लागू नभएका विषयमा कलम चलोस् ।