योगेशको दाबी: प्रचण्डको अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले सहकार्य (भिडिओ) – Nepal Press

योगेशको दाबी: प्रचण्डको अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले सहकार्य (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देखिएको निरन्तरको चरम अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेपछि कांग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले संविधान जारी भएको ८ वर्षभित्र प्रचण्डले ६ पटकभन्दा बढी यता र उता गर्दै सत्ताको खेलमा लिप्त रहेका कारण उनको स्वभाव बुझ्नै गाह्रो भएको बताए ।

भट्टराईले भने- ‘उहाँको स्वभाव नै यस्तो हो कि, बुझ्नै सकिएन । संविधान निर्माणपछि देशलाई स्थितिरमा लैजाने बेला एमालेलाई धोका दिएर कांग्रेसतिर लाग्नुभयो । फेरि कांग्रेस छाडेर एमालेतिर आउनुभयो । २०७९ को निर्वाचनमा एमालेविरुद्ध बनेको गठबन्धन लामै समय जान्छ भनेर हामी प्रतिक्षमा बस्न तयार थियौं । तर, उहाँ चुनावपछि फेरि कांग्रेस छाडेर एमालेतिर आउनुभयो । लामो समय लैजाने भनेरै शक्ति बाँडफाँटको सहमति भएकै थियो । तर दिनहरू बित्दै जाँदा प्रधानमन्त्रीले सहमति पालना नगरी फेरि कांग्रेसतिर जानुभयो । अब यो सरकार जाओस् भनेर हामी मिसन ग्रासरुट र मिसन ८४ मा लागेका बेला उहाँले फेरि हाम्रो सहयोग माग्नुभयो । पछिल्लोपटक हामीले साथ दिएर लो प्रोफाइल मन्त्रालय लिएर काम गर्न दिँदा पनि एमालेप्रति नै अविश्वास गर्न थाल्नुभयो । कांग्रेसलाई बोलाएर राष्ट्रिय सरकार बनाऊँ भन्ने प्रस्ताव पनि राख्नुभएछ । राष्ट्रिय सरकारको कुरा नाजायज होइन, तर आजको अवस्थामा राष्ट्रिय सरकारको नेतृत्व कसले गर्न सक्छ ? उहाँ नेतृत्वको सरकारले गर्न सक्दैन । हामीलाई यो पनि सूचना प्राप्त भयो कि, राष्ट्रिय सरकार भनेर उहाँले एमालेलाई सरकार बाहिर राख्ने मनसाय व्यक्त गर्नुभयो । हामीलाई सरकार बाहिर बस्न आपत्ति होइन तर उहाँको नियत ठीक नदेखिएकाले ठूला दल मिलेर राष्ट्रिय सहमति बनाउनुपर्ने भयो ।’

भट्टराईले विगतदेखि नै देशलाई अप्ठेरो परेका बेला एमाले र कांग्रेस मिलेर निकास दिने गरेको भन्दै यसपटक पनि प्रचण्डको चालबाजी शेरबहादुर देउवा र केपी शर्मा ओली मिलेर असफल बनाएको दाबी गरे । भट्टराईले अब कांग्रेस र एमालेबीचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताए । नेपाल सही बाटोमा जाँदैछ भन्ने विश्वास विश्व समुदायलाई दिनका लागि कांग्रेस र एमाले मिल्नुपरेको भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर