हुम्लाको सर्केगाडका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

हुम्लाको सर्केगाडका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार कृषि पशुपालन फर्ममा तारबार गर्ने नाममा सरकारी रकम हिनामिना गरेको आरोपमा हुम्लाको सर्केगाड गाउँपालिकाका रोकाया र जोशी धामीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले रोकाय र धामीसहित पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सव ओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य तथा उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरुद्ध १९ लाख ५० हजार रुपैया बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार तत्कालीन पालिका अध्यक्ष रोकाया र उपाध्यक्ष धामीविरुद्ध अख्तियारले कायम गरिएको बिगो जनही कायम गरी कैद र सजाय मागदावी गरेको छ ।

त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीबिरुद्ध एकमुष्ट बिगो कायम गरिएको छ भने उपभोक्ता समितिमा रहेकालाई मतियारका रुपमा प्रतिवादी बनाएर बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार पालिकाका तत्कालीन प्रमुख रोकायाले आफ्नै निजी जग्गामा ‘थारी कोइलिङ कृषि तथा पशु फर्म’ खोलेर आफैं प्रोपाइटर बनी फर्मको घेराबार गर्न भनी पालिकाबाट आब २०७६÷७७ र आब २०७७÷७८ मा त्यसको तारबार गर्न भनी सरकारी रकम खर्च गरेका थिए ।

सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा कोइलिङ कृषि तथा पशुपालन फर्मका प्रोप्राइटर कृष्ण रोकायाले आफैं आफ्नै फर्ममा बजेट विनियोजन गरेको आरोप पत्रमा उल्लेख रहेको छ ।

साथै, गाउँपालिका अध्यक्ष रहेकै समयमा रोकायाले निजी जग्गामा रहेको थारी कोइलिङ कृषि तथा पशुपालन फर्मको घेराबार निर्माणका लागि बजेट विनियोजन गरेको पाइएको आयोगले जनाएको छ ।

सोही फर्ममा ढुङ्गाको पर्खालबाट घेराबार गर्न उनले सहोदर दाजु हंश रोकायाको अध्यक्षतामा निर्माण समिति गठन गरेको आयोगले उल्लेख गरेको छ ।

साथै, उनले आफ्नै श्रीमती सेतु रोकायालाई कोषाध्यक्ष र सचिवमा तुलराज रोकाया रहेको उपभोक्ता समिति गठन गराई योजना सञ्चालन गरेको पाइएको आयोगले आरोप पत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *