वर्षाले कञ्चनपुर जलमग्न : १६ सय बढी विस्थापित, एक शिशुको मृत्यु – Nepal Press

वर्षाले कञ्चनपुर जलमग्न : १६ सय बढी विस्थापित, एक शिशुको मृत्यु

पुल भत्किँदा सडक अवरुद्ध

कैलाली। निरन्तर परेको अविरल वर्षाको कारण कञ्चनपुर जलमग्न भएको छ । यहाँका अधिकांश पालिका डुबानमा परेका छन् ।

अहिलेसम्म कञ्चनपुरमा ४६६ परिवारका १ हजार ६२२ विस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका बेलौरी नगरपालिका,पुनर्वास नगरपालिका लगायतका क्षेत्र भारी वर्षाका कारण डुबानमा परेका छन् ।

डुबानमा परेका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको प्रहरीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ। भारी वर्षाका कारण अझै बस्तीहरू डुबानमा पर्ने क्रम बढ्दै गएको डिएसपी जोशीले जानकारी दिए ।

लगातारको वर्षा पछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडा चोकमा बाढीले पुल भत्काएको छ। पुल भत्केपछि आइतबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ।

शिशुको मृत्यु

घर डुबानमा परेपछि जिल्लाकै कृष्णपुरका एक शिशुको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका– १ मोतीपुरका ७ महिनाका बालक सोलु धानुकको घरभित्र पानी पसेपछि मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु बेडबाट भुईँमा खसेको बताए ।

भुईँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको एसपी जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *