भोजपुरको हतुवागढी गाउँपालिकाले ल्यायो किसानलाई हल गोरु बाँड्ने कार्यक्रम – Nepal Press

भोजपुरको हतुवागढी गाउँपालिकाले ल्यायो किसानलाई हल गोरु बाँड्ने कार्यक्रम

भोजपुर । हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम ल्याएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहनस्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याइएको हो ।

पशुपन्छी तथा कृषि विकासका लागि ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा ९ हल गोरु बाँड्ने गाउँपालिकाको योजना छ । जसका लागि ३ लाख ६० हजार बजेट छुट्याइएको छ ।

किसानलाई ५० प्रतिशत अनुदानमा गोरु वितरण गरिने प्रशासकीय अधिकृत निरौलाले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै उनीहरुलाई आयआर्जनसँग जोड्न गाउँपालिकाले यो कार्यक्रम ल्याएको हो । पछिल्लो समय किसानमा गोरु पाल्ने चलन हराउँदै गएकाले यसको निरन्तरताको लागि समेत यो कार्यक्रमले टेवा पुग्ने बताइएको छ ।

किसानलाई कृषिमा लाग्न थप हौसला दिनको लागि योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । उनका अनुसार किसानलाई आयआर्जनमा जोड्न एक घर एक करेसाबारी, नर्सरी स्थापना, मौरीपालन, प्लाष्टिक पोखरी निर्माण कार्यक्रम, सुन्तला खेती विस्तारलगायत कार्यक्रम सञ्चालन भइरहेको राईको भनाइ छ । उनका अनुसार पालिकाले उत्कृष्ट किसान सम्मान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

किसानलाई लक्षित गरेर उन्नत जातको भैँसी वितरण, गोठ सुधारलगायतको कार्यक्रम पनि सञ्चालन भइरहेको राईले बताए । समथर भू-भागका किसान लक्षित गरेर हाते ट्याक्टरलगायतका आधुनिक उपकरण पनि पालिकाले बाँडिरहेको छ ।

-रासस


प्रतिक्रिया

One thought on “भोजपुरको हतुवागढी गाउँपालिकाले ल्यायो किसानलाई हल गोरु बाँड्ने कार्यक्रम

  1. बुटवल र कपिलबस्तु नपा मा थुप्रै गोरुहरु छन् नि।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *