एमाले सांसदहरूको एकस्वर- प्रधानमन्त्रीज्यू ! राजीनामा दिनुहोस् – Nepal Press

एमाले सांसदहरूको एकस्वर- प्रधानमन्त्रीज्यू ! राजीनामा दिनुहोस्

काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन् ।

सांसदहरूले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेका बताए ।

सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनः स्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको सांसदहरूको भनाई छ ।

बैठकमा बोल्दै नेकपा (एमाले) की सांसद विद्या भट्टराईले काम गर्न सक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरू भइरहेका भए पनि सरकार कानमा तेल हालेर बसेको बताए । उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरे ।

नेकपा (एमाले) का सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए । उनले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको बताए । बलियो सरकारले मात्रै प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरूको सामना गर्न सक्ने उनले बताए ।

नेकपा (एमाले) का सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार, राहत र पुनः स्थापनाको काम सरकारले अगाडि बढाउन नसकेको बताए । उनले प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको भन्दै अविलम्ब राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गरे ।

उनले निर्माण व्यवसायीलाई रोकिएको भुक्तानी समयमै दिन पनि सरकारलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर