अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ, दुई महिनामा २४ करोडको कारोबार – Nepal Press

अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ, दुई महिनामा २४ करोडको कारोबार

काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीका २४ वर्षीष नितेश हरिजन, २५ वर्षीय आकाश मिश्र, २७ वर्षीय प्रतीक बस्याल, २९ वर्षीय रामु गिरी, २२ वर्षीय अभिषेक जैसवाल र झापाका २९ वर्षीय सजल श्रेष्ठ छन् ।

उनीहरुले उल्फ ७७७ नामक क्यासिनो एपमार्फत बेटिङ गराएको प्रहरीको दाबी छ । पक्राउ परेका हरिजनले आफूले बेटिङमा पैसा हार्दै गएपछि एजेन्ट मोहितसेन ठकुरीले बैंक खाताहरु उपलब्ध गराए त्यसमा जम्मा हुने रकमको ०.७५ प्रतिशत कमिसन दिने र अन्य व्यक्तिको बैंक खाता दिए त्यसमा जम्मा हुने रकमको ०.५ प्रतिशत रकम कमिसन दिने बताएको बयान दिएका छन् ।

त्यसपछि विजय जैसवालमार्फत प्रतीक बस्याल, रामु गिरी र आकाश मिश्रसँग कुराकानी गरी उनीहरुको खाता बेटिङको रकम जम्मा गर्न प्रयोग गरेको बयान दिएका छन् । हरिजन रुपन्देहीस्थित महादेव इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक हुन् ।

यता पक्राउ परेका आकाश मिश्रले विजयले टाइगर प्यालेस रिसोर्टमा क्यासिनोको एउटा टेबल एक वर्षका लागि बुक गरेको भनेकाले धेरै आर्थिक कारोबार लुकाउन ०.२५ कमिसन दिने प्रलोभन देखाएर आफ्नो बैंक खाता प्रयोग गरेको बयान दिएका छन् ।

प्रहरीका अनुसार १२ दिनको फरकमा उनको खातामा मात्र करिब ७२ लाख रुपैयाँ कारोबार भएको पाइएको छ । बस्यालले भने कन्सल्टेन्सी व्यापारमा धेरै आर्थिक कारोबार हुने भएकाले कारोबार लुकाउन भन्दै विजयले आफूसँग ०.२५ प्रतिशत कमिसन दिने प्रलोभनमा बैंक खाता प्रयोग गरेको दाबी गरेका छन् । रामुले क्यासिनो टेलबको रकम जम्मा गर्न आफूलाई कमिसन दिने प्रलोभन दिएर विजयलगायतको समूहले बैंक खाता प्रयोग गरेको बयान दिएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका सजल यूएईमा रियल स्टेटको काम गर्छन् । त्यही क्रममा एक भारतीयले नेपाली बैंक खाता उपलब्ध गराउँदा मासिक ३० हजार रुपैयाँ प्रलोभन दिएकाले उनले आफ्ना बुबाको खाता उपलब्ध गराएको बयान दिएका छन् । प्रहरीका अनुसार ७६ दिनको अवधिमा सजलको बुबा दुर्गाको खातामा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दुर्गासहित ९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *