सरकार नछाड्दै रास्वपाका मन्त्रीहरुले किन छाडे क्वार्टर ? – Nepal Press

सरकार नछाड्दै रास्वपाका मन्त्रीहरुले किन छाडे क्वार्टर ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी भएका चार मन्त्री चार महिनामै बहिगर्मनको मुखमा पुगेका छन् । गठबन्धन परिवर्तनसँगै उनीहरु सरकारबाट बाहिरिने लगभग निश्चित भइसकेको छ ।

रास्वपाबाट सभापति रवि लामिछानेसहित डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ सरकारमा छन् । एमालेले प्रचण्डको साथ छाडेर कांग्रेससँग हात मिलाएपछि माओवादीसँगै रास्वपा प्रतिपक्षमा धकेलिने भएको हो ।

रास्वपाका मन्त्रीहरुले राजीनामा दिइसकेका भने छैनन् । केही दिनअघि चारैजना मन्त्रीले प्रधानमन्त्रीसँग संयुक्त भेट गरेका थिए । उक्त भेटमा प्रधानमन्त्रीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संसद फेस गर्ने जानकारी गराए र रास्वपालाई पनि राजीनामा दिन हतार नगर्न सुझाव दिए । प्रधानमन्त्रीको आग्रहलाई स्वीकार गर्दै रास्वपा मन्त्रीहरु रोकिएका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई चाँडो विश्वासको मत माग्ने प्रक्रियामा जान सुझाव दिएर फर्किएका थिए ।

राजीनामा नदिए पनि चारै जना मन्त्रीले सरकारी क्वाटर छोडेका छन् । गृहमन्त्री रवि लामिछाने र उपसभापति डीपी अर्यालले गत १८ असारमै क्वाटर छोडेका थिए । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज छोडेका हुन् । उनले आफू चढेको गाडी र गार्डहरु पनि फिर्ता गरेका छन् । शिक्षामन्त्री श्रेष्ठले पनि क्वाटर छोडेको बुझिएको छ । मन्त्री पद खुस्केर पनि क्वाटर र सुविधाहरु त्याग्न ढिलासुस्ती गर्ने परम्परालाई रास्वपा मन्त्रीहरुले चिरेका हुन् ।

श्रममन्त्री अर्यालले सरकारमा नरहने निश्चित भइसकेपछि सरकारी क्वाटर प्रयोग गर्न छोडेको बताए । उनले मन्त्रीको हिसाबले जिम्मेवारी भने निभाइरहेको जानकारी दिए ।

‘हामी काम गर्न गएका थियौं, सुविधा उपभोग गर्नलाई होइन’, उनले भने, ‘मन्त्री पदमा हुञ्जेल काम गरिन्छ, काम गर्नलाई क्वाटरले रोक्दैन ।’

मन्त्री अर्याल आज दिनभरि वैदेशिक रोजगार विभागमा व्यस्त थिए । श्रमिकमाथि ठगीका विषयमा छलफल गर्न उनी त्यहाँ पुगेका हुन् ।

खेलकुदमन्त्री श्रेष्ठले भने मन्त्रालयका अत्यावश्यक काममात्रै गरिरहेका छन् । नेपालमा गठबन्धन फेरिँदा मन्त्री श्रेष्ठ कोरियामा थिए । उनी नेपाल नफर्किँदै भूतपूर्व हुनसक्ने खतरा बढेको थियो, तर प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएपछि श्रेष्ठ मन्त्रीकै हैसियतमा फर्किए । उनी शुक्रबार फर्किने कार्यक्रम भए पनि भ्रमण छोट्याएर बुधबार आएका हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै श्रेष्ठले सबै प्रक्रिया मिलाएर विधिवत रुपमा क्वाटरबाट बाहिरिएको बताए ।

उनले भने, ‘सरकारमा हुँदाको राजनीति र संसदीय राजनीति फरक हुन्छ । सरकारमा हामी सुशासनका लागि गएको हो । अब गठबन्धन फेरबदल भइसकेपछि हामी सरकारमा रहिराख्ने स्थिति रहेन । क्वाटरमा दुई-चार दिन बसाइ लम्ब्याएर के नै हुने हो र ?’

मन्त्री श्रेष्ठ गत शुक्रबारदेखि मन्त्रालय पनि गएका छैनन् । कोरिया जानुभन्दा अगाडि थालेका केही कामलाई के गर्ने भनेर छलफल गरिरहेको उनले बताए ।

गृहमन्त्री लामिछाने भने मन्त्रालयको काममा व्यस्त नै छन् । देशभर बाढी र पहिरोको प्रकोप सुरु भएपछि शनिबार गृहमन्त्रीले आपतकालीन बैठक राखेका थिए । यस्तै उनले हिजो प्रधानमन्त्रीलाई प्राकृतिक प्रकोपबारे बिफ्रिङ गरेका छन् ।


प्रतिक्रिया

3 thoughts on “सरकार नछाड्दै रास्वपाका मन्त्रीहरुले किन छाडे क्वार्टर ?

  1. रास्वपाले राम्रै गरिरहेको देखिन्छ ।

    1. राम्रै हाेला नि त भनेर भाेट हाल्या हाे । रविलकै कारण संसदले जति बिजनेश पाउनु पर्ने हाे पाएन । अलिक समय च ल्ने हिउंदे अधिवेशन छानविनकै कुरा लिएर हत्त पत्त अधिबेशन अन्त्य गर्न हताराे भाे । प्रतिपक्षमा बसेर सरकारलाई खवरदारी गर्ने गरेकाे भए ०८४मा बहुमतकाे सरकार पक्कै हुन्थ्याे । ०४८ सालमा ९ सिटकाे जनमाेर्चा ०५१काे चुनावमा ० भए जस्तै हुने हाे कि भन्ने धेरैकाे जनमतले आशामा तुषारापात भएकाे छ ।

  2. रास्वपा नै देश विकास गर्ने एक मात्र पार्टी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर