प्रचण्डले ‘जादुयी’ अंक भन्दै कांग्रेस-एमालेलाई तर्साउँदा प्रतिपक्षमा हुत्तिएको माओवादी – Nepal Press

प्रचण्डले ‘जादुयी’ अंक भन्दै कांग्रेस-एमालेलाई तर्साउँदा प्रतिपक्षमा हुत्तिएको माओवादी

राम कार्की भन्छन्- माओवादीले अब सत्ताको खेल छाड्नुपर्छ, कार्यशैली सुधारेर जनतामा जानुको विकल्प छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ३२ सीटको जादुयी नम्बरले काम गर्न छाडेपछि पार्टी प्रतिपक्षमा बस्ने निश्चितप्रायः भएको छ । प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

स्पष्ट अल्पमतमा हुँदा पनि प्रधानमन्त्री प्रचण्ड सहजै सत्ता नछाडेर सदनबाट विश्वासको मत लिएर अघि बढ्दैछन् । कांग्रेस र एमालेले राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न पटकपटक आग्रह गर्दा पनि प्रचण्ड सहजै सरकार छाड्ने मूडमा छैनन् ।

उनलाई अहिले रास्वपा र नेकपा एकीकृत समाजवादीको मात्रै साथ छ । कांग्रेस-एमाले मिलनपछि सबै साना दल नयाँ गठबन्धनको पक्षमा उभिएका छन् । प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत नपाएपछि माओवादी प्रतिपक्षमा पुग्नेमा दुईमत छैन ।

प्रधानमन्त्री प्रचण्डले आफूसँग जादुयी नम्बर रहेको भन्दै असार ८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै तरिका मिले पाँचै वर्ष प्रधानमन्त्री बन्ने बताएका थिए । एमालेका अध्यक्ष ओलीसँग तीव्र मतभेदका बीच प्रचण्डले इतिहास, मुद्दा, आन्दोलन र जादुयी नम्बर (संसदको अंकगणित)का कारण माओवादीलाई हटाउन सम्भव नभएको उनको बुझाइ थियो ।

प्रचण्डबाट धोखा पाएर विपक्षमा थन्किएको कांग्रेस र प्रचण्डबाट पूर्ण विश्वस्त नभएको एमालेको मिलनपछि माओवादी करिब ९ वर्षपछि प्रतिपक्षमा धकेलिने भएको छ ।

‘थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन । मैले जे देखेको छु, सबै परिस्थिति, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। हामीलाई हटाउन सजिलो छैन’, प्रचण्डको बुझाइ थियो ।

एमालेसँगको सहकार्यका साथै भारतबाट फर्केपछि प्रचण्डले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव राखेकै कारणले आफूहरुले नयाँ चाल चाल्न परेको नेताहरुको दाबी छ । त्यसो त कांग्रेस र एमालेको सहकार्यबारे निरन्तर बहस चल्दै आएको थियो ।

प्रचण्डले कहिले कांग्रेस, कहिले एमालेलाई धोखा दिएको भन्दै कांग्रेस नेताहरुले धोखा पाएकाहरु एकै ठाउँमा भए भने तपाईंको के हुन्छ भनेर निरन्तर चेतावनी दिँदै आएका थिए ।

यो कुरा सदनमा उठेपछि फागुन ३० गते प्रचण्डले भनेका थिए, ‘ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ भनेर अहिले पनि भनिएको छ । विगतमा पनि भनिएको थियो । मेरो त कामना छ, तपाईंहरू मिल्नुस् ।’

उनले कांग्रेस-एमाले एकै ठाउँमा उभिए माओवादी प्रमुख प्रतिपक्षमा बसेर राष्ट्र, जनता, संविधान र राष्ट्रियताको पक्षमा बसेर लडिरहने उल्लेख गर्दै भनेका थिए, ‘तपाईंलाई लागेको छ, प्रचण्ड डराउँछ त्यसो भनेर । हिजो त तपाईंहरू सबै मिलेर टाउकै काट्न खोजेको हो नि त ! डराउँछ माओवादी केन्द्र भन्ठान्नुभा छ ? त्यस्तो हुँदैन । सक्नुहुन्छ भने मिल्नुस् ।’

यो परिस्थिति अहिले प्रचण्डले सामना गर्न परिरहेको छ, तर प्रचण्ड नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेको र अब आफूले विश्वासको मत लिएपछि ३ मा जानुपर्ने माओवादीका नेताहरुको अडान छ । कांग्रेस-एमालेबीच २ अनुसार नै एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिमा हस्ताक्षर भइसकेको छ । प्रचण्डको जादुयी अंकले काम गर्न छाडेपछि संघमा मात्रै होइन, सबै प्रदेश सरकारबाट माओवादीले हात धुन परेको छ ।

यद्यपि, ३ मा जाँदा देउवा प्रधानमन्त्री हुने र सहमति भाँडेर फेरि सत्ताको खेलमा लाग्नसक्ने माओवादीको दाउ छ । नयाँ सरकार गठन अब राष्ट्रपतिको हातमा भएकाले प्रचण्डको यो प्रयास सफल हुने सम्भावना देखिएको छैन ।

माओवादी केन्द्रका सचिव राम कार्की अब सत्ताको खेलबाट पार्टी बाहिर आउनुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘कांग्रेस-एमाले एकै खालका पखेटा भएका चरा हुन्, सँगै उड्न खोजेका छन् । अब हामीले आफ्नो मूल एजेण्डा र वर्गतिर जानुपर्छ । अब सत्ताको खेलोमा लाग्न हुँदैन । आफ्नो वर्गको राजनीतिलाई लिएर अघि बढ्नुपर्छ ।’

सरकारको नेतृत्व गरिरहेका प्रचण्डले आफ्नो पार्टीसँग जादुयी अंक छ भन्नु संसदीय राजनीतिमा स्वाभाविक भएको उनको तर्क छ । उनले थपे, ‘विरोधीले जे चाहन्छ, त्यसको उल्टो गर्नु स्वाभाविक हो । हिजो संसदले सरकार बनाएपछि आफ्नो कुरा राखेर हट्ने ठीक हुन्छ ।’

नेता कार्कीले माओवादी नेतृत्वले अब कार्यशैली सुधारेर आफ्नो पुरानो मुद्दा लिएर जनतामा फर्किनुको विकल्प नभएको बताए ।

उनले भने, ‘सुनमा पित्तल अरु धातुहरु मिसियो भने आगोमै जानुपर्छ, त्यसैले माओवादीलाई जुन वर्गले उठाएर केन्द्रको राजनीतिमा ल्यायो, प्रतिबद्ध भएर त्यही जानुपर्छ । माओवादीले मजदुर, किसान, सुकुमबासीको मुद्दालाई महत्व दिन सकेको छैन । त्यतातिर ध्यान जानुपर्छ ।’

उनले प्रचण्डसहित पार्टीका सबैले कार्यशैली सुधारेर प्रतिपक्षमा बसेर पार्टी निर्माण गर्नुपर्ने बताए ।

अर्का सचिव दिनानाथ शर्मा पनि माओवादी अब सशक्त प्रतिपक्ष भएर बस्ने जिकिर गर्छन् । उनी भन्छन्, ‘हामीले उहाँहरु मिलेको भए हामी प्रतिपक्ष भएर बस्छौं भनेकै थियौं । अब हामीले यसलाई सदुपयोग गरेर अघि बढ्नुपर्छ ।’

अर्का नेता रामप्रसाद सापकोटा दीपशिखा पनि माओवादीहरूलाई पछिल्लो घटनाक्रम जबरजस्त प्राप्त भएको चुनौतीपूर्ण अवसर भएको विश्लेषण गर्छन् ।

उनले भने, ‘यो अवसरलाई नयाँ आधारमा नयाँ एकतासहितको पार्टी निर्माणमा बदलौं, कसले के गर्‍यो र के गर्दैछ भन्नेमा समय खेर फाल्नुको सट्टा हामी के गर्ने भन्नेतिर लाग्नुपर्छ ।’

उनले अहिले माओवादीले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने अवसर पाएको बताए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म १४ वटा सरकार बने, तर तीमध्ये चार वटा सरकारको नेतृत्व आफैंले गरेको छ भने ११ वटा सरकारमा सहभागी भएको छ । माओवादीबाट प्रचण्डले तीन पटक सत्ताको बागडोर सम्हाल्दा डा. बाबुराम भट्टराईले एक पटक अवसर पाए । तर, अहिले बाबुराम अलग बाटोमा छन् । माओवादीमा हुँदा अवसर पाएकाहरू धेरैले अहिले पार्टी छाडिसकेका छन् । प्रचण्डले पूर्वमाओवादी घटकलाई एकै ठाउँमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेको छैन ।

अहिले कांग्रेस-एमालेको मिलनपछि माओवादी चौथो पटक प्रतिपक्षमा बस्दैछ । आफू सत्ता बाहिर जाने निश्चित भएपछि माओवादीले दुई ठूला दल मिलेर देशलाई पश्चगमनतिर लान खोजेको निष्कर्ष निकालेको छ । पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्ने सांसद माधव सापकोटाले बताए ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘धर्म निरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता हो । यो सुन्दरताविपरीत गएर संविधान संशोधन हुन सक्दैन । पश्चगामी सोचाइका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए संसद र सडकबाट सशक्त प्रतिवाद गर्छौं ।’

प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिन लागेको उनको भनाइ छ ।

२०६४ सालको संविधानसभा निर्वाचनबाट पहिलो शक्तिको रूपमा उदाएको माओवादी सधैं सत्ताकै वरिपरि रहेर अहिले तेस्रोमा खुम्चिएको छ । सत्ता केन्द्रित भएको माओवादीलाई आगामी निर्वाचनमा एक्लै चुनावमा जानसमेत चुनौतीपूर्ण देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर