‘मोदीबेनी’को गीत ‘मञ्जुरी’ सार्वजनिक, रोमान्टिक देखिए वर्षा र अमर – Nepal Press

‘मोदीबेनी’को गीत ‘मञ्जुरी’ सार्वजनिक, रोमान्टिक देखिए वर्षा र अमर

काठमाडौं । साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मञ्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

‘मोदीबेनी’को एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरणदेखिको यात्रालाई चर्चा गरेको छ । एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् । राम अविरल बिस्टले शब्द रचना गरेका छन् । सङ्गीत निर्माता भने रिकेश गुरुङ हुन् ।

अभिनेत्री वर्षा सिवाकोटी र नवअभिनेता अमरप्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बने । सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा सुन्दर अभिनय गरेका छन् । गीतलाई उत्सव दाहालले छायांकन र भरत रेग्मीले सम्पादन गरेका छन्।

कार्यक्रममा नवअभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामै सशक्त टीमसँग काम गर्न पाउँदा खुसी लागेको बताए ।

अमरले भने, ‘पहिलो फिल्ममै किरण थापा जस्तो कोरियोग्राफर र वर्षा सिवाकोटी जस्तो अनुभवी नायिका पाउनु मेरो अहोभाग्य हो ।’

अभिनेत्री सिवाकोटीले चलचित्र सुन्दर बनेको बताइन् । आफ्नो जोडीको रूपमा यस चलचित्रमा देखिने कलाकार अमरको कामको उनले तारिफ गरिन् ।

वर्षाले यस चलचित्रबाट आफूले निकै आशा बोकेको बताइन् । चलचित्रको बारेमा बोल्दै उनले भनिन्, ‘चलचित्रले हाम्रै कथा भन्छ र यसमा विश्वासै नलाग्ने सामाजिक घटना देख्न सकिनेछ।’

त्यस्तै अभिनेता सरोज खनालले बिहानीले दिनको अवस्था दर्साउँछ भने जस्तै यो गीतले चलचित्रको भविष्य देखाएको प्रतिक्रिया दिए ।

शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रका निर्माता दिलीप केसी र हरि श्रेष्ठ, डीओपी उत्सव दाहाल हुन् । चलचित्रमा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउँवाला गौतम, स्नेहा भट्टराईलगायतको पनि अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको यथार्थ घटना पस्किन्छ । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *