दुई ध्रुवीय प्रणालीको शंकरपथमा नेपाली राजनीति
राजनीतिको दुई प्रमुख आधार छन् विचार र संगठन । अझ त्यसमा पनि विचारको विशेष महत्व रहन्छ किनकि विचारकै जगमा संगठन निर्माण हुने हो । अनि संगठनले विचारलाई समुदायमा फैलाउने हो । तसर्थ राजनीति विचारमा आधारित हुनुपर्छ । विचारविना सुन्दा रमाइलो लाग्ने एजेण्डामा आधारित पनि राजनीति गरिन्छ नि भनेर पपुलिजमबाट उदाएकाहरुको भविष्य त्यति सुखद रहेको पाइँदैन । तिनीहरु खहरे जस्तो गडगडाउन त बेस्सरी गड्गडाउँछन्, तर केही समयमै शान्त भएर जान्छन् । बीपी कोइरालाले लोकतान्त्रिक समाजवादका माध्यमबाट नेपाली कांग्रेसको जग हाले । जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गरे र जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने एमाले आज बलियो राजनीतिक शक्तिका रुपमा नेपाली राजनीतिमा स्थापित छ, तर अरु धेरै राजनीतिक दलहरु भने केही समयका लागि आए, छोटो समयमा हराउँदै गए ।
२०७२ को संविधान जारी भएपश्चात् नेपाल अहिले संविधान कार्यान्वयनको संक्रमणकालीन अवस्थामा छ । २०७४ मा पहिलो आमनिर्वाचनपश्चात् कार्यान्वयनमा गएको यस संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध पहिलो दिनदेखि नै प्रहार हुन सुरु भएकै हो । गुमेको साख फर्काउन सकिन्छ कि भनेर या आफ्नो अस्तित्व खोज्न शक्तिच्युत तत्वहरु सक्रिय हुनु व्यवस्था परिवर्तनपश्चात् सामान्य विषय हो । लोकतान्त्रिक व्यवस्था परिवर्तनमा यो संसारभरि नै देखिएकै छ । फ्रान्सको क्रान्तिपश्चात् पनि लोकतन्त्र संस्थागत हुन दशकौं लागेकै हो । भारतमै पनि सन् १९९६ को चुनावपश्चात् अस्थिर सरकार बनेकै हो । अटलबिहारी बाजपेयीले ११ दिनमै सरकार छोड्न परेको धेरै समय भएको छैन ।
लोकतन्त्रको सुन्दर पक्ष के हो भने यसले समाजको चाहनालाई सम्बोधन गर्दै एउटा सिस्टमको निर्माण गर्छ, जुन बन्न समय लागे पनि बलियो जगमा अडिएको हुन्छ । त्यसैले लोकतन्त्रमा चाँडो नतिजा नआए पनि आएका नतिजा दिगो हुन्छ । भारतमै हेर्ने हो भने संविधानको लामो अभ्यासपछि आज गठबन्धनले बहुमत ल्याउँदा पार्टीहरु गठबन्धनप्रति इमानदार छन् । लोकतन्त्रको लामो र सफल अभ्यास भएका देशहरुमा राजनीति दुई दलीय या दुई ध्रुवमा गएको देखिन्छ । त्यसले एक किसिमको स्थिरता ल्याउने गर्छ । अस्थिर राजनीतिले लोकतन्त्र पनि स्थिर हुन सक्दैन । अमेरिकामा पनि अहिले डेमोक्र्याट र रिपब्लिकन छन्, लोकतन्त्रको जननी मानिने बेलायतमा पनि कन्जर्भेटिभ र लेवर पार्टी नै मुख्य पार्टी रहँदै आएका छन् । भारतमै हेर्ने हो भने गठबन्धनको संस्कृति रहे पनि त्यहाँ मुख्य रुपमा कांग्रेस र बीजेपी नेतृत्वकै स्वीकार्यता छ ।
लोकतन्त्रको सुन्दर पक्ष के हो भने यसले समाजको चाहनालाई सम्बोधन गर्दै एउटा सिस्टमको निर्माण गर्छ, जुन बन्न समय लागे पनि बलियो जगमा अडिएको हुन्छ । त्यसैले लोकतन्त्रमा चाँडो नतिजा नआए पनि आएका नतिजा दिगो हुन्छ ।
नेपालको पूर्ण लोकतन्त्रको चाहना २०७२ को संविधान जारी भएपश्चात् मात्र सुरु भएको हो । त्यसपश्चात् जुन किसिमको अस्थिरता सरकार निर्माणमा देखिएको छ, त्यसले देशको आर्थिक उन्नतिमा सहज वातावरण बनाउँदैन । बाहिरी लगानीमात्र होइन, देशमै पनि नागरिकमा एक किसिमको निराशा सृजना गर्छ । २०७४ को निर्वाचनको नतिजासँगै देशमा एक किसिमको आशा जागेको थियो । आर्थिक सूचकांकहरुले पनि देशको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको देखाउँथ्यो । देशमा ठूल्ठूला आयोजना सुरु भएका थिए । भूकम्पपछिको पुनर्निर्माणले पनि राम्रै गति लियो । कोरोनाको विश्वव्यापी महामारीमा पनि जनतामा निराशा थिएन । बलियो सरकारप्रति जनताको विश्वास हुने भयो । भूराजनीतिक चलखेल पनि घट्दै गएको थियो । देश अघोषित रुपमा दुई ध्रुवमा बाँडिएको थियो । समाजवादी र नव-उदारवादी । एमालेले समाजवादी धारको नेतृत्व गर्थ्यो भने कांग्रेसले नव-उदारवादी धारको । जनतामा अब स्थिरता आउँछ भन्ने विश्वास बढ्दै गएको थियो, तर नेकपाको फुटसँगै नेपाली राजनीतिले फेरि पनि अस्थिरताको सामना गर्नुप¥यो ।
२०७९ सालको चुनावपछि त झन् तेस्रो र चौथो शक्तिहरु सत्ता लिप्सामा यसरी रुमल्लिए कि पहिलो र दोस्रो दललाई पालैपालो अल्मलाइरहे । राष्ट्रिय पार्टीसम्म नभएको एकीकृत समाजवादी पनि आफूलाई ठूला दुई दलभन्दा के कम भन्ने अवस्थामा पुग्यो, तर यही बीचमा एमालेका महासचिव शंकर पोखरेल एकोहोरो रटान गरिरहे राजनीतिक स्थिरताका लागि देश दुई ध्रुवीय राजनीतिमा जानुपर्छ । जनताले पनि यस विचारलाई उपनिर्वाचनका माध्यमबाट करिब करिब अनुमोदन गरेका छन्, तर त्यसको माहोल मिलाउन कांग्रेस र एमालेमा एक किसिमको समझदारी आवश्यक थियो, जुन असार १७ गते मध्यरातमा सम्भव भयो ।
महासचिव शंकर पोखरेलको दुई ध्रुवीय राजनीतिको बहसले नेपालको आउँदो राजनीतिक कार्यदिशा कोर्ने निश्चित प्रायः छ । वैचारिक रुपले केही समयदेखि उहाँले उठाउँदै आएको यस बहसले कांग्रेससँगको समझदारीसँगै व्यवहारिक सार्थकता पाउने देखिन्छ । राजनीतिक स्थिरताको अभावमा नेपालमा आन्तरिक हिसाबले कहिले जातीय त कहिले धार्मिक द्वन्द्व फैलाउने प्रयास भए । यो सबमा फरक फरक शक्तिहरुको फरक फरक स्वार्थ देखिन्छन् । कुनै शक्तिलाई लाग्दो हो, नेपाललाई ‘कन्ट्रोल्ड इन्स्टेबिलिटी’ अर्थात् नियन्त्रित अस्थिरतामा राख्दा आफ्नो स्वार्थपूर्ति हुन्छ । कुनै शक्तिलाई देशभित्रको अराजकता र अस्थिरताको जगमा पुरानो व्यवस्थामा फर्किनु छ । कसैलाई भने यस्तै गतिरोधमा आफ्नो राजनीतिक भविष्य खोज्नु छ । यस्तै अलमलमा कतिलाई आफ्नो संगठन निर्माण गर्नु छ, तर यो सबै स्वार्थका बीच नेपालको स्वार्थ कसैले ख्याल गरेका छैनन् । नेपालको पहिलो स्वार्थ भनेकै राजनीतिक स्थिरता हो र त्यसको लागि देशमा बलिया राजनीतिक शक्ति आवश्यक पर्छन् ।
एमालेका महासचिव शंकर पोखरेल एकोहोरो रटान गरिरहे राजनीतिक स्थिरताका लागि देश दुई ध्रुवीय राजनीतिमा जानुपर्छ । जनताले पनि यस विचारलाई उपनिर्वाचनका माध्यमबाट करिब करिब अनुमोदन गरेका छन्, तर त्यसको माहोल मिलाउन कांग्रेस र एमालेमा एक किसिमको समझदारी आवश्यक थियो, जुन असार १७ गते मध्यरातमा सम्भव भयो ।
एमाले महासचिव शंकर पोखरेलका कुरा कतिपयलाई मन नपरेको हुनुपर्छ, तर कसैलाई मन परेन भन्दैमा सत्य र तथ्य लुक्दैन । धेरै ससाना टुक्रेहरुलाई खुसी बनाउने नाममा समानुपातिक प्रणाली राखेर पनि ३ प्रतिशतको मात्र थ्रेसहोल्ड राख्दा राजनीतिक अस्थिरता सृजना भयो । प्रदेशहरुमा त १.५ प्रतिशतको मात्र थ्रेसहोल्ड छ अनि प्रदेशहरु अझ बढी अस्थिर छन् । समानुपातिक समावेशीतासँगको सैद्धान्तिक विमति होइन, तर त्यसको आडमा जुन किसिमको अस्थिरता निम्तिएको छ, ड्यानियल जिब्लाटको भाषामा भन्नुपर्दा त्यसले अल्पमतको ज्यादतीतर्फ मुलुकलाई लग्छ । बदनामी हुने र लोकतन्त्रविरोधीको आरोप लाग्ने डरले उच्चस्तरमा धेरैले यस विषयमा मुख खोल्न सकेका थिएनन् । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले त्यो आँट गरे र आज कांग्रेसका महामन्त्रीलगायत अरु बुद्धिजीवीहरु पनि यस लाइनमा सकारात्मक रुपमा प्रस्तुत हुन थालेका छन् ।
कान्तिपुरसँगको एक अन्तर्वार्तामा एमाले महासचिवले भनेका छन्- ‘निरंकुश शासन र तानाशाहीको समयमा आफ्ना एजेण्डा राख्न नपाउँदा धेरै दल रहने कुरा स्वाभाविक हो, तर लोकतन्त्रमा एउटै विचारको वरिपरि धेरै संगठन उचित होइन । नीतिका आधारमा राजनीतिक ध्रुवीकरण अनिवार्य छ । नेपालमा विकास र समृद्धिको नेतृत्व गर्न धेरै दल होइन, बलिया दल चाहिन्छ । उदार पूँजीवाद र समाजवाद प्रमुख धार हुन् । एउटा धारको नेता कांग्रेस र अर्कोको एमाले हुनसक्छ । पार्टीभित्र बस्ने हो भने म छनोटमा नपर्न पनि सक्ने भएँ, स्वतन्त्र रूपमा जितें भने त स्वतः मन्त्री हुन्छु भन्ने भावना पनि पार्टीका कार्यकर्तामा देखापर्न थाल्यो ।’
जेसुकै भए पनि कांग्रेसको सहमतिसँगै अस्थिरतामा आफ्नो अस्तित्व खोज्ने प्रचण्डपथमा होइन, स्थिरतामा नीतिगत सुधार खोज्ने दुई ध्रुवीय राजनीतिको शंकरपथमा अबको नेपाली राजनीति जाने निश्चित प्रायः छ ।
निति, सिद्धान्त र बिचारको मातहत सङ्गठन हुन्छ , बिचार बिनाको सङ्गठन अस्थिर हुनु स्वाबाभिक हो |
२०१५ सालको पहिलो निर्वाचन, पंचायत काल, २०४६ सालको बहुदलिय, या गणतन्त्र पश्चातका राजनेतिक काल खण्डहरु अथवा झण्डे ७ दशकमा नेपालले स्थायित्व भोग्न पाएन र अब पुनरावलोकन या समिक्षा आवश्यक छ मुलुकको लागि खुल्ला बहस संविधान सम्मत र अनौपचारिक विमर्शको माध्यमबाट स्थायित्वको जग निर्माण जरुरी छ ।