प्रत्येक वर्षाले झस्काइरहन्छ ढुङ्गाडबासीलाई
डोटी ।“२०५७ सालदेखि हामीहरुले राम्रोसँग सुत्न पाएका छैनौं, पानी पर्न सुरु भयो कि निन्द्रा लाग्दैन । यसपाली पनि त्यसै भयो ।”
बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका कर्णवहादुर चन्द गाउँभित्र प्रत्येक वर्ष नदी पस्ने गरेको बताउँछन् । उनले २०४० सालमा पनि एक पटक नदी गाउँमा पसेको बताए ।
‘त्यतिबेला त खासै क्षति भएको थिएन, २०५७ सालको बाढीले धेरै क्षति गर्यो’ चन्द भन्छन् ‘त्यसपछि त वर्षेनीजसो गाउँमा पानी पस्न थालेको छ ।’
बुधवारदेखि लगातार पानी पर्न थालेपछि घर छोडेर स्थानीय शारदा माबिको भवनमा डेरा सारेका चन्द नदीमा राम्रोसँग तटबन्धन नहुँदा आफूहरुले वर्षेनी दुःख खेपिरहनु परेको बताउँछन् । २०७८ सालमा नदीकोबीच टापुमा बसेर रात बिताउनु परेको सम्झिदै कर्णबहादुर झस्किन्छन् । उनी भन्छन् ‘आकाशबाट पानी झर्न थाल्यो भने त्यो राती सम्झिन्छु अनि छटपटाउँछु ।’
कर्णबहादुर जस्तै पीडा सुनाउँछन् स्थानीय ७३ वर्षीय बिरबहादुर चन्द पनि । उनी भन्छन् ‘२०७८ सालको बाढीमा रातभरी नदीमा अड्किएर बस्नु परेको थियो ।’ उनले त्यतिबेला गाउँमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, सुदूर–पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका गाउँमा आएको सम्झिए ।
‘फरक फरक हेलिकप्टर ल्याएर आएका थिए, अस्थायी घर टहरा बनाउनका लागि प्रति परिवार ३ लाख दिने पनि बताएका थिए’ बिरवहादुर भन्छन् ‘हामीले तटबन्धनका लागि अनुरोध गरेका थियौं, प्रधानमन्त्री स्वयंले गाउँमै आएर बाचा गर्नु भएको हो, तर केही सीप लागेन ।’ उनी निराश हुँदै थप्छन् ‘हाम्रा लागि कुनै सरकार रहेनछ, न संघीय सरकार, न प्रदेश सरकार, न स्थानीय सरकार । हामी त नेपाली नागरिकनै रहेनछौं भन्ने अनुभूति भइरहेको छ ।’
उनी आफूहरुको समस्या सबैलाई जानकारी भएको तर कसैले पनि जिम्मेवारी नलिएको बताउँछन् ।
नदीको पानी गाउँमा पस्न थालेपछि विद्यालयमा रात बिताउनु परेको बताउँछन् स्थानीय मंगलबहादुर चन्द । ‘यो त हाम्रो जीवनी जस्तै भइसकेको छ, वर्षेनीबस्तीमा पानी पस्छ, अनि हामीले डेरा सार्नुपर्छ’ मंगल भन्छन् ‘अहिले पानीको सतह थोरै घटेको छ, त्यसैले हामीहरु गाउँमा आएका छौं, फेरि पानी पर्यो भने त्यही विद्यालयको छतमूनि रात बिताउनुपर्ने हो ।’
गाउँमा पानी पसेपछि ८३ परिवार बिस्थापित हुने गरेको उनको भनाई छ । उनी थप्छन् ‘सबैगरी चार सय जति हुन्छौं, त्यतिलाई विद्यालयमा पनि बस्न गाह्राे हुन्छ ।’
२०७८ सालमा अन्नबाली बगाउदा पनि राज्यले क्षतिपूर्ति नदिएको बताउँछन् बिरबहादुर चन्द । उनी भन्छन् ‘अब त सरकारसँग कुनै आश पनि छैन ।’ कम्तीमा त्रिपालसम्म उपलव्ध गराई दिएको भए आफूहरु सुरक्षित स्थानमा बस्न सक्ने उनको भनाई छ ।
तटबन्धनमै जालझेल
सरकारले तटबन्धनमा प्राथमिकता नदिएको स्थानीयबासीहरुको गुनासो छ । ४०/५० जाली भर्ने काम आउने गरेको र त्यो फेरी बर्खामा बगाइहाल्ने गरेको उनीहरु बताउँछन् ।
‘यदि हाम्रो बस्ती सुरक्षित राख्ने हो भने एकै पटक राम्रो काम गर्नु पर्यो’ बिरबहादुर भन्छन् ‘होईन भने कर्मचारी मोटाउने काम मात्रै गर्नु भएन ।’ तटबन्धन गर्नु पर्ने ठाउँ होचो भएका कारण थोरै जालीले काम नचल्ने उनको भनाई छ ।
यस आर्थिक वर्षमा करीव एक करोड बरावरको काम भएको भएपनि सवै काम पुरा नहुँदा ति जाली पनि बगाएर लैजाने खतरा रहेको मंगलबहादुर बताउँछन् ।
तटबनधनका लागि सुदूरपश्चिम प्रदेश सरकार मातहतको जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय बैतडीले तत्परता नदेखाएको स्थानीयको गुनासो छ ।
तटवन्धनलाई प्रभावकारी हुने गरी बनाउने हो भने आरसीसी वाल बनाउनु पर्ने बताउँछन् स्थानीय बिष्णु चन्द । उनी भन्छन् ‘ग्याविन जाली त बर्षेनी फेरि नदीले वगाएर लैजाने भइरहेको छ । अव आरसिसी हुनु पर्यो भन्ने हाम्रो माग हो ।’
२०७८ सालको बाढीले बगाएको डोटी बैतडी जोड्ने ढुङ्गाड पुल अहिलेसम्म पनि पुननिर्माण नभएकोमा पनि स्थानीयहरु आक्रोसित छन् । स्थानीय मंगलबहादुर चन्द भन्छन् ‘सर्वे गर्नका लागि दुई पटक आईसके तर पुल निर्माण भएको छैन ।’ उनी पुल निर्माणका लागि अहिलेसम्म टेण्डर समेत नभएको बताउँछन् । पुल नभएका कारण आफुहरुले थप कष्ट सहनु परेको उनको भनाई छ ।