गोल गर्न नसकिरहेका मेस्सी पुग्लान् पाँचौँपटक कोपा अमेरिकाको फाइनल ?
काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा बुधवार बिहान साबिक विजेता अर्जेन्टिनाले क्यानडासँग खेल्दै छ। यो खेल नेपाली समयअनुसार बिहान पौने ६ बजे सुरु हुने छ।
यी दुई टोली जारी प्रतियोगितामा दोस्रो पटक भिड्न लागेका हुन्। समूहगत चरणको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले हराएको थियो।
जुलियान अल्भारेज र लौतारो मार्टिनेजले गोल गरेका थिए। क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई टाइब्रेकरमा हराएको थियो भने क्यानडाले पनि भेनेजुएलामाथि टाइब्रेकरमा जित हात पारेको थियो। यो खेलमा अर्जेन्टिनाले जित हात पारे मेस्सी आफ्नो करियरमा पाँचौँपटक कोपा अमेरिकाको फाइनल पुग्नेछन्। सन् २००७ मा पहिलो पटक फाइनल पुगेका थिए।
सन् २०१५ र २०१६ को संस्करणमा पनि अर्जेन्टिना फाइनल पुगेको थियो। तर सन् २०२१ मा आएर मात्र मेस्सी पहिलो पटक कोपा अमेरिका जित्न सफल भएका थिए।
मेस्सीको यो सफलतामा अर्जेन्टिनाले पनि २८ वर्षपछि कोपा अमेरिका जितेको थियो। मेस्सी आफ्नो करियरमा विश्वकपमा दुईपटक फाइनल पुग्दै त्यसमध्ये एकमा उपाधि जितेका छन्।
दुई वर्षअघि आयोजना भएको विश्वकप अर्जेन्टिनाले जित्दा मेस्सी गोल्डेन बल नै जित्न सफल भएका थिए।
कोपाको अघिल्लो संस्करणको पनि गोल्डेन बल जितेका मेस्सीले जारी प्रतियोगितामा भने एक गोल पनि गर्न सकेका छैनन्। उनले क्वाटरफाइनलको टाइब्रेकरमा पेनाल्टीमा चुकेका थिए। उनको प्रहार क्रस बारमा लागेको थियो।