जम्बो केन्द्रीय कमिटीकै लाइनमा नेकपा एस – Nepal Press

जम्बो केन्द्रीय कमिटीकै लाइनमा नेकपा एस

काठमाडौं । माधव नेपाललाई अध्यक्ष दोहोर्‍याउँदै सकिएको नेकपा एसको महाधिवेशन ३ जनाबाहेक अन्य पदलाई पूर्णता नदिइ सकिएको छ ।

यो पार्टीले २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दैछ । महाधिवेशनको समापनको दिन अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नराखी ९३ सदस्यीय कमिटी घोषणा गरियो । जहाँ सबै नेतालाई केन्द्रीय सदस्य भनेर होलसेलमा राखिएको छ । यसमा अझै २०६ जना थप गर्न बाँकी छ ।

महाधिवेशनलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरूको ड्राफ्ट बनाउने जिम्मा प्रदेशका इन्चार्ज र सचिवहरूलाई दिएको छ ।

नेता जगन्नाथ खतिवडाले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरूलाई सोही स्थानमा रहेर सदस्यहरूले परामर्श गरेर प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ केन्द्रीय सदस्यहरूमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्न जिम्मेवारी दिइएको बताएका छन् । प्राप्त ड्राफ्टलाई केन्द्रीय कमिटीले निर्णय गरेर १० दिनभित्र टुंग्याउने पार्टीको तयारी छ ।

यो पनि पढ्नुहोस्- नेकपा एससँग डेढ लाख सदस्य, कतिपय जिल्लामा समानुपातिक मतभन्दा पार्टी सदस्य धेरै (सूचीसहित)

नेकपा एसमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

यो संख्याको केन्द्रीय कमिटी विश्वकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भन्दा जम्बो भएको छ । १० करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको संख्या २०५ छ । यो अर्थमा नेकपा एसको केन्द्रीय सदस्य आँकडा चिनियाँ कम्युनिष्ट पार्टीको भन्दा ९४ जना धेरै देखिएको छ । १ लाख ४६ हजार ७०८ संगठित सदस्य रहेको नेकपा एसले गत वर्षको चुनावमा २ लाख ९८ हजार ३९१ समानुपातिक मत ल्याएको थियो ।

त्यसो त नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी पनि जम्बो छ । माओवादी पदाधिकारीमा अध्यक्ष पुष्पकमल दाहालसहित २२ जना छन् । स्थायी समितिमा ४४ जना छन् । केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ रहेका छन् । केन्द्रीय कमिटीबारे प्रश्न उठेपछि विधान समितिले व्यवस्थित बनाउने गरी मस्यौदा तयार पारेको थियो ।

नेकपा एमालेको सौरहा महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस्- चिनियाँभन्दा नेपाली कम्युनिस्ट पार्टीका कमिटी ठूला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर