पुटिनलाई भेटेको भन्दै मोदीको आलोचना गरे जेलेन्स्कीले
काठमाडौं । रुस भ्रमण गरेर राष्ट्रपति भ्लादिमिर पुटिन भेटेकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नरेन्द्र मोदीको आलोचना गरेका छन् ।
अमेरिकी च्यानल सिएनएनका अनुसार मोदी-पुटिन भेटले शान्ति स्थापनामा सकस हुने तथा धेरै निराशाको कुरा भएको भन्दै उनले आलोचना गरेका छन् ।
रुसी राजधानी मस्को बाहिरको क्षेत्र नोभो ओगार्योभोमा रहेको आफ्नो आवास क्षेत्रमा मोदीसँग पुटिनले भेटेका थिए । उक्त भेटलाई जेलेन्स्कीले ‘विश्वको सबैभन्दा ठूलो लोकतन्त्रले विश्वको सबैभन्दा रक्ताम्य मस्कोको अपराधीलाई अँगालो हालेको’ भन्दै आलोचना गरेका थिए ।
सामाजिक सञ्जाल एक्समा उनले यस्तो आलोचना गरेका हुन् । दुई दिने मस्को भ्रमणमा पुगेका मोदी र पुटिनले दुई देशको २२ औँ शिखर सम्मेलनमा सहभागिता जनाएका थिए ।
सन २००० बाट यस्तो सम्मेलन सुरु भएको हो । पछिल्लो पटक सन २०१९ मा मोदी रुस पुगेका थिए । त्यसको दुई वर्षपछि सन २०२१ मा पुटिन भारत पुगेका थिए ।
रुसको युक्रेन हमलापछिको मोदीको पहिलो रुस भ्रमण तथा पहिलो पुटिनसँगको भेट यही बेला भएको हो ।