माओवादी मधेश संसदीय दलमा विवाद, भरत साहको विपक्षमा उभिए बहुमत सांसद
जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलमा विवाद चुलिएको छ । दलका नेता भरतप्रसाद साहलाई हटाउन ९ मध्ये ६ सांसदले माग गरेका छन् ।
दलका नेता साहलाई हटाउन संसदीय दलको कार्यालयमा प्रमुख सचेतक फकिरा महतो, सांसदहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
सांसद अन्सारीले भने, ‘दलका उपनेता युवराज भट्टराईसमक्ष हिजै अविश्वासको प्रस्ताव दर्ता गराएका छौं । अब दलको बैठक बसेर सो प्रस्तावमाथि छलफल हुन्छ । विधानअनुसार साहलाई दलको नेताबाट हटाउने निर्णय हुन्छ ।’
उनले अर्थमन्त्री रहेका बेला बजेट बनाउँदा कर्मचारीले सिस्टम ह्याक गरेको भनेर संवेदनशील विषयमा गैरजिमेवारी जवाफ दिएको र मनपरी ढंगले निर्णय गरेकाले साहलाई दलका नेताबाट हटाउने पक्षमा आफूहरू उभिएको बताए ।
साह सतिशकुमार सिंह नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनले अभिभावकीय जिम्मेवारी निभाउन नसकेकोले हटाउन खोजिएको सांसद सुनिता यादवले बताइन् ।
उनले भनिन्, ‘दलको नेता भनेको अभिभावक हो । उहाँ पटक पटक आफैँ मन्त्री बन्न खोज्नुभो । सबैलाई मिलाउन वा छलफल गरी अगाडि बढ्नु भएन । ९ मध्ये ६ जना हामीसँग छन् ।’