एमिलियानो मार्टिनेज: अर्जेन्टिनाको पोस्टमा प्रहार भएका ५० प्रतिशत पेनाल्टी रोक्न सफल – Nepal Press

एमिलियानो मार्टिनेज: अर्जेन्टिनाको पोस्टमा प्रहार भएका ५० प्रतिशत पेनाल्टी रोक्न सफल

काठमाडौं । पेनाल्टीमा गोल गर्नेको खासै चर्चा हुँदैन, तर गोल गर्न नसक्नेको व्यापक आलोचना हुन्छ । त्यतिमात्र होइन पेनाल्टीमा गोल खाने गोलकिपरले गाली खाँदैनन्, तर पेनाल्टी रोक्ने गोलकिपरको व्यापक प्रशंसा हुन्छ । अर्जेन्टिनी राष्ट्रिय टोलीका गोलकिपर एमिलियानो मार्टिनेजको प्रशंसा पेनाल्टी रोक्नमा मात्र सीमित छैन ।

उनले अर्जेन्टिनाका लागि खेलेका खेलमा टाइब्रेकर कहिल्यै हारेका छैनन् र उपाधिसम्मको यात्रा तय गरेका छन् (चालू कोपा अमेरिकामा यात्रा कायम)। सन् २०२१ मा मार्टिनेजले कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियाविरुद्ध टाइब्रेकरका तीन वटा प्रहार रोकेका थिए ।

पछि अर्जेन्टिनाले फाइनलमा पुगेर घरेलु टोली ब्राजिललाई हराउँदै २८ वर्षपछि कोपा अमेरिका जित्यो । त्यसै वर्षमात्र मार्टिनेजले अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । एक वर्षपछि कतारमा आयोजना भएको विश्वकपमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटबाटै सेमिफाइनल उकाले भने फाइनलमा फ्रान्सका दुई वटा प्रहार रोक्दै ३६ वर्षपछि उपाधि जिताए ।

जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उनले इक्वेडरविरुद्ध उस्तै प्रदर्शन दोहोर्‍याए । टाइब्रेकरका सुरुका दुइटा विपक्षी प्रहार रोकेका थिए, जतिबेला टोलीको पहिलो प्रहार गर्न पुगेका लियोनल मेस्सीको बल क्रसबारमा ठोक्किएपछि अर्जेन्टिना दबाबमा परेको थियो । ‘दिबु (मार्टिनेजको निकनेम) जनावर हुन् । उनले जे गरिरहेका छन्, त्यो खत्रै छ’, अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डि पल भन्छन् ।

टाइब्रेकरमा मार्टिनेजले ‘माइन्ड गेम’ खेल्ने गरेको आरोप विगतमा लाग्ने गरेको थियो । पेनाल्टी प्रहार गर्नेसँग बोल्न जाने, बल फ्याँकिदिने, रेफ्रीसँग बोल्न जाने जस्ता व्यवहार उनले यस पटक दोहोर्‍याएनन् । पोस्टका दुई साइडतिर प्रहार भएका दुवै प्रहार शानदार डाइभ गर्दै विफल बनाए । बरु उनी गोल हुन नदिएपछि दर्शकतर्फ फर्किएर कम्मर मर्काउँदै, हल्का निहुरिएर नाचे ।

मार्टिनेजकै हर्कतका कारण फुटबलको सर्वोच्च संस्थाले विगतमा पेनाल्टी हान्न आउने व्यक्तिलाई डाइभर्ट नगर्न गोलकिपरका लागि नियम बनाएको थियो । त्यसलाई ‘एन्टी दिबु ल’ पनि भनेर टिप्पणी हुने गरेको छ । मार्टिनेजले अर्जेन्टिनाको पोस्टमा प्रहार भएका ५० प्रतिशत पेनाल्टी रोकेका छन् । हालसम्म उनले २४ वटा पेनाल्टी सामना गरेकामा १२ प्रहारमा विपक्षी असफल छन् । तीमध्ये ९ वटा प्रहार मार्टिनेज आफैंले रोकेका थिए भने ३ वटा प्रहार गोल पोस्टको फ्रेममा परेको थिएन ।

‘दिबुको लक्ष्य भनेकै पेनाल्टी प्रहार गर्नेमाथि दबाब सृजना गर्नु हुन्छ । पेनाल्टी प्रहार गर्नेहरु बल प्रहार गर्न दौडिरहेका बेला मार्टिनेजले द्विविधा सृजना गर्छन्’, अमेरिका र स्वीडेनका पूर्वगोलकिपर म्याट पिड्रोस्की भन्छन् । करियरको अन्तिम समयमा आएर मेस्सीले अर्जेन्टिनाका लागि सफलता प्राप्त गरिरहेका छन्, तर त्यसका सूत्रधार गोलकिपर मार्टिनेज हुन् ।

‘मलाई थाहा थियो, उनले राम्रो गर्छन् । उनी उक्त परिस्थिति (टाइब्रेकर) मन पराउँछन् । विपक्षीमाथि हावी हुन्छन्’, मेस्सी भन्छन्, ‘उनलाई आफूमाथि विश्वास छ । हामीलाई खेल सुरु हुनुभन्दा (इक्वेडरसँग) अगाडि जिस्किँदै भनेका थिए- टाइब्रेकरमा पुगिहाल्यो भने चिन्ता नगर ।’

यतिबेला मार्टिनेज मै हुँ दाबी गर्ने खेलाडीको पनि टाइब्रेकरलाई लिएर मनोबल कमजोर बनाइरहेका छन् । अर्जेन्टिनाले टाइब्रेकर त जितिहाल्छ भन्ने मनोविज्ञान उनले बसालिरहेका छन् । आफूसँग पेनाल्टी रोक्ने त्यस्तो कुनै म्याजिक फर्मुला नभएको मार्टिनेज बताउँछन् ।

‘म प्रशिक्षणमा हरेक दिन ५०० गुणा होमिन्छु, जसका कारण जहिल्यै राम्रो लयमा हुन्छु’, मार्टिनेज भन्छन् ।

(रोयटर्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर