कांग्रेस-एमालेले भनेको राष्ट्रिय सहमतिको सरकारमा माओवादी पनि सामेल हुन्छ ? – Nepal Press

कांग्रेस-एमालेले भनेको राष्ट्रिय सहमतिको सरकारमा माओवादी पनि सामेल हुन्छ ?

मीन विश्वकर्मा भन्छन्- माओवादी, रास्वपा र राप्रपा सबैलाई समेट्ने प्रयास गर्छौँ

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संविधान संशोधनसहितको मुद्दा अघि सारेर राष्ट्रिय सहमतिको सरकार बनाउने गरी अघि बढेका छन्।

दुई दलबीच संविधानको धारा ७६ को उपधारा २ अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।

अहिले दुई वर्ष ओली प्रधानमन्त्री भएपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्। दुवै दलले अब राष्ट्रिय सहमतिको सरकार बन्ने भएकाले सबै दलहरूलाई सहभागी हुन आह्वान गरिसकेका छन्।

अहिलेसम्म नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीबाहेक साना दल कांग्रेस-एमाले नेतृत्वको गठबन्धनमा सामेल हुन तयार छन्। राप्रपाले पनि दुई ठूला दलले संविधान संशोधनको एजेन्डा अघि सारेकाले सकारात्मक नै देखिएकाे छ ।

दुई ठूला दल मिलेपछि स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन्। प्रचण्डले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ।

प्रतिनिधिसभामा कांग्रेस-एमालेसहित साना दल मिलेपछि संविधान संशोधन गर्नको लागि राष्ट्रियसभामा नेकपा एस वा माओवादीको साथ अनिवार्य चाहिन्छ । त्यसैले कांग्रेस-एमाले माओवादीलाई पनि धेरै पर जान नदिने रणनीतिका साथ अघि बढ्न खोज्दैछन्।

स्थिर सरकार र सुशासन दिएर आर्थिक विकास गर्नको लागि एमालेसँग मिलेको कांग्रेसका नेता डा. शेखर कोइरालाले बताए।

जोरपाटी पुगेर उनले भने, ‘मैले यो विषयलाई उठाउँदा कसैले विश्वास गरेको थिएनन्। तर, त्यो कुरा आज सार्थक भएको छ। कांग्रेस र एमाले र ७६ ९२०कै सरकार बन्छ। र राजनीतिक स्थायित्व र सुशासन दिन्छौँ। संविधानमा भएको कमीकमजोरीलाई करेक्सन गर्छौँ।’

कांग्रेस र एमालेले कुनै दललाई पनि बाहिर राखेर जाने नीति नलिएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

उनले भने, ‘सरकारमा आउने नआउने माओवादीको कुरा हो। तर, हामी उहाँहरूलाई पनि समेटेर जाने कोसिस गर्छौँ। माओवादी, रास्वपा राप्रपा सबैलाई अनुरोध गर्छौँ। उहाँहरूले इगो नबोक्नुहोला सरकारमा आउनुहुन्छ होला भन्ने विश्वास छ। राष्ट्रिय राजनीतिमा देखिएका जटिलताहरूलाई व्यवस्थापन गर्ने जिम्मेवारी छ। कसैलाई बाहिर राखेर जानुहुँदैन भन्नेमा एकमत छौँ।’

संविधान निर्माणमा जस्तै सबैलाई सामेल गराएर कार्यान्वयनको विषयमा पनि अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘प्रधानमन्त्रीले सदनमा विश्वासको मत नपाएपछि नयाँ सरकारको प्रधानमन्त्रीले नै सदनबाट संसदमा प्रतिनिधित्व गर्नको लागि राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गर्नुहुन्छ।’

कांग्रेसले मात्रै होइन एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गर्ने दाबी गर्छन्।

सोमबार संसदबाहिर सञ्चारकर्महरुसँग उनले भनेका थिए, ‘कांग्रेस–एमालेको संख्याले मात्रै संविधान संशोधन हुँदैन। माओवादी लगायतका दललाई साथमा लिएर अघि बढ्नुपर्छ। संविधान संशोधन दुई तिहाइ नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा जानुपर्छ।’

संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस–एमाले एकै ठाउँमा आएको र अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने उनको भनाइ थियो। प्रचण्डलाई माओवादीको संख्याका आधारमा नभई व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको भन्दै राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने उनको बुझाइ छ।

राष्ट्रिय सहमतिको बहस चलिरहेको बेलामा कांग्रेस एमाले दुवैले साथ खोजिरहेको बेलामा सत्ता गुमाएको माओवादीले के गर्छ ? भन्ने आम चासो छ। यो विषयमा हामीले माओवादीका महासचिव देव गुरुङलाई सोध्यौँ।

तर, उनले कांग्रेस एमालेसँग मिलेर बन्ने सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको जिकिर गरे।

उनले भने, ‘हामीले राष्ट्रिय सहमतिको कुरा गर्दा कुनै दल तयार भएनन्, अहिले दुई दलले मध्यरातमा सहमति गरेर राष्ट्रिय सहमतिको भनेर हल्ला गरिएको छ। यथार्थतामा होइन। दुई दलबीच कुरा मिलेको छैन। एउटा दल राष्ट्रिय सहमति भन्दा अर्को दल राष्ट्रिय सहमतिको होइन भन्छ।’

माओवादीले कांग्रेस एमाले मिलेर ०४७ सालको संविधानमा देश फर्काउन खोजेको भन्दै पश्चगमनको दिशामा अघि बढेको निष्कर्ष निकालेको छ।

महासचिव गुरुङले मात्रै होइन, सचिव लीलामणि पोखरेलले पनि माओवादी कांग्रेस एमाले गठबन्धन सरकारमा हुने सम्भावना नरहेको दाबी गरे।

उनले भने, ‘यो प्रक्रिया टुंगिएपछि पार्टीले कसरी अगाडि जाने भन्नेबारे निर्णय गर्छ। तर, यो सरकारमा सहभागी हुँदैन। यो राष्ट्रिय सहमतिको सरकार होइन। षड्यन्त्रबाट बनेको गठबन्धन हो। संवादबाट राष्ट्रिय सहमति हुन्छ। रातारात सम्झौता गरेर बनेको षड्यन्त्रपूर्ण गठबन्धनमा माओवादी कुनै हालतमा सहभागी हुन सक्दैन।’

यस्तै, भ्रष्टाचारलाई ढाकछोप गर्नको लागि कांग्रेस एमाले मिलेको भन्दै नेकपा एसका नेता राजेन्द्र पाण्डेले आफूहरू सरकारमा जानेबारे नसोचेको बताए।

उनले भने, ‘यो सरकारमा जानेबारे हामीले सोचेका छौँ। उहाँहरूले मिलेपछि पुगेकै छ। यो संविधान संशोधनलगायतका कुरा गर्न होइन नाटक मात्रै गरेका हुन्।’

रास्वपाले औपचारिक रूपमा नै निर्णय गरेर कांग्रेस एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ।

अहिलेको प्रचण्ड नेतृत्वको सरकारमा गएर पार्टीबाट सरकारमा गएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित मन्त्रीहरूले लक्ष्यअनुसार काम गर्न नसकेपछि पार्टीलाई नोक्सानी भएको निष्कर्ष छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर