एसपी सापकोटाः जसले मासिक १ लाख छात्रवृत्तिमा लगाउँछन्
डोटी । केही दिनअघि सहदेव प्रसाद (एसपी) सापकोटा डोटीको एक दुर्गम गाउँमा भेटिए । काठमाडाैंको संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक उनी फुर्सदिला भएर दुर्गम गाउँ घुम्न आएका भने होइनन् ।
उनीले विद्यार्थीहरुका लागि सामग्री बोकेर आएका थिए ।सायल गाउँपालिका–२ ओठबाटामा रहेको भवानी माबिमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक र छात्रवृत्ति वितरण गर्न उनी त्यहाँ पुगेका थिए ।
उनले सो विद्यालयमा रहेका पाँच सय विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरे । कपडा आफैँले किनेका सापकोटाले पोशाक सिलाईका लागि कैलालीका उद्योगपति तथा समाजसेवी ओम प्रकाश अग्रवालसँग सहयोग लिए ।
‘सक्रिय पत्रकार तथा समाजसेवी दीर्घराज उपाध्यायको समन्वयमा आफू उक्त विद्यालयमा पुगेको बताउने सापकोटाले सोही दिन विद्यालयमा अध्ययनरत १० जना जेहेन्दार विद्यार्थीलाई जनही १२ हजार रुपयाँका दरले बार्षिक छात्रवृत्ति दिने घोषणा गरे र पहिलो किस्ता स्वरुप जनही तिन हजार रुपैयाँ हस्तान्तरण पनि गरे ।
एसपी सापकोटाले सुदूरपश्चिमका विद्यार्थीहरुलाई गरेको यो सहयोग नौलो भने होइन । यसअघिदेखिनै उनले ३४ विद्यार्थीहरुलाई नियमित छात्रबृत्ति सहयोग गर्दै आएका छन् । उनले बैतडीका २२, कैलालीका पाँच, कञ्चनपुरका तीन, बझाङका तीन र अछामका एक जनालाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
‘आवश्यकताका आधारमा कसैलाई १ हजार कसैलाई ५ हजार रुपैयाँसम्म छात्रबृत्ति दिइरहेको छु’ सापकोटाले भने ‘यसका साथसाथै आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई सानोतिनो उपचार खर्च पनि दिने गरेको छु ।’ सुदूरपश्चिम र कर्णाली प्रदेशका गरी ५२ विद्यार्थीहरुलाई नियमित छात्रवृत्ति प्रदान गरिरहेको उनले बताए ।
कैलालीको धनगढीमा रहेको संस्कृत पाठशालालाई २५ हजार, कैलालीकै बर्दगोरिया गाउँपालिकामा रहेको साहरा घर आश्रमलाई ५० हजार, मानव सेवा आश्रम धनगढीलाई २५ हजार र बिभिन्न अस्पताल र अपाङ्गहरुलाई ह्वीलचियर सहयोग १ लाख ३५ हजार रुपैयाँ सहयोग गरेको उनको भनाई छ ।
उनी आफूले आफ्नो तलवको मासिक एक लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गर्ने गरेको बताउँछन् । थप रकम अमेरिकामा बस्ने दाइ बसन्त सापकोटाले सहयोग गर्ने गरेको उनको भनाई छ ।
‘म आफु पनि धेरै दुःख पाएर, संघर्ष गरेर यहाँसम्म पुगेको हुँ’ उनी भन्छन् ‘म उहिल्लैदेखि यदि कुनै दिन पैसा कमाउन सकेछु भने म जस्तै दुःखी गरिवलाई सहयोग गर्छु भन्ने सोचिरहन्थे ।’ आफूले गरिबीको कारणले सोचे अनुसारको पढ्न नपाएको बताउँदै उनी थप्छन् ‘अहिले पनि दुःख पाएको मानिस देखेपछि आँखाबाट आँशु रसाउँछ ।
२०७२ भुकम्प र भारतीय अघोषित नाकाबन्दीसंगै पहाड र तराई आन्दोलन भइरहेका बेला सामाजिक सदभावका लागि ‘एकै घरका सन्तान हामी पराई बन्न हुँदैन है, हिमाल पहाड छुट्टै यहाँ तराई भन्न हुँदैन है’ भन्ने गीतको रचना गरेका सापकोटा त्यसै बेलादेखि समाज सेवामा लागे ।
‘मानिस मन्दिर धाएर पुजा गरेर सन्तुष्ट भएँ भन्छन तर मलाई गरिव दुःखीनै मेरो भगवान हुन् जस्तो लाग्छ’ उनी भन्छन् ‘उनीहरुलाई सहयोग गर्न पाए भने त्यो भन्दा आनन्द अरु केहीमा पनि हुँदैन ।’
उनी आर्थिक अभावकौ कारण कुनै बालबालिका विद्यालय जान पाएको छैन भन्ने सूचना पाए आफुले सहयोग गर्ने बताउँछन् । उनी थप्छन् ‘आर्थिक अभावकै कारण पढाईको अवसरबाट कोही पनि बालबालिका मजस्तै बञ्चित नहोस् भन्ने मेरो चाहना हो ।’