बक्यौता तिर्न आलटाल गर्ने ३ उद्योगको बिजुली प्राधिकरणले काट्यो – Nepal Press

बक्यौता तिर्न आलटाल गर्ने ३ उद्योगको बिजुली प्राधिकरणले काट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न आलटाल गर्ने तीन उद्योगको विद्युत् काटेको छ ।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र काटे पनि तिर्न नआएको भन्दै रिलायन्स स्पेनिङ मिल्स, रिलायन्स स्पेनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट विद्युत् काटेको हो ।

रिलायन्स ६० करोड २९ लाख, घोराही र अर्घाखाँची सिमेन्ट क्रमशः ४० करोड ६८ लाख र ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । यी उद्योगहरूलाई प्राधिकरणले २५ प्रतिशत जरिवाना सहित बिल पठाएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गते आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले बुक बिल्डिङमार्फत प्रिमियम मूल्य (प्रतिकित्ता ८२०.८० रुपैयाँ) मा आईपीओ ल्याउन लागेको हो ।

२ करोड ६० लाख अधिकृत पूँजीमा २०५१ चैतमा रिलायन्स स्पिनिङ मिल्सको स्थापना भएको थियो । सर्वसाधारणबाट कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ उठाउन लागेको छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको बक्यौता उठाउनलाई उद्योगहरूलाई बिल पठाएको हो । उद्योगहरूले ६ अर्बभन्दा धेरै बक्यौता तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगहरूको क्रमशः लाइन काट्ने बताएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापत बक्यौता उठाउने काम सुरु भएको बताए ।

घिसिङले भने, ‘मन्त्रिपरिषदले २०७२ माघदेखि २०७५ वैशाखसम्म बक्यौता उठाउने निर्णय गरेको छ । त्यही निर्णयअनुसार ऊर्जा मन्त्रालयले बक्यौता उठाउन प्राधिकरणलाई पत्र पठाएको छ । हामीले पनि १५ दिनभित्र बक्यौता बुझाउनका लागि उद्योगलाई पत्र पठाएका थियौँ । तर, बक्यौता तिर्न नआएपछि लाइन काट्न सुरु भएको हो । २०७२ माघदेखि २०७५ वैशाखसम्म उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता हो । त्यसको जरिवानासहित करिब साढे ८ अर्ब हुन आउँछ । प्राधिकरणले त्यो बक्यौता उठाउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *