खाता बन्द भएपछिको पहिलो दिन सरकारले गर्यो १ अर्ब ३० करोड भुक्तानी
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को खाता बन्द भएपछिको पहिलो दिनमा १ अर्ब ३० करोड ७३ लाख रुपैयाँमा भुक्तानी गरेको छ ।
सरकारले चालू आर्थिक वर्षको सरकारी खाता बन्द हुने दिन मङ्गलवार मात्रै १ अर्ब ३० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द भएका छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गर्न लागिएको हो ।
अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।
सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द रहने छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को सरकारी खाता बन्द हुने दिनसम्म १३ खर्ब ५७ अर्ब ५२ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ७७।५१ प्रतिशत हो ।
सरकारले यस आर्थिक वर्षमा १ खर्ब ७२ अर्ब ६२ करोड ४७ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जुन कुल पुँजीगत बजेटको खर्चको ५७.१५ प्रतिशत हो ।
सरकारले यस आर्थिक वर्षमा कुल ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।
त्यस्तै, सरकारी खाता बन्द हुँदासम्म सरकारले ९ खर्ब ३४ अर्ब ६३ करोड ३ लाख रुपैयाँ चालू खर्च गरेको छ । जुन कुल चालू खर्चको १.८६ प्रतिशत हो । यस चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ४१ अर्ब ७ करोड ४१ लाख रुपैयाँ चालू खर्च गर्ने लक्ष्य लिएको थियो ।