सचिवालयमा ओलीको ब्रिफिङ- अस्थिरता र बार्गेनिङ रोक्न कांग्रेससँग मिल्यौं (भिडिओ) – Nepal Press

सचिवालयमा ओलीको ब्रिफिङ- अस्थिरता र बार्गेनिङ रोक्न कांग्रेससँग मिल्यौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा कांग्रेससँगको सहमति र पछिल्लो राजनीतिक परिवेशबारे ब्रिफिङ गरेका छन् । च्यासलमा जारी बैठकको सुरूमा उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रष्ट पारे ।

अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको ओलीको भनाइ थियो । निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको भन्दै ओलीले आयोग कसैको नेतृत्वमा पनि नबनेको साथै बन्ने भन्ने कुरा नभएको पदाधिकारीहरूलाई जानकारी गराए ।

राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उनको भनाइ छ । एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीले बताए ।

प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको उनले प्रष्ट्याएका छन् । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने उनले चेतावनीसमेत दिएका छन् ।

बैठकमा ओलीले यसो भने

एमाले र कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ जाने भन्नेकुरा भ्रम फैल्याउनका लागि भनिएका हुन् । प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो । विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले करप्शनमा, अस्थिरतामा यस्तोमा जाने काम भयो । स्वार्थमा काम गर्ने । स्वार्थलाई अग्र भागमा राख्ने यस प्रकारका कामहरु देखिएका छन् । यसलाई कसरी रोक्ने ? संघीयतालाई सफल बनाउने दिशामा जानुपर्छ नि ! त्यो पक्षमा विचार नै नगर्ने, खाली संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन सक्दैनन् । संविधान गतिशील कुरा हो । समाजको पथप्रदर्शनक हो । संविधानको समयानुकूल रुपमा परिमार्जित हुँदै जानुपर्छ । त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर