ओलीलाई रोक्न माओवादीको रणनीति- सके सरकार टिकाउने, नसके ७६ (३) मा धकेल्ने – Nepal Press

ओलीलाई रोक्न माओवादीको रणनीति- सके सरकार टिकाउने, नसके ७६ (३) मा धकेल्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री बन्न नदिने रणनीति अख्तियार गरेको छ।

कांग्रेससँग सहमति गरेर आउँदा पनि ढाँट छलको कुरा गरेको निष्कर्षसहित ओलीलाई रोक्ने रणनीति अघि सारेको हो।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमालेका अध्यक्ष ओली नेपालको संविधान ०७६ (२) अनुसार प्रधानमन्त्री बन्ने सहमति भएको छ। तर, माओवादी केन्द्र ओलीलाई रोक्ने ०७६ (३) मा धकेल्न चाहन्छ।

आफूले विश्वासको मत नपाएको खण्डमा ०७६ (३) पुग्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। तर, कांग्रेस-एमालेले दुवै (७६ (२) कै सरकार बन्नेमा ढुक्क छन्।

आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मतका लागि संविधानको कार्यान्वयन र रक्षाका पक्षमा उभिएका सबै दलहरूसँग कुरा गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए।

उनले भने, ‘प्रधानमन्त्रीले पर्सी विश्वासको मत लिँदै हुनुहुन्छ। हाम्रो पहिलो लक्ष्य त विश्वासको मत प्राप्त गर्ने नै हो। सबै राजनीतिक दल स्वतन्त्र सांसदलाई पनि विश्वासको मत दिन अपिल गर्ने, कुराकानी गर्ने निर्णय भएको छ।’

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे पार्टीले थप रणनीति बनाउने उनले बताए। उनले थपे, ‘प्रतिनिधि सभाको रिजल्टको आधारमा प्रतिनिधि र राष्ट्रियसभामा सामाजिक न्याय र सुशासनको पक्षमा लड्ने निर्णय गरेका छौँ।’

उनले प्रचण्डले वामपन्थी एकता र समाजवादी मोर्चालाई अगाडि बढाउँदा पनि ओलीकै कारणले असफल भएको आरोप लगाए।

उनले राष्ट्रपतिले संविधानलाई अक्षरशः पालना गरे ०७६ (३) अनुसार नै नयाँ सरकार गठनको लागि आह्वान गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामीले विश्वासको मत पाएनौँ भनेर राष्ट्रपति संविधान अनुसार अघि बढ्नुहुन्छ भन्ने विश्वास व्यक्त गरेका छौँ। त्यसैले हामीले थप छलफल गरेनौँ संविधानको रक्षाको लागि सबै परिवर्तनकारी दलसँग कुरा गर्छौँ। माओवादी संविधानमाथि गतिशील बनाउने पक्षमा संविधान अक्षरशः पालना गर्नुपर्छ। राष्ट्रपति संविधानमा लेखेअनुसार नै अघि बढ्नुहुन्छ भन्ने विश्वास छ। विश्वासको मत प्राप्त गर्ने लक्ष्यमा छौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर