रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो – Nepal Press

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित भएको छ । भोलिदेखि आईपीओ जारी गर्न लगेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकिएको हो ।

नेपाल धितोपत्र बोर्डले तत्कालका लागि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकेको हो । संसदको लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही प्रश्न उठाएपछि बोर्डले रोकेको हो ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीले लेखा समितिले प्रश्न गरेपछि अहिलेको लागि रिलायन्सको आईपीओ रोकिएको बताए ।

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गते आईपीओ निष्कासन गर्न लागेको थियो । कम्पनीले बुक बिल्डिङमार्फत प्रिमियम मूल्य (प्रतिकित्ता ८२०.८० रुपैयाँ) मा आईपीओ ल्याउन तयारी गरेको थियो ।

२ करोड ६० लाख अधिकृत पूँजीमा २०५१ चैतमा रिलायन्स स्पिनिङ मिल्सको स्थापना भएको थियो । कम्पनीले आईपीओमार्फत सर्वसाधारणमा जाने कुरालाई वित्तीय कोणबाट र पृष्ठभूमिगत कोणबाट चर्चा भइरहेको छ ।

एकातिर कम्पनीको घट्दो नाफा रहेको छ । आईपीओ मार्फत सर्वसाधारणबाट १ अर्ब ५८ करोड रुपैयाँ उठाउने तयारी थियो ।

हिजो मात्रै नेपाल विद्युत प्राधिकरणले विद्युतको बाँकी बक्यौता नतिरेको भनेर उद्योगको लाइन काटेको थियो ।

रिलायन्स स्पिनिङ मिल्सको वित्तीय अवस्था कस्तो छ ?

बुक बिल्डिङमार्फत आईपीओ निकाल्नका लागि रिलायन्सले देखाएको वित्तीय अवस्था विगतका वर्षभन्दा खस्किँदै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा ८९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा कम्पनीको नाफा १ अर्ब २ करोड पुगेको देखिन्छ ।

आर्थिक वर्ष २०७९/७८ मा कम्पनीको प्रतिशेयर आम्दानी अर्थात् ईपीएस ५३.९१ रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ईपीएस ६१.१२ रुपैयाँ रहेको र आर्थिक वर्ष २०७९/८० मा ईपीएस ५४.१२ रुपैयाँ रहेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ मा आउँदा भने कम्पनीको आम्दानी ओरालोतर्फ गएको देख्न सकिन्छ । चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म करिब ९७ प्रतिशतले नाफा घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले ९ महिनामा २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा करिब ९७ प्रतिशतले कम हो । गत वर्षसम्म ५४.१२ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २.०८ प्रतिशतमा झरेको छ ।

त्यसैगरी, तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ३९ करोड ९७ लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षमा १ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *