एक सातादेखि अँध्यारोमा कैलालीको ओलानी, बिजुली नहुँदा खानेपानीको समस्या – Nepal Press

एक सातादेखि अँध्यारोमा कैलालीको ओलानी, बिजुली नहुँदा खानेपानीको समस्या

कैलाली । कैलालीको गोदावरी नगरपालिका- १२ ओलानीस्थित जनप्रभात टोलमा एक सातादेखि विद्युत छैन । असार २१ गते आएको हावाहुरीले जनप्रभात माध्यमिक विद्यालय नजिकै रुखको हाँगा खसेर तार चुँडिएपछि अवरुद्ध भएको विद्युत सेवा अहिलेसम्म सुचारु भएको छैन ।

सुरुको दिनमा वडा नम्बर १०, ११ र १२ को ओलानी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको थियो । केही दिनभित्रै अन्य ठाउँमा बिजुली मर्मत गरेर विद्युत सेवा सुरु भए पनि जनप्रभात टोलमा भने अहिलेसम्म बत्ती नआएको स्थानीय रणबहादुर देउवाले बताए ।

आफूहरूले पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि सम्बद्ध निकायले कुनै चासो नदिएको गुनासो छ ।

‘सुरुमा सबै ठाउँमा बत्ती गएको थियो । अहिले अरू धेरै ठाउँमा आयो, यो बस्तीमा अझै पनि बिजुली बलेको छैन’, उनले भने, ‘हामी हारगुहार गरेर हैरान भइसकेका छौं । विद्युत कार्यालयले कुनै चासो दिएको छैन ।’

लगातारको वर्षासँगै आएको हावाहुरीले क्षति पुराएका तारहरू अझै पनि भुईंमै लत्रिएका छन् । त्यसले ठूलो जोखिम र त्रास रहेको उनीहरुको भनाइ छ । ‘बिजुली आएको छैन चुँडिएका तारहरू यत्रतत्र छरिएका छन् । यसबाट दुर्घटना पनि निम्तिन सक्छ’, देउवाले भने ।

विद्युत नहुँदा जनप्रभात टोलमा खानेपानीको समस्या परेको छ । विद्युत र खानेपानीको सेवा रोकिँदा जनजीवन कष्टकर बनेको छ ।

‘विद्युत नहुँदा वर्षाको समयमा ओलानी क्षेत्रमा खानेपानी अवरुद्ध भएको छ । यो बर्सातका बेला कहाँबाट पानी ल्याउने ?’, स्थानीय सामाजिक अभियन्ता टेक विकले प्रश्न गरे, ‘गोदावरी नगरपालिका वडा १०, ११, १२ ओलानीको प्रमुख आवश्यकता भनेको खानेपानी हो । यहाँ हेन्डपम्पबाट पानी आउँदैन । एउटामात्र स्रोत भनेको अहिले चलिरहेको खानेपानी हो । जुन बिजुलीबाट चल्छ । तर, मौसम थोरै पनि गडबडी भएपछि बिजुली गइहाल्छ । बिजुली गएपछि खानेपानी अवरुद्ध हुन्छ ।’

वडा अध्यक्ष भीम खड्काले विद्युत अवरुद्ध हुँदा जनप्रभात टोलमा निकै समस्या भएको बताए । उनले विद्युत सुचारु गर्न धनगढीबाटै विद्युतको टोली आएर मर्मतको प्रयास गरेको, केही ठाउँमा बिजुली बले पनि जनप्रभात टोल अहिले पनि अँध्यारोमा रहेको बताए ।

आफूले पटक पटक विद्युत प्राधिकरणलाई बिजुली मर्मत गर्न आग्रह गर्दा पनि चासो नदिएको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर